विपद् प्रतिकार्यका लागि कर्णाली सरकारले छुट्यायो १० करोड
सुर्खेत : कर्णाली प्रदेश सरकारले सम्भावित विपद्को प्रतिकार्यका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो, चट्याङ जस्ता विपद्को प्रतिकार्यका लागि विपद् कोषमा उक्त रकम छुट्ट्याउने निर्णय गरेको हो ।
विपद् प्रतिकार्यमा छुट्याइएको उक्त रकम विपद्को समयमा आवश्यक पर्ने सामग्री खरिद तथा जनशक्ति परिचालनमा खर्च गरिने सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्।
प्रवक्ता नेपालीका अनुसार बैठकले बाढी–पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने भन्दै मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ती सडक खण्डमा सडक डिभिजन कार्यालय र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समितिको समन्वयमा डोजर राख्ने उनले जानकारी दिइन्।
यस्तै, बैठकले बाढी–पहिरोको जोखिममा रहेका बस्तीमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने कामको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई र विपद्को समयमा घटनास्थलमै पुगेर उपचार गर्नका लागि स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
असार ३, २०७८ बिहीबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।