सुर्खेतको सालकोटमा विशेषज्ञ स्वास्थ्य सेवा दिन ‘मोबाइल शिविर’ संचालन गरिने
सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत विशेषज्ञ सेवा दिन ‘मोबाइल शिविर’ सञ्चालन गर्ने भएको छ।
सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ गतेबाट विशेषज्ञ सेवासहितको माेबाइल शिविर सञ्चालन गरिने बताए।
‘सामान्य बिरामी हुँदा पनि सुर्खेतकाे पश्चिम क्षेत्रका नागरिक सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘पश्चिमका नागरिकलाई घर आँगनमै सेवा दिने उद्देश्यले असार १५ बाट मोबाइल शिविर सञ्चालन गर्दैछौं।’
प्रदेश राजधानीको ठाउँ भए पनि पश्चिम सुर्खेत स्वास्थ्य क्षेत्रमा पछाडि छ।
बर्खाको समय भएकाले असार र साउनमा महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिने छन्। भदौबाट साप्ताहिक सेवा सुरु गरिने उनले जानकारी दिए।
सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो। सालकोटमा विशेषज्ञ सेवा सुरु भएपछि छिमेकी जिल्ला अछाम र कैलालीका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने छन्।
मन्त्री बुढाक्षेत्रीले सालकोटलाई पश्चिमको ‘स्वास्थ्य हब’का रुपमा विकास गरिने बताए।
‘त्यसको सुरुवात यहीँ असार १५ गतेबाट हुँदैछ,’ उनले भने, ‘असार र साउनमा महिनाको दुई पटक र भदौबाट साप्ताहिक विशेषज्ञ सेवा पु¥याइने छ।’
उनले सालकोटबाटै पश्चिम क्षेत्रका नागरिकले बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियन लगायतका सेवा पाउने बताए। उनले सालकोट स्वास्थ्य केन्द्रलाई औषधि र उपकरण सम्पन्न बनाउनका लागि पनि पहल भइरहेको बताए। ‘विशेषज्ञ सेवाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औजारहरु चालू आर्थिक वर्षभित्रै खरिद गर्दैछौं,’ उनले भने, ‘भौतिक पूर्वाधार निर्माण र थप उपकरण आगामी आर्थिक वर्षमा खरिद गर्ने मन्त्रालयले योजना बनाएको छ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए।
‘अहिले सामान्य बिरामी हुँदा पनि यो क्षेत्रका नागरिक सदरमुकाम वीरेन्दनगर र कैलाली जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘मन्त्रालयले पश्चिम सुर्खेतका जनतालाई सहज सेवा पु¥याउन सालकोट स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राखेको छ।’
उनले तल्लो इकाइबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति सरकारले लिएको बताए।
प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटका प्रमुख डा. जीतेन्द्र यादवले सामान्य सल्यक्रिया पनि नहुँदा यो क्षेत्रका गरिव जनताले सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता रहेको बताए।
उनले १५ शय्यको अस्पतालको रुपमा स्तरवृद्धि भए पनि जनशक्ति र स्वास्थ्य उपकरण नहुँदा सो अनुसारको सेवा दिन नसकिएको बताए।
उनले जनशक्ति अभावमा पोस्टमार्टम भवन भने पनि प्रयोगमा आउन नसकेको बताए। पोस्टमार्टमकै लागि पनि सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता यो क्षेत्रका नागरिकमा छ।
असार ११, २०७८ शुक्रबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।