कान्तिपुर गाथा : हामी त मरिहाल्छौं नि !
यसोउसो गर्यो, चर्चामा कोभिड आइहाल्छ। रामबहादुर भन्छ– बूढा भएका बाबु–आमाले खोप दोहोर्याउन पाएका छैनन्। अस्ति लगाएको खोपमाथि अर्को खोप लगाउनु हुन्न भन्छन्। पहिले लगाएको ‘इण्डेन’ खोपको बारेमा यकिन कुरा कोही बताउँदैनन्। ‘इण्डेन’ खोपमा ‘चाइना’ खोप मिसाउन हुन्न भन्छन्। रामबहादुरलाई कसैले भनेको छ– ‘इण्डेन’ खोप पनि छिट्टै आउँदैछ। कति छिटो ? थाहा छैन।
साउन लाग्नासाथै खोप भित्रिन्छ भन्छन्। त्यति भइदिए, रामबहादुर सोच्छ– बाबु–आमाको ऋण तिरिन्थ्यो। रामबहादुरलाई आफ्नो होइन, बाबु–आमाको चिन्ता छ।
रामबहादुर जस्ता यहाँका सयौं युवक पहिले बा–आमालाई खोेप लगाइदिन चाहान्छन्। खोप लगाएपछि बूढाबूढीलाई कोभिडले छुँदैन भनेका छन् डाक्टरले। डाक्टरकै मुखबाट कसैले सुनेको होइन, फेसबुकबाटै फैलिएको कुरा हो।
रामबहादुरले यो कोभिड महामारीको अर्थै बुझेको छैन। उहिले त खोपभन्दा दादुराको, बिफरको खोप लगाइन्थ्यो। अहिले त इन्जेक्सनलाई पनि खोपै भन्छन्।
बच्चा बेलामा महामारी आउँदा घरमा बा–आमाले लामा बोलाएर होम हाल्नु हुन्थ्यो। तोरण हाल्नु हुन्थ्यो। पूmल तार्नु हुन्थ्यो। अहिले त ध्याङ, मन्दिर, मस्जिद सबै बन्दाबन्दीमा छ। देउताको दर्शन गर्न कडीकडाउ छ। हुल बाँध्न त मनाही नै छ।
मंगलबार बिहान गणेशको दर्शन गर्न जान पनि नसकिने अवस्था छ। अस्ति त माथिको ध्याङमा मलामी जान लागेको बीस जनालाई मलामी जानै दिएन। बाह्र जनालाई फर्काइदियो।
०००
प्रसिध्द दार्शनिक तथा उपन्यासकार अल्बेयर कामुले फ्रेन्च अल्जेरियाको ओरान शहरमा फैलिएको महामारी प्लेगको विवरण दिएका छन् आफ्नो प्रसिध्द पुस्तक दि प्लेगमा।
ओरान शहरका बासिन्दा महामारी प्लेगको पहिलो चरणमा यसले दिएको दुःखलाई आफनो व्यक्तिगत दुःखका रुपमा लिन्थे। पछि, मृत्यु र पीडासँग सँगसँगै जुध्ने चेतना आएको थियो। नयाँ सन्दर्भमा, कामुको दि प्लेगको महत्त्व हलक्क बढेको छ। कोरोना महामारीको समयमा यो पुस्तकको पुनर्मुद्रण भइरहेको छ। प्रकाशकलाई भ्याइनभ्याइ छ।
कोरोना महामारीको समयमा यो देशका शासक र शासित दुवै पक्षका मानिसमा समता भाव आउनुपर्ने हो। तर, त्यो देखिएन। शासकले शासितको डप्फा देखाएर नाफा कमाउने प्रवृत्ति देखायो।
आफ्नो खल्तीको एक पैसा पनि नहाली अनुदानमा नै भ्याक्सिन भित्र्याउने बठ्याईं गर्न खोज्दा अन्तर्राष्ट्रिय समूहमा हामी पछाडि परेका छौं। यो नै हाम्रो दुर्भाग्य हो।
कोरोना भ्याक्सिनको खरिद हामीले बजारमा गएर दाल–तेल किनेर ल्याएको जस्तो होइन। कोभिडलाई नियन्त्रण गर्ने भ्याक्सिन मात्रै हो। नेपालसँग भ्याक्सिन छैन। कहिले हुन्छ ? हुन्छ कि हुँदैन ? त्यो पनि हामीलाई थाहा छैन।
हामीले यो तथ्यलाई राम्ररी बुझनुपर्छ कि संसारमा उत्पादन भएका ८५ प्रतिशत भ्याक्सिनमा उच्च र उच्च मध्यम वर्गका देशको पकड छ।
अमेरिकाले १६ देशका लागि ७० लाख डोज भ्याक्सिन दिँदा राष्ट्रपति र प्रधानमन्त्रीको जयगान भयो यो देशमा। ७० लाखमध्ये केही लाख डोज पक्कै हाम्रो भागमा पर्यो। तर, त्यो राष्ट्रपति र प्रधानमन्त्रीको प्रयत्नले भएको थिएन।
यो देशमा वास्तवमा दि प्लेगमा कामुुले प्रयोग गरेका शब्द दोहोरिएका छन्। भावातीत शव्दहरु। यहाँका मानिसमा दुःख पाउनेमा आफू र आफ्ना मात्र रहेको भावना छ। तर, यो दुःख पूरै नेपाली समाजको हो। पूरै नेपाली समाजलाई कोभिडले बेरेको छ।
एक महिना पनि भएको छैन। जेठ १६ गते कोरोनाबाट मृत्यु हुनेको संख्या थियो १ सय ९। संक्रमित ४ हजार ३ सय ६९ र संक्रमणमुक्त ६ हजार २ सय ५।
देशमा गणना भएका संक्रमितको संख्या थियो चालीस प्रतिशत। त्यही दिन अमेरिकास्थित केही व्यावसायी र नेपालका उद्योगीले आपसी सहयोगमा १० वटा अक्सिजन बनाउने उद्योग स्थापना गर्ने भए। यो समाचार आएपछि अक्सिजनको हाहाकारको समाचार आउन ठ्याम्मै बन्द भयो। आइसियु, भेन्टिलेटरका दुःख त कति छन् कति।
सरकार संकट–मोचनका लागि पटक्कै तयार छैन। राजधानीमा सार्वजनिक गतिविधि बढेको देखाउनकै लागि सरकार लकडाउनलाई नरम बनाउँदै जान्छ। लकडाउनको प्रभाव घटाएपछि अंक बांगो आइहाल्छ। देशको असली तस्बिर अहिलेसम्म कसैले देखाएका छैनन्।
गाउँमा कोभिड परीक्षणका लागि मेडिकल टोली पुग्यो भने जनता भागाभाग गर्छन्। उनीहरू तथ्यको सामना गर्नै चाहँदैनन्। उनीहरू भन्छन्– कोभिड लागेको छ भन्ने थाहा भयो भने हामी त मरिहाल्छौं नि !
गाथाहरु
असार ११, २०७८ शुक्रबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।