कोरोनाकालमा डा. अच्युतको भोगाइ– संक्रमितको शव बाेकेर सेनाको गाडीसम्म पुर्याएँ
काठमाडौं : कोरोना संक्रमण महामारीको पहिलो लहरको सुरुवाती दिनमा वीर अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. अच्युतराज कार्कीलाई संक्रमितको उपचार व्यवस्थापनमा निकै चुनौती देखियो।
कारण– अस्पतालका अधिकांश चिकित्सक संक्रमितको उपचार गर्न नचाहनु। ‘त्यति बेला अस्पतालका अधिकांश चिकित्सकमा संक्रमितको उपचार गर्न नपरे हुन्थ्यो भन्ने मानसिकतामा थियो,’ उनले सम्झिए।
त्यति बेला संक्रमितको शव छुन नमानेको घटना उनी अहिले पनि सम्झिन्छन्।
उनले घटना सुनाए–
पर्सातिरका करिव २८ वर्षका बिरामी युवा वीर अस्पताल भर्ना भएका थिए। परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि ती पुरुषको आइसियुमा राखेर उपचार गरियो। तर, त्यसको केही दिनपछि उपचारकै क्रममा ती पुरुषको मृत्यु भयो।
उक्त शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउनुअघि शव प्याकिङ गरी शवगृहमा राख्नुपर्ने भयो। तर, यसका लागि अस्पतालका कोही पनि तयार भएनन्।
निकै अनुरोध गरेपछि एक कनिष्ठ तहका स्वास्थ्यकर्मीले हुन्छ भने। तर, त्यो कामका लागि दुई जना चाहिने भयो। त्यसपछि मैले र ती स्वास्थ्यकर्मीले शव प्याकिङ गरी शवगृहमा पुर्यायौं।
भोलिपल्ट शव व्यवस्थापनका लागि शव लैजान नेपाली सेनाको गाडी आयो। त्यसपछि उक्त शव नेपाली सेनाको गाडीसम्म पुर्याउनुपर्ने भयो। मैले अघिल्लो दिन शव शवगृहसम्म पुर्याउन सघाउने स्वास्थ्यकर्मीलाई भने। उहाँले पनि मान्नुभएन। त्यसपछि एक्लैले उक्त शव सेनाको गाडीमा राखें।
‘सुरक्षित भएको महसुस दिलाउन सके मात्रै स्वास्थ्यकर्मी मानसिकरूपमा काम गर्न तयार हुने रहेछन् भन्ने त्यो घटनाबाट सिकें,’ उनले सुनाए।
मृत्युपछि रिपोर्ट नेगेटिभ
पहिलो लहरमा सुरुको ३ महिना उपचार गर्न समस्या भएको उनले सुनाए।
त्यति बेला पिसिआर परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकाले उपचाररत बिरामीको पनि हेरचाह नहुँदा मृत्यु भएको उनले सुनाए।
यस्तै एक घटना उनको मानसपटलमा ताजै छ।
उनले घटना बेलिविस्तार लगाए–
कालिमाटी बस्ने करिव ६७ वर्षका व्यक्ति अस्पताल पुगे। ती व्यक्तिलाई उच्च ज्वरो आएको थियो। श्वास पनि फेर्न सक्दैनथे। ज्वरो आएको ४/५ दिन भइसकेको थियो। त्यसपछि ती व्यक्तिलाई अस्पतालको आइसोलेसनमा भर्ना गरियो।
त्यो बेला अस्पतालमा कोरोना संक्रमितका लागि आइसियुको १ मात्रै शय्या छुट्याइएको थियो।
तर, ती पुरुषको मृत्यु भयो। डा. अच्युतले भने, ‘चिकित्सकले पिपिई लगाएर भित्र पस्दा बिरामीको मृत्यु भइसकेको थियो।’
स्वास्थ्य अवस्था गम्भीर भएकाले तुरुन्तै आइसियुमा राख्न नसक्दा बिरामीको मृत्यु भएको उनले सुनाए। पिपिइको व्यवस्थापन गरेर आइसियुमा राख्न दिला नभएको भए ती पुरुषलाई बचाउन सकिन्थ्यो कि भन्ने उनको मनमा अझै खट्किरहन्छ।
बिहान ९ बजे अस्पताल जाँदा आफूले यस्तो घटना थाहा पाएको उनले बताए। तर, मृत्युपछि ती व्यक्तिको कोरोना रिपोर्टमा कोरोना नेगेटिभ आएको डा. अच्युतले बताए।
दोस्रो लहरमा अक्सिजन अभावमा १० मिनेटमै ३ जनाकाे मृत्यु
दोस्रो लहरमा स्वास्थ्यकर्मीले संक्रमितको उपचार गर्न हिच्किचाहट नमानेको उनको भनाइ छ।
स्वास्थ्य सुरक्षा सामग्रीको उपलब्धता र कोरोना विरुद्धको खोप लगाएकाले स्वास्थ्यकर्मीले यो बेला संक्रमितको उपचारमा हिच्किचाहट नगरेको उनले बताए।
तर, ठोस औषधि नभएकाले डर र दबाबमा काम गर्नुपरेको उनले सुनाए। पहिलो लहरपछि उपचारको अनुभव र उपचार व्यवस्थापन पक्ष पनि केही हदसम्म व्यवस्थित भएको उनको भनाइ छ।
तर, दोस्रो लहरमा अक्सिजनकै अभावका कारण संक्रमितको उपचारमा चुनौती थपिएको उनले बताए। वीर अस्पतालमा अक्सिजन पर्याप्त नहुँदा केही बिरामीलाई गुमाउनुपरेको उनले सुनाए। डा. अच्युतले भने, ‘एक हप्ता अक्सिजनले साह्रै दुःख पायौं।’
अक्सिजनको अभावले केही मिनेटको अन्तरालमा नै ३ जनाको मृत्यु भएको उनी सम्झन्छन्। डा. अच्युत भन्छन्, ‘१० मिनेटभित्रमा आइसियुमा ३ जनाको मृत्यु भयो। दोस्रो लहरमा त्यो सबैभन्दा दुःखद क्षण भयो।’
आकस्मिक कक्षमै मृत्यु
दोस्रो लहरमा आकस्मिक कक्षको एउटा घटना डा. अच्युत भुल्दैनन्।
उनले घटना सुनाए–
करिव ३२ वर्षका कोरोना संक्रमित बिरामी उपचारका लागि अस्पताल आए। अस्पताल पुग्दा उनको अक्सिजनको तह निकै कम भइसकेको थियो।
अस्पतालको आकस्मिक कक्षमा नै राखेर अक्सिजन दिइयो। अक्सिजनको तह त केही बढ्यो। ति संक्रमित युवालाई आइसियुको आवश्यकता पर्याे।
न वीर अस्पतालमा आइसियु खालि थियो। न अन्य अस्पतालमा सम्पर्क गर्दा नै आइसियु पाइयो। कहीँकतै आइसियु नपाएपछि ती बिरामीलाई आकस्मिक कक्षमै राखेर उपचार गरियो। तर, अस्पताल आएको डेढ दिनपछि ती बिरामीको मृत्यु भयो।
भेन्टिलेटरको व्यवस्थापन गर्न नसक्दा बिरामीले प्राण त्यागेको देख्दा उनको मन विक्षिप्त हुन्छ।
‘भयभित स्वास्थ्यकर्मी’
डा. अच्युत वीर अस्पतालमा पुगेको करिव ५ महिनामा नेपालमा पनि कोरोना देखिन थालेको थियो।
उनी सुरुमा नै कोरोना भाइरस संक्रमणको उपचार तथा व्यवस्थापनका लागि विभिन्न तालिम तथा समन्वयमा सहभागी भए।
डा. अच्युतले भने, ‘वीर अस्पतालमा कोभिडको पहिलो मिटिङबाटै थिएँ।’ उनलाई पहिलो लहर सुरु हुँदै अस्पताल व्यवस्थापनले कोभिड˗१९ फोकल पर्सनको जिम्मेवारी दियो।
त्यसपछि उनको व्यस्तता झन् बढ्दै गयो। कोरोना व्यवस्थापनका लागि तालिम लिने र दिने तथा बिरामीको उपचार व्यस्थापनमा व्यस्त हुन थाले। महामारीको अवस्थामा अस्पतालको पूर्वतयारीसम्बन्धी तालिम लिए।
सुरुमा गाउन, मास्क, पन्जा लगायतका पिपिईको अभाव भएकाले संक्रमितको उपचारमा धेरै स्वास्थ्यकर्मीहरु खट्नै तयार नभएको उनले सुनाए।
पिपिईको अभाव भएकाले अस्पतालमै मास्क, गाउन जस्ता पिपिई तयार गरिएको डा. अच्युतले सुनाए। उनले भने, ‘त्यो बेला त हामीले यहीं भित्र मास्क, गाउनसम्म सिलाएर लगायौं। ग्लोब्सलाई निर्मलीकरण गरेर पुनःप्रयोग गरियो।’
आवश्यकता अनुसार पिपिई प्रयोग गर्न नपाउँदा स्वास्थ्यकर्मीमा नै संक्रमणको जोखिम भयो। उनले भने, ‘संक्रमित हुने चिकित्सकमा त्यति खेर वीर अस्पताल नै सेन्टर जस्तो भएको थियो।’
‘विक्षिप्त मन’
कोरोना सुरु भएपछि १८/२० घण्टा अस्पतालमा नै बस्नुपर्ने अवस्था भयो। त्यसपछि डा. अच्युतले समयमा खाना खान पनि पाएनन्। फोन पनि २४ घण्टा आउन थाल्याे। कामकाे प्रेसर भएपछि तनाव बढ्याे।
यही कारण घरमा कहिलेकार्ही परिवारका सदस्यसँग झर्किने गरेको उनले बताए। त्याे बेला मानसिक रुपमा विचलित समेत भएकाे उनकाे भनाइ छ।
‘मानसिकरुपमा विचलित भएकी जस्तो लाग्थ्यो। डिप्रेशनमा जान्छु की भन्ने बेलाबेलामा झस्को आइरहन्थ्यो,’ उनले त्यो बेलाको अवस्था सुनाए।
केही दिनयता भने तनाव केही कम भएको उनले सुनाए।
केही कर्मचारीबाट असहयोग भएपनि चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको सहकार्य तथा सहयोगले गर्दा नै कोभिड व्यवस्थापन गर्न सकेको उनले सुनाए।
अध्ययन र जागिरे यात्रा
२०३६ सालमा भोजपुरमा जन्मिएका अच्युतले सुनसरीको इनरुवास्थित श्री भगवती माविबाट २०५१ एसएसलसी दिए।
एसएलसीपछि काठमाडौं आए। उनलाई सानैदेखि इन्जिनियर बन्न खुब रहर थियो। यही सपना पूरा गर्न उनी काठमाडौं आए। र, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा दिए। उनले भने, ‘ओभरसियरमा नाम पनि निस्कियो।’
तर, काठमाडौंमा नै बस्ने उनका भानिजदाजु (फुपुका छोरा)ले साइन्स पढ्न सुझाए।
भानिजदाइको सुझाव अनुसार नै अच्युतले इन्जिनियर बन्ने सपनालाई मोड्दै अमृत साइन्स क्याम्पसमा आइएससीमा भर्ना गरे।आइएस्सीमा बायोलोजी विषय अध्ययन गर्दा नै हो उनलाई डाक्टर पढ्ने रहर लागेको।
सेतो कोट लगाउने रहर र जागिर पनि सजिलै पाउने भएपछि उनले डाक्टर पढ्ने सपना त बुने। तर, डाक्टर पढाउन सक्ने परिवारको आर्थिक अवस्था थिएन।
त्यसैले कडा मेहनत गरेर एमबिबिएस अध्ययनका लागि उनले चिकित्सा शास्त्र अध्ययन संस्थानमा छात्रवृत्तिमा अध्ययनका लागि प्रवेश प्ररीक्षा दिए।
तर, सफल हुन सकेनन्। अर्को वर्ष पनि प्रवेश परीक्षा दिए। दोस्रो प्रयासमा उनी सफल भए।
उनले भने, ‘रिजल्ट आएको त्यो क्षण त बिर्सनै सक्दिनँ। त्यो दिन म कति खुसी भएको थिएँ, ओहो ! पैसा तिरेर पढ्न सक्ने अवस्था नै थिएन।’
प्रवेश परीक्षामा सफल भएपछि अच्युतले चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जमा एमबिबिएस अध्ययन थाले। २०६२ सालमा एमबिबिएस उत्तीर्ण गरे। त्यसपछि उनको जागिरे यात्रा सुरु भयो।
एमबिबिएसपछि उनले २०६३ सालमा काठमाडौंको मनमोहन अस्पतालमा जागिर गरे। त्यसपछि उनले शहिद अस्पताल कलंकी, मर्लिन नेपालमा काम गरे।
मर्लिन संस्थामार्फत नै उनी एमबिबिएसपछि रोल्पा, दाङ लगायतका जिल्लामा पुगेर काम गरे। त्यो बेला माओवादी सशस्त्र द्वन्द्वको भर्खर अन्त्य भएको थियो। त्यो समयमा प्युठान, रोल्पा, दाङलगायतका जिल्लाका गाउँगाउँमा विशेषगरी द्वन्द्वपीडित लक्षित स्वास्थ्य उपचारका कार्यक्रम गरिएको उनले बताए। उनले भने, ‘क्याम्प लिएर दुर्गम गाउँ पुगियो।’
रोल्पामा डेलिभरी गराउँदा...
एमबिबिएस अध्ययनपछि रोल्पामा करिव १२ वर्ष अघिको एउटा क्षण उनी कहिल्यै भुल्दैनन्।
उनी हेल्थ क्याम्प लिएर रोल्पाको थवाङ पुगेका बेला रोल्पाको सिमानामा सुत्केरी व्यथा लागेर छटपटाइरहेकी रुकुमकी महिलालाई ल्याइएको थियो।
परिवारका सहमतिमा ती २६ वर्षीय महिलाको डेलिभरी गरेको र सकुशल बच्चा जन्मिएको उनले सुनाए।
उनी अहिले पनि त्यो क्षण सम्भन्छन्,‘रिक्स लिएर नै मेडिकल टिम बसेर रातभरमा सुरक्षित सुत्केरी गरायौं। रक्तस्राव निकै भएको थियो। टर्चको भरमा उपचार गर्याैं।’
रक्तस्राव नरोकिएको भए आमाको ज्यान जान सक्थ्यो। डा. अच्युतले भने,‘कहीं लान सक्ने अवस्था थिएन। त्यो दिन हामी नपुगेको भए ती महिला बाँच्ने सम्भावना कमै थियो।’
‘त्यहाँ पुग्न रोल्पाको सदरमुकामबाट हिँडेर लगभग २ दिन लाग्थ्यो,’ उनले भने, ‘त्यो ठाउँका मान्छेलाई अस्पताल पुग्न २/३ दिन लाग्थ्यो। हामी त्यहीं गएर उपचार गथ्र्याैं।’
सबै रोगको उपचार गर्ने डाक्टर
करिव ६ वर्ष दुर्गम क्षेत्रमा काम गरिसकेपछि उनले थप अध्ययन गर्ने निर्णय लिए। र, उनले चिकित्सा शास्त्र अध्ययन संस्थानमा नै एमडिजिपि (जनरल प्राक्टिस) विषयको अध्ययन थाले। जुन विषय स्वास्थ्य आपतकालिन अवस्थामा सबै किसिमको उपचार गर्ने विषय भएको उनले बताए।
उनलाई दुर्गममा काम गर्दा लाग्यो, ‘डाक्टर यस्तो चाहिने रहेछ, जसले आवश्यक पर्दा सबै किसिमको उपचार गर्न सकोस्। आपतकालीन उपचार पाएपछि विशेष उपचार चाहिने भए रिफर गर्न सकियोस्।’
सुरुमा नै बिरामीलाई आपतकालीन उपचार दियो भने धेरैको ज्यान बचाउन सकिँदो रहेछ भन्ने कुरा उनलाई महसुस भयो।
यो विषयलाई इमर्जेन्सी फिजिसियनका नामले पनि चिनिन्छ। उनले भने, ‘यो विषय इमर्जेन्सी पर्दा सबै किसिमको काम गर्ने विशेषज्ञ हो।’
उनी जनरल प्राक्टिसनर हुन्। यो विषयलाई ‘प्राइमरी हेल्थ केयर फिजिसियन’ भन्न रुचाउँछन् उनी। सुरुको अवस्थामा बिरामीलाई बचाउन सके धेरैको ज्यान बाँच्ने निष्कर्ष निकाले पनि उनले यो विषय छनोट गरेको सुनाए।
घरपरिवार तथा साथीले उनलाई कुन विषयको विशेषज्ञ हो भनेर उनलाई सोध्छन्। त्यो बेला भने उनलाई आफ्नो विषयविज्ञताको बारेमा बुझाउन अलि कठिन हुन्छ।
‘कहिलेकाहीँ आफन्त र साथीभाइले तँ कुन विषयको विशेषज्ञ हो भनेर सोध्नु हुन्छ। त्यो सोध्दा म सबै विषयको विशेषज्ञ हो भन्न पनि मिल्थ्यो,’ उनले हाँस्दै भने, ‘त्यसैले म जवाफ दिँदा पहिलो पल्ट बिरामी भएकालाई सुरुमा सबै कुरा हेर्न सक्ने फिजिसियन हो भन्छु।’
दुर्गम र द्वन्द्वपीडित क्षेत्रमा काम गरेकाले नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा यो विषयको आवश्यकता महशुस गरेर एमडिजिपी विषय नै छनोट गरेको उनले सुनाए। उनले २०७२ सालमा एमडिजिपी अध्ययन पूरा गरे।
एमडिजिपी अध्ययनपछि उनले डोटीको सुजङ अस्पतालमा २०७२ देखि २०७३ सम्म एक वर्ष र नुवाकोट सिटी अस्पताल २०७३ देखि २०७४ सम्म करिव ९ महिना काम गरे।
त्यसपछि डा. अच्युत नवौं तहको सरकारी सरकारी जागिरे भए। उनको पहिलो पोस्टिङ प्युठान जिल्ला अस्पताल भयो। २०७४ सालमा उनले प्युठान अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टका रुपमा काम गरे।
प्युठानमा करिव डेढ वर्ष काम गरेपछि ललितपुरको बज्रबाराहीमा रहेको पाटन जिल्ला अस्पतालमा सरुवा भएर करिव ६ महिना मेडिकल सुपरिटेण्डेन्टका रुपमा काम गरे। त्यसपछि २०७६ सालको भदौमा वीर अस्पताल सरुवा भए।
असार ५, २०७८ शनिबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।