वीरेन्द्रनगरले ल्यायो १ अर्ब ५६ करोड ५२ लाख रूपैयाँको बजेट
नगरसभामा बिहीबार उपप्रमुख मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उक्त रकमको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन्, जसमा चालुतर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगततर्फ ४३ करोड ३१ लाख ३६ हजारको बजेट सार्वजनिक गरिएको छ।
यस्तै, ससर्ततर्फ ४ करोड ८९ लाख ६३ हजार, सामाजिक विकासतर्फ १३ करोड २४ लाख ७२ हजार र पूर्वाधारतर्फ १८ करोड २२ लाख ७२ हजार रूपैयाँको बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ५ लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ८ लाख १६ हजार रूपैयाँको बजेट विनियोजन गरेको हो।
नीति तथा कार्यक्रम र बजेट पेस गर्दै नगर उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिका उपमहानगरपालिका बनाउनका लागि प्रदेश सरकारमार्फत संघीय सरकारसँग सिफारिस गर्ने बताइन्।
नगरपालिकाले जेहेन्दार विद्यार्थीलाई कमाउँदै, पढ्दै, गरिब परिवारको पहिचान गरी गरिब परिचयपत्र दिने, महिला स्वरोजगार कार्यक्रम, सेनेटरी प्याड निःशुल्क बाँडिने कार्यक्रमसमेत ल्याएको छ।
त्यस्तै, ज्येष्ठ नागरिकको निःशुल्क सुगर र प्रेसर स्वास्थ्य जाँच गर्ने र बाल शिक्षा पढाउने शिक्षकलाई १५ हजार रूपैयाँ तलव दिइने नीति पनि नगरपालिकाले लिएको छ।
असार १०, २०७८ बिहीबार २०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।