नेकपा (एकीकृत) दर्ताबारे नेपाल समूह : ‘पार्टी एकता टर्‍यो, चुनाव लड्न नयाँ पार्टी बनाएका हौँ’

नेकपा (एकीकृत) दर्ताबारे नेपाल समूह : ‘पार्टी एकता टर्‍यो, चुनाव लड्न नयाँ पार्टी बनाएका हौँ’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) जुट् या फुट्को औपचारिक घोषणाको अवस्थामा छ। यही अवस्थामा जीवन राई अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको नयाँ पार्टी औपचारिक रूपमा दर्ता भएको छ। 

निर्वाचन आयोगका अनुसार नेकपा (एकीकृत) ले दल दर्ता भएको प्रमाणपत्र बुझेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कलम भएको पार्टी दर्ता भएको हो। दल दर्ताको निवेदन वैशाख ७ गते आयोगमा दर्ता भएको थियो। पार्टी अध्यक्ष राई एमालेको भातृ सङ्गठन अनेरास्ववियुका पूर्व नेता समेत हुन। 

नयाँ पार्टी दर्ता भएसँगै नेकपा (एमाले) को असन्तुष्ट पक्ष माधव नेपाल समूहले पार्टी दर्ता गराएको चर्चा भए पनि नेपाल समूहले यसबारे औपचारिक रूपमा केही बोलेको छैन। 

तर, अध्यक्ष राई नेपाल पक्षसँग पार्टीको सम्बन्ध नरहेको बताउँछन्। ‘यसमा सत्यता छैन। दर्ता प्रक्रियादेखि नै नाम जोडेर अनावश्यक प्रचार गरियो,’उनले भने,‘एमालेमा विवाद आएको समयमा माधव नेपालसँग जोडेर प्रचार गरिएको हुनसक्छ। पार्टीमा त जो कोही पनि जोडिन सक्नुहुन्छ। माधव नेपाल मात्रै होइन।’ 

राईलाई वरिष्ठ नेता नेपाल निकट मानिनुको कारणबारेको जिज्ञााशामा उनले आफ्नो सम्बन्ध सबै नेतासँग राम्रै रहेको जवाफ दिए। पछिल्लो समय एमालेमा नरहेको उनले जवाफ दिए।

‘पार्टी एकता हुँदैन,चुनावको तयारीलाई नयाँ पार्टी’

नेपाल पक्षका प्रतिनिधिसभा सदस्य तथा एमालेका एक केन्द्रीय सदस्य भने आफूहरूले नै नयाँ पार्टी दर्ता गराएको बताउँछन्। ‘चुनाव घोषणा भइहालेको अवस्थामा त्यसलाई समेत प्रयोग गर्ने निर्णय गरी दर्ता गराइएको हो।’ती सदस्यले नाम नबताउने सर्तमा भने,‘एमाले पार्टी त मिल्दैन।’

ती सदस्यका अनुसार निर्वाचन भएको अवस्थामा केही महिनाअघि दल दर्ता हुनुपर्ने व्यवस्थालाई मध्यनजर गरी दर्ता गरेर राखिएको हो। ‘भोलि चुनाव भइहाल्यो भने केही महिनाअघि दल दर्ता हुनुपर्ने प्राविधिक व्यवस्थाको प्रक्रिया पुरा गर्न पार्टी दर्ता गरेर राखिराखौँ भनेर नेकपा(एकीकृत) दर्ता गराएका हौँ।’उनले भने।

नेकपा फुटपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली र अर्को असन्तुष्ट पक्ष वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिचको विवाद फुटको अवस्थामा पुगेको छ। पछिल्लो समय पार्टी अध्यक्ष ओलीको हरेक कदमको विपक्षमा रहँदै आएको नेपाल समूह विपक्षी गठबन्धनमा रहेर दोस्रो संसद् विघटन विरुद्ध अदालत पुगेको छ। 

‘नबिना लामासँग हारपछि नयाँ पार्टी’

कसरी सुरु भयो त नयाँ पार्टी बनाउने योजना? राई जवाफमा ५ वर्षअघि फर्कन्छन्। ‘५ वर्षअघि नबिना लामा अध्यक्ष लड्दा अनेरास्ववियुबाट उपाध्यक्षमा उठेको थिएँ। पराजित भएपछि। पार्टी छाडेर बसेको थिएँ,’उनी भन्छन्,‘त्यसपछि पार्टीमा कुनै जिम्मेवारी नभएपछि छाडेर बसेको थिएँ। अहिले आफै पार्टी खोलेर केही गर्नुपर्छ भन्ने लागेर साथीहरूको सल्लाहमा दर्ता गरिएको हो।’

राई अध्यक्ष रहेको नेकपा एकीकृतको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल सहितको २५ सदस्यीय कार्य समिति छ। एमाले र अन्य ठुला पार्टीमा विवाद भइरहेको समयमा नयाँ दल दर्ता हुँदा यसलाई अनेक रूपबाट हेरिएको हुनसक्ने उनले बताए। 

तर,आफ्नो पार्टीले पुराना पार्टी भन्दा फरक रूपमा काम गर्ने र युवालाई समेटेर लैजाने उनको भनाइ छ। राई ठुला पार्टीमा विवाद भइरहेको समयमा ती पार्टीबाट फ्रस्टेट भएर र छाडेर निस्कनेहरूलाई समेटेर फरक रूपमा राजनीतिमा योगदान गर्न नयाँ पार्टी खोलेको बताउँछन्। 

असार १०, २०७८ बिहीबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।