मन्त्री कृष्ण गोपालविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं : कलाकार तथा सञ्चारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेद तथा जातीय विभेदको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई थुनामुक्त गराउने मन्त्री कृष्णगोपाल श्रेष्ठको कदमको विरोधमा संयुक्त दलित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ।
प्रदर्शनकारीले ‘कानुनी प्रक्रिया माथि राज्यको हस्तक्षेप बन्द गर’, ‘मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही गर’, ‘जातवादी राज्य व्यवस्था मुर्दावाद’ लगायत नारा लेखिएको प्लाकार्ड बोकेका थिए।
जातका कारण आफ्नो घरको कोठा नदिएको भन्दै सुनारले केही दिनअघि प्रधानविरुद्ध प्रहरीकहाँ उजुरी दिएकी थिइन्।
त्यसपछि पक्राउ परेकी प्रधानलाई शिक्षामन्त्री श्रेष्ठले गत बुधबार प्रहरी कार्यालय पुगेर थुनामुक्त गराएका थिए।
उक्त घटनाको दलित संगठनले विरोध जनाएका छन्। सुनारको गृह जिल्ला बाग्लुङका विभिन्न दलित संगठनले आजै घटनाको विरोध गरी शिक्षामन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन्।
असार ११, २०७८ शुक्रबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।