प्रदेश १ सरकारको प्राथमिकतामा भ्यु टावर : टेम्केडाँडादेखि चिण्डेडाँडासम्मलाई बजेट 

प्रदेश १ सरकारको प्राथमिकतामा भ्यु टावर : टेम्केडाँडादेखि चिण्डेडाँडासम्मलाई बजेट 

इटहरी : प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विराटनगर महानगर भित्र राजनेता पार्क बनाउने निर्णय गर्यो। २०७४ फागुन ३ गतेको पहिलो मन्त्रिपरिषद् बैठकले पार्क बनाउने सहित विभिन्न १४ वटा शहीद भूमि र ऐतिहासिक भूमिलाई नमुना बस्ती बनाउने निर्णय गरेको थियो। 

यी निर्णय कार्यान्वयनका लागि हरेक आर्थिक वर्ष बजेट विनियोजन हुँदै आएको छ। प्रदेश सरकारले पहिलो पटकको अल्पकालीन सहित ५ वटा बजेट सार्वजनिक गरिसकेको छ। हरेक वर्ष पार्क, गेट र टावरमा लगानी केन्द्रित गर्दै आएको सरकारले कोरोना महामारीको बिचमा पनि त्यसैलाई निरन्तरता दिएको छ। 

आर्थिक वर्ष २०७८/७९ को बजेटमा विभिन्न नेताहरूको नाममा खुलेका प्रतिष्ठान तथा फाउन्डेसनलाई बजेट छुट्टाएको छ। रामप्रसाद राई, गिरिजाप्रसाद कोइराला, नारदमणि थुलुङ, कृष्ण प्रसाद भट्टराई, नोना कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, सुशील कोइराला, बालागुरु षडानन्द, भरतमोहन अधिकारी, योगमायाको सम्मानमा स्थापित प्रतिष्ठान, फाउन्डेसन अध्ययन केन्द्रलाई अनुदान दिन ३ करोड विनियोजन गरिएको छ।

त्यस्तै सङ्घर्षपूर्ण राजनीतिक विरासतलाई सम्मान र अभिलेख गर्न ऐतिहासिक भूमि ढुङ्गे साँघु, सुखानी, छिन्ताङ र ऐतिहासिक भूमि उर्लाबारीमा प्रेरणादायी स्मृति केन्द्र निर्माणका लागि ५ करोड विनियोजन गरिएको छ। यो आर्थिक वर्ष २०७६/७७ कै बजेटमा पनि समावेश भएको कार्यक्रम हो। 

राजनेता पार्क बनाउने पुरानै कार्यक्रमको लागि फेरी १ करोड रुपैयाँ विनियोजन गरिएको छ। कार्यकालको सुरुवात देखिनै यस्ता अनुत्पादक क्षेत्रमा बजेट विनियोजन भइरहेका छन्। पहिलो पूर्ण बजेट प्रस्तुत गरेको प्रदेश सरकारले आब २०७५/७६ मा काँकडभिट्टा र विराटनगरको रानीमा प्रदेशको पहिचान झल्किने प्रवेश द्वार निर्माण गर्ने उल्लेख गरिएको थियो। 

टेम्केडाँडामा भ्यु टावर

प्रदेश सरकारको गौरवको आयोजना मानिएको भोजपुर र खोटाङको सिमाना स्थित टेम्के डाँडामा १३ करोड ६२ लाख ८१ हजार रुपैयाँ लागतमा भ्यु टावर निर्माण गरिदैछ। प्रदेश सरकारको लगानीमा ३ हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा भ्यु टावर बन्ने भएको हो। हरियो सगरमाथाको नामले परिचित डाँडाबाट तराई देखी सगरमाथा, मकालु, कञ्चनजङ्घा, लोच्से लगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ। 

३ वटा हिमशृङखलाको समेत अवलोकन गर्न सकिने उक्त डाँडामा भ्यु टावरको शिलान्यास भइसकेको छ। टावर आगामी २०८२ सालसम्म निर्माण सम्पन्न गर्ने गरी कुन्सालिङ कन्स्ट्रक्सन भोजपुरले ठेक्का पाएको छ। 

यस्तै प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि भन्दै सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–८ सोलुडाँडामा सगरमाथा भ्यु टावर निर्माण गर्ने भएको छ। सगरमाथा भ्यु टावर निर्माणका गर्न ५० लाख र पाँचथरको देम्बाडाँडामा अर्को टावर निर्माणका लागि ५० लाख अघिल्लो आर्थिक वर्षमै विनियोजन भएको थियो।

पाँचथरको फिदिम नगरपालिकास्थित बूढीथाममा ‘भ्यु टावर’ निर्माणका लागि ३० लाख, मिक्लाजुङमा ‘भ्यु टावर’ का लागि ५० लाख, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५, मालिङ्गेमा ‘भ्यु टावर’ का लागि १ करोड बजेट विनियोजन भएको थियो। 

प्रदेश सरकारको ध्यान पहाड देखी तराईका फाटसम्म भ्यु टावर निर्माण गर्ने अभियानमा केन्द्रित भएको छ। झापाको बुद्धशान्तिमा भ्यु टावर निर्माण गर्न ३० लाख, इलामको माङ्सेबुङ–६, तीनथुम्कीमा भ्यु टावरका लागि ५० लाख र धरानको चिण्डेडाँडामा भ्यु टावर निर्माणका लागि ५० लाख छुट्टाइएको थियो। विनियोजित बजेट कार्यान्वयनको क्रममा अधिकांश स्थानमा भ्यु टावर निर्माण भइसकेका छन्। 

सरकारको प्रस्टीकरण

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की भने राजनेता पार्क स्थापना गर्ने विषय गलत नभएको बताउँछन्।

प्रदेश १ बाट प्रधानमन्त्री भएका नेताहरू र मदन भण्डारी समेतलाई समेटेर पार्क बनाउनु राजनेताहरु प्रति सम्मान भएको उनको तर्क छ। उहाँहरूले देश परिवर्तनमा खेलेको भूमिका भोलिका दिनमा पनि प्रस्ट होस् भन्नका लागि पार्क तथा फाउन्डेसनको नाममा बजेट विनियोजन गरिएको उनले बताए।

असार ११, २०७८ शुक्रबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।