हिजोका कुरा : अस्पतालले बाँच्दिन भनेकी निशाले रंगमञ्च बचाइन्
नेपाली रंगमञ्चमा परिचित नाम हो निशा शर्मा। ‘पुतलीको घर’, ‘अग्निको कथा’, ‘याज्ञसेनी’ लगायत चर्चित नाटकमा अभिनय गरेकी निशा विविधतायुक्त भूमिकामा अभिनय गर्नसक्ने सशक्त कलाकार मानिन्छिन्।
नाट्यकर्मी सुनिल पोखरेलसँग विवाह रहेकी उनी नाट्य संस्था आरोहणको संस्थापकमध्येकी एक हुन्। सुनिल र निशाले स्थापना गरेको गुरुकुलको अवधारणाबाटै नेपाली नाटकले फड्को मारेको मान्नुपर्छ। टिकट काटेर नाटक हेर्ने चलनको सुरुवात पनि गुरुकुलले नै गर्यो।
गुरुकुल स्थापना हुनुअघि नै चन्द्रमाला, सूर्यमाला तथा निशा शर्मा चर्चित नाट्य कलाकार मानिन्थे। निशा शर्माले पोखरेलसँग विवाह गरिन् र अभिनयलाई पनि निरन्तरता दिइन्। सुनिल र निशाको पहलमा खुलेको गुरुकुलले पनि प्रशस्त महिला कलाकार जन्मायो। निशा शर्माको रंगमञ्च कला स्वदेशमा मात्र होइन, विदेशी भूमिमा पनि त्यत्तिकै प्रस्तुत हुने गरेको छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञपरिषद् सदस्य रहेकी निशालाई अभिनय बाहेक केही गर्नै आएन। पाँच वर्षकै उमेरमा बाल कलाकारको रुपमा सभागृहको मञ्चमा उभिएकी उनी नाटक तथा टेलिसिरियलमा जीवन्त अभिनयकै कारण परिचित छिन्।
ब्राह्मण बुबा र नेवार आमाबाट जन्मेकी हुन् निशा। पाँच दिदीबहिनी र एक जना भाइमध्ये उनी चौथो नम्बरकी। उनकी आमा लक्ष्मी महर्जन न्युरोड फसिकेबकी रैथाने नेवार्नी हुन्।
निशाकी आमा दरबारमा बस्थिन्। दबारबाट धनकुटा आवतजावत गर्ने क्रममा उनकी आमा र बुबाको विराटनगर एयरपोर्टमा देखादेख भएको थियो।
काभ्रेस्थलीका रामप्रसाद शर्मा विराटनगर एयरपोर्टमा जागिरे थिए। एयरपोर्टमै निशाका बुबा रामप्रसाद र लक्ष्मीको देख–भेट भएको हो। त्यतिबेला विराटनगरबाट महिनाको एक पटक मात्रै काठमाडौं प्लेन आउँथ्यो। एयरपोर्टमा उनका बुबा सहित तीन जना मात्रै कर्मचारी थिए।
६ महिनाको एक पटक मात्र तलब हात पर्ने भएकोले निशाका बुुबा बाँकी समय विराटनगरकै एउटा किराना पसलमा काम गर्थे। विराटनगरको त्यो पसल नायक शिव श्रेष्ठका बुबाको थियो। त्यति बेला शिव श्रेष्ठ सानै थिए। निशाका बुबासँग खुब रमाउँथे, उनले पनि धेरै माया गर्थे। त्यही कारण शिव श्रेष्ठले निशालाई अहिलेसम्म पनि बहिनी नै मान्छन्।
०००
निशा सात महिनामै जन्मेकी थिइन्। प्रसूति गृहमा उनी जन्मँदा तौल जम्मा तीन पाउन्ड मात्रै थियो। बच्चा बाँच्ने सम्भावना निकै कम भएकोले हस्पिटलमै छोडेर जानु समेत भनेका रहेछन्। तर आमाबुबाको मनले आफ्नो बच्चालाई त्यत्तिकै छोडेर जान कहाँ मान्छ?
त्यतिबेला उनका बुबा रविभवनस्थित युएनमा काम गर्थे। त्यहाँ कार्यरत स्टाफको लागि छुट्टै क्लिनिकको व्यवस्था थियो। चिकित्सकहरु पनि विदेशी नै थिए। त्यहाँ देखाएर औषधि खान दिएपछि आश मारेकी छोरी पुक्क–पुक्क पर्दै गइन्। उनी यति सानी थिइन् कि बोक्न पनि अप्ठ्यारो हुन्थ्यो।
आमाले कपास र कपडाले ब्यान्डेज बेरे जस्तै बेरेपछि मात्रै लुगा लगाइदिन्थिन्। घाममा राख्दा कुकुरले टिपेर लैजाला भनेर दिदीहरु पालैपालो कुरेर बस्थे। उनी अरु बच्चा जस्तै धेरै रोएर दुःख दिँदैनथिइन्। उनलाई बोकेर हिँड्दा मानिसहरुले उनकी आमालाई बुढी भएर पनि पुतली बोकेर हिँड्छिन् भन्थे।
निशाकी आमा आफैंले विभिन्न डिजाइनका लुगा सिलाइदिन्थिन्। साथमा बुबाका अफिसका साथीहरुले पनि विदेशबाट लुगा, खेलौना टन्नै ल्याइदिन्थे। निशा सानैदेखि चिटिक्क परेर हिँड्थिन्। उनकी ठूली दिदी श्रीमाला, सूर्यमाला र चन्द्रमालामध्ये उनको ग्याप धेरै थियो।
भाइ र उनको उमेरमा चार वर्षको ग्याप छ। तर भाइ जन्मिइसकेपछि पनि आमाको दूध खान्थिन् निशा। उनलाई अझै याद छ, एकपटिको दूध आफूले र अर्कोतिरको भाइले चुसेको। जन्मँदा सानी र रोगी पनि भएकोले अरु सन्तानको तुलनामा निशाले अलि बढी माया पाइन्। उनी धेरै बिरामी भइरहने हुँदा पाँच वर्षसम्म पनि विद्यालय पठाएका थिएनन्।
उनी घरमा बस्न नखोज्ने। पाँच वर्षकै उमेरदेखि अलि ठूला साथीहरुको पछिपछि लागेर कालिमाटीको करह खोलाको किनारैकिनार खेल्न जान्थिन्।
एक पटक खेल्दाखेल्दै दिदीहरु पढ्ने नमुना माध्यमिक विद्यालयमा पुगिछन् निशा। झ्यालबाट चियाएर हेर्दा उनले आफ्नै दिदीहरु नाचिरहेको देखिन्। उनलाई शिक्षकले ‘तिमीलाई पनि नाच्न आउँछ’? भनेर सोधेका मात्रै थिए, भित्र पसेर नाचिहालिन्। ‘नक्कलीलाई भगाई लग्यो झिल्केले’ गीतमा उनलाई नक्कली बनाएर नचाइएको थियो।
नृत्य मन पराएर स्कुलकी विद्यार्थी नभए पनि कार्यक्रममा उनैलाई नचाउने निधो गरेका थिए शिक्षकले। साथमा उनलाई विजय मल्लले लेखेको नाटक ‘कंकाल’ बालकलाकारको रुपमा अभिनय समेत गराइएको थियो।
सो कार्यक्रम राष्ट्रिय सभागृहको हलमा थियो। उनले फूल भरेको सेतो स्वेटरमा रातो फ्रक लगाएर डाइलग बोल्दा सबै दंग परेका थिए। उनले नृत्यमा त ‘वान्स मोर’ आएर फेरि स्टेजमै जानु परेको थियो। त्यस कार्यक्रममा मदनकृष्ण श्रेष्ठले ‘तारा मात्रै होइन तिमीलाई, जुम्रा दाइजो दिइदिउँला’ प्यारोडी गाएका थिए। निशा सम्झिन्छिन्, ‘त्यतिबेला सानी भएर होला, मदनकृष्ण साह्रै अग्लो लागेको थियो मलाई।’
निशालाई विद्यालय भर्ना गरियो। तर मुटुमा प्वाल र बिसन्चो भइरहने हुँदा एक कक्षामै तीन पटक भर्ना गर्नुपर्यो। पुलपुलिएकी उनी स्कुलमा साथीहरुलाई कुटपिट गरेर, झगडा गरेर आउँथिन्।
०००
उनका दिदीबहिनीमध्ये सबैभन्दा पहिले नाटक खेल्ने चन्द्रमाला हुन्। उनी रेडियोमा बजेका गीतहरु कण्ठ गर्दै गाउने, फिल्महरु हेरेर डाइलग कण्ठ पार्थिन्। चन्द्रमाला राम्री पनि थिइन्। शम्भुजित बास्कोटाले सधैं फिल्ममा खेल्नुपर्छ भनिरहन्थे। त्यसैले पनि होला, चन्द्रमालालाई अभिनयप्रतिको रुचि बढ्दै गयो।
हरिप्रसाद रिमालले निर्देशन गरेको ‘क्रसमा टाँगिएको जिन्दगी’ मा चन्द्रमाला नाचघरमा अभिनय गर्दै थिइन्। उनको अभिनय कला देखेपछि हरिहर शर्माले एकेडेमीमा प्रशिक्षणका लागि बोलाए। त्यतिबेला एकेडेमीमा एक वर्षको नाटकको कोर्ष हुन्थ्यो। उनीहरु धेरै चोरीका घटना भएपछि सिफलबाट केशरमहल सरेका थिए।
विद्यालयमा मिनपचासको छुट्टि हुँदा दिदी चन्द्रमालाको पछि लागेर निशा एकेडेमी जान्थिन्। सुनिल पोखरेल र चन्द्रमाला एकेडेमीमा सँगसँगै नाटक सिक्थे। नाटक सिक्ने क्रममा उनीहरु मिल्ने साथी बनेका थिए। सुनिल चन्द्रमालाको घरमा आउने–जाने गरिरहन्थे। त्यही आवतजावतले उनको निशासँग चिनजान र देखभेट भएको थियो। निशा सुनिललाई दाइ भनेर सम्बोधन गर्थिन्।
२०३९ सालमा बद्री अधिकारीले लेखेको र सुनिल पोखरेल र बद्री अधिकारीको निर्देशनमा बनेको नाटक ‘प्रतिभा आकाश माग्छे’ को लागि प्रतिभाको बहिनीको भूमिकामा कलाकार खोजी भइरहेको थियो। जतिबेला निशा ११ वर्षकी थिइन्।
बाल कलाकारको भूमिकामा निशालाई खेलाउन सकिने सुनिलको ठहर थियो। त्यसपछि उनले नाटकमा अभिनय गर्न थालिन्। त्यतिबेला स्कुलबाट सिधै उनलाई सभागृह ल्याउने व्यवस्था मिलाएको थियो। कहिले रमण घिमिरे, कहिले अरु कलाकारहरु निशालाई लिएर आउँथे।
त्यो नाटक महेन्द्र पुलिस क्लबमा पनि देखाइएको थियो। त्यो नाटकबाट त्यतिबेला साढे ३ लाख रकम उठेको थियो। त्यो बेला त्यति पैसाले काठमाडौंमा घरै आउँथ्यो। त्यो नाटक दुई वर्षपछि विराटनगरमा पनि देखाइयो।
निशा बालकलाकारदेखि नै स्टेजमा जम्दै गइन्। निशाको अभिनय सुनिललाई मनपर्यो। त्यस पछि मञ्चन भएका विभिन्न नाटकमा उनले सुनिलसँगै अभिनय गरिन्।
०००
विसं. २०४२ सालमा दिदी चन्द्रमाला विहे गरेर भारत बस्न थालिन्। त्यसपछि चन्द्रमालाको नाटक ठप्प भयो। तर अर्की दिदी सूूर्यमालाको अभिनय यात्रा भने उचाइमै थियो। भिनाजु सरोज खनाल पनि यही क्षेत्रका भएकाले निशाको नाट्ययात्राले निरन्तरता पाइरह्यो।
उनीहरुसँगै बद्री अधिकारी र सुनिल पोखरेल बस्थे। सुनिल खुब पुस्तक पढ्थे। पैसा भयो कि किताब किनिहाल्ने। सुनिललाई एकेडेमीबाट २२५ रुपैयाँ आउँथ्यो। तलब आएको दिन किताब किन्न दगुरिहाल्थे। निशा भने शास्त्रीय संगीत सुन्न मन पराउँथिन्। उनमा शास्त्रीय संगीतप्रति रुचि हुनुमा घरमा हुने सांगीतिक माहोललाई लिन सकिन्छ।
निशाको घरमा केशव भट्टाई, सहनाई वादक मदन भट्ट, तबला वादक शम्भुप्रसाद मिश्र आदिले सांगीतिक माहोल बनाइराख्थे। उनी बुबाको काखमा बसेर सुन्दै हुर्केकी हुन्।
निशालाई सानैदेखि नसिरुद्दिन शाह, स्मीता पाटिल, सबाना आजमी, विजय तण्डुकारका आर्ट मुभी हेर्ने र गजल सुन्ने बानी बस्यो। उनले सानैमा बिपी कोइरालाका कथाहरु पनि पढेकी थिइन्।
०००
१४ वर्षको हुँदा निशालाई मुटुको अप्रेसन गर्न दिल्ली जानुपर्यो। अप्रेसन गरेर फर्केपछि पनि लामै समय आराम गर्नुपर्यो। त्यो समयमा नाटक हेर्ने नपाएर उनलाई उकुसमुकुस हुन्थ्यो।
महको ‘विज्ञापन’ नाटक प्रदर्शन हुँदै थियो। जसमा मदनकृष्ण श्रेष्ठसँग सूर्यमालाले अभिनय गरेकी थिइन्। टिकट सबै बिक्री भइसक्यो तर मणिपुरबाट रुपा राना नआइपुग्दा टिमलाई अप्ठ्यारो परिरहेको थियो। भोलिपल्ट नाटकको लागि हरिवंशकी छोरीको भूमिकाको लागि निशालाई अभिनयको अफर आयो। त्यतिबेला उनको मुटुको अप्रेसन गरेको तीन महिना भएको थियो।
घरमै मदनकृष्ण र हरिवंश आएर अनुरोध गरे पनि निशा भने सो नाटकमा नखेल्ने अडानमा थिइन्। उनी सानैदेखि मनमा कुरा नराख्ने स्वभावकी थिइन्। ‘नाटक खेल्दाखेल्दै कलाकार आइपुग्यो भने उनैलाई खेलाउने होला। यस्तोमा म खेल्दिनँ’ उनले जवाफ दिएकी थिइन्।
महले ‘जबसम्म यो नाटक चल्छ, तिमीलाई नै अभिनय गराउँछौं’ भनेपछि निशाले अभिनय गरिन्। भोलिपल्ट घरमै सेट मिलाए रिहर्लसल गरेकी थिइन् उनले। दुई घण्टा सिकेर उनी नाटक खेल्न पुगिन्। १० दिन नाटक गरेपछि महले बदमासी गरे। टुरमा लाने बेला निशालाई छोडेर रुपा रानालाई नै लगे।
२०४४ सालमा उनले पहिलो टेलिसिरियलमा अभिनय गरिन्। सन्तोष पन्तसँग लाल दरबारमा ‘जीवन बिमा’को सुटिङ गरिरहँदा ‘विज्ञापन’ नाटकको लागि जनकपुर गएकी दिदी सूर्यमालाले बोलाइन्। खरो स्वभावकी निशालाई त्यतिबेला साह्रै रिस उठ्यो। आपत पर्दा मात्रै आफूलाई प्रयोग गर्ने अग्रजको व्यवहार मन परेको थिएन उनलाई। तर दिदीले निकै कर गरे पछि जनकपुर हानिइन्।
टेलिसिरियलको दुई दिनको सुटिङ एकै दिनमा सकाएर उनी जनकपुर पुगिन्। उनीहरुले विराटनगर, धरान, धनकुटा, सिक्किममा नाटक देखाएर काठमाडौं फर्के। विज्ञापनको १६५ शो गरेपछि सूर्यमालालाई रिप्लेस गरियो र निशालाई पनि खेलाइएन।
०००
मुटुको अप्रेसन भएपछि निशाले एसएलसी दिन पाएनन्। एक वर्षको ग्याप भएपछि उनी कोचिङ पढ्न जान थालिन्। त्यतिबेला कोही कलाकार नपाइएको अवस्थामा उनलाई बोलाइन्थ्यो। सुनिल पोखरेलले पनि कलाकार नपाउँदा उनैलाई लग्थे।
निशाले टिनएजमै बुढी आइमाइको भूमिका पनि निभाएकी थिइन्। सुनिल पढ्नका लागि विदेश गएपछि आरोहणको काम ठप्प भयो। त्यही अवधिमा निशा टेलिफिल्महरुमा बढी व्यस्त भइन्। उनले सन्तोष पन्तसँग ‘कठै’, ‘दसैं’ लगायत धेरै टेलिफिल्ममा अभिनय गरिन्।
सुनिल नेपाल फर्केपछि फ्रेन्स कल्चर सेन्टरले आरोहणलाई नाटक देखाउन ठाउँ उपलब्ध गरायो। त्यहाँ ५० जनाजति अट्ने हल थियो। नेपालमै पहिलो पटक उनीहरुले चकटीमा बसेर नाटक हेर्ने माहोल बनाए। यसरी चकटीमा बस्दा ८० जना जति अट्थे। जहाँ ‘आरोहण शनिबार’ भनेर हरेक शनिबार नाटक मञ्चन गर्न थाले। २०४४ देखि २०४६ सालसम्म त्यहाँ नाटकहरु मञ्च गरिरहे।
२०४६ सालको जनआन्दोलनमा निशा शर्मा लगायत आरोहणको पनि उत्तिकै भूमिका रह्यो। आरोहणमा उनीहरुको नाटक हेर्न नेताहरु सिपी मैनाली, मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल आउँथे।
राजा फ्याल्नुपर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भन्ने विचारमा उनीहरु अघि बढिरहेका थिए। सडकबाट नहिँड्न हिँड्यो भने गाडीले हानेर मार्ने योजना रहेको सुराकी समेत उनीहरुले पाएका थिए। उनीहरुका शुभचिन्तकहरु जेगिएर हिँड्न भन्थे।
जनआन्दोलनमा कालोपट्टि बाँधेर पञ्चायतको विरोध गर्नका लागि कालोपट्टि बनाउने जिम्मा निशाले पाएकी थिइन्। उनी रातभरि बसेर कालोपट्टि बनाउँछिन् र ब्यागमा राखेर बालाजुबाट फ्रेन्स कल्चरल सेन्टरसम्म आउँथिन्।
एक दिन सुनिल पोखरेलले ‘आफूहरुलाई समातेमा देवेन्द्रराज पाण्डेलाई खबर गर्नू’ भनेर कोठामा निशालाई थुनी कालोपट्टि बोकेर हिँडे। आन्दोलनमा कालोपट्टिधारी सबै समातिए। जसमा आरोहणका सदस्यहरुको साथमा पारिजात, पद्यमरत्न तुलाधरकी छोरी पनि थिइन्। प्रजातन्त्र घोषणा भएपछि उनीहरुले खुलामञ्चमा ‘इन्द्रेणी परिवारका गीतहरु’ नाटक देखाएका थिए।
निशा नाटकका साथै टेलिफिल्ममा पनि उत्तिकै सक्रिय थिइन्। रमेश बुढाथोकीले निर्देशन गरेको ‘निमित्त नायक’ सिरियलबाट उत्कृष्ट कलाकारको अवार्ड समेत पाइन् उनले।
सूर्यमालाका लागि लेखिएको ‘भीडदेखि भीडसम्म’ मा निशाले नै अवसर पाइन्। सूर्यमाला प्रेगनेन्ट थिइन्, अंशुमालाले बढी पारिश्रमिक डिमाण्ड गरिन्, मिथिला शर्मा अर्को प्रोजेक्टमा व्यस्त थिइन्। यी कारणले निशाले चान्स पाएकी थिइन्।
त्यो सिरियलको सुटिङमा भएको दुर्घटना उनका लागि जीवनभरिका लागि घाउ बन्यो। सुटिङको क्रममा नायक सहनवाज खानको बाइकको पछाडि बसेर जाँदा ३० फिट मुनि खसेर उनको ढाडमा असर पर्यो। हड्डी चर्केको रहेछ। १५ दिनसम्म हलचल नै गर्न नसक्ने अवस्था थियो। त्यो घाउले अहिले पनि उनलाई दुःख दिन्छ। निहुरेर काम गर्दा आज पनि कम्मर दुख्छ।
०००
बच्चा भएपछि निशालाई अब के काम गर्ने भन्ने पिर पर्यो। त्यतिबेलासम्म एकेडेमी र आरोहण मिलेर हरेक शनिबार नाटक देखाइरहेका थिए। उनले टेलिफिल्ममा खेल्दा दिनको ४० रुपैयाँ ट्याक्सी खर्च पाउँथिन्। पैसा बचाउनका लागि बसमा दुई रुपैयाँ खर्च गरेर ३८ रुपैयाँ बचाउँथिन्। त्यही पैसाले नाटकको चिया, खाजा खर्च निकाल्थिन्। बच्चा भएपछि जीवनमा धेरै गाह्रो भएको निशा बताउँछिन्।
‘नाटक नै जीवन’ भन्दै हिँडेका सुनिल पोखरेल धेरैथरीका समस्याले गर्दा डिप्रेसनको सिकार भए। निशालाई त्यो समय जीवनकै सबैभन्दा कठिन समय लाग्छ। डिप्रेसनमा गएका श्रीमान् र डेढ वर्षको छोरालाई एक्लैले सम्हाल्न धेरै गाह्रो थियो। त्यसमाथि आफ्नो स्वास्थ्य समस्या त छँदै थियो। छोरालाई दूध किन्न समेत पैसा नहुने अवस्था भयो।
निशालाई त्यो समय नेपालमा बस्नै मन लागेन। कामको मूल्यांकन थिएन, पैसा आउने बाटो पनि खासै थिएन।
निशाले उनले जिद्दी गरेर अमेरिका जानको लागि कागजात सबै ठिक्क पारिन्। व्युटिपार्लर कोर्ष पनि गरिन्। कागज बुझाउने समयमा उनलाई श्रीमानले ‘मेरो गुरुकुल खोल्ने सपना छ। दुई वर्षको समय देऊ, त्यतिबेलासम्म केही भएन भने पलायन हौंला’ भने। निशालाई पनि नाटकको मोह त थियो तर घरको अवस्था, छोराको भोको पेट विदेश पलायन हुने इच्छा जागेको थियो। तर, उनी श्रीमानको गुरुकुल खोल्ने सपनालाई पूरा गर्नतिर लागिन्।
०००
केशव स्थापित तत्कालीन मेयर थिए। गुरुकुलका लागि मेयर स्थापित पनि लागिपरे। मैतिदेवीमा उनीहरुले सोचे अनुसारको जग्गा भेट्टाए। जग्गा पाएपछि पहिले आफूसँग काम गरेका केटाकेटीहरुलाई बटुल्न थाले। तीन वर्ष गुरुकुलमै बसेर नाटक प्रशिक्षण दिने सपनामा सौगात मल्ल, सरिता गिरी, सुवास थापा, कमलमणि नेपाल, सुरेश चन्द सामेल भएपछि त्यसमा राजकुमार पुडासैनी पनि थपिए।
उनीहरुले झाडी फडानी गरेर सफा गरे र छाप्रो बनाए। निशासँग बाँकी भएका गहनाहरु बैंकमा राखेर प्लाटर गरी जस्ताले छाए। पहिले नाटक गर्दाका जुटका बोरा भित्ताभरि टाँसे। भित्तामा जुटको बोरा टाँस्दा साउण्ड प्रुफको काम गर्दोरहेछ।
अभि सुवेदीले लेखेको ‘अग्नी कथा’ देखाएर उनीहरुले गुरुकुलको सुरुवात गरेका हुन्। आरोहणको स्कुल थियो, गुरुकुल।
निशाले त्यसबेला छात्रवृत्तिमा डेनमार्क पढ्न जाने मौका पाइन्। तर टिकट भने आफैंले काट्नुपथ्र्यो। बैंकमा राखेका गहना बेचेर उनी डेनमार्क पढ्न पुगिन्। डेनमार्कबाट नर्वे गएर पनि थियटर सम्बन्धी अध्ययन गरेर नेपाल फर्किन्।
गुरुकुलको लागि दुई वर्ष काठमाडौं महानगरपालिकाले भाडा तिरिदियो। दुई वर्षमा गुरुकुल आफैं पनि स्थापित भइसकेको थियो।
नाटक र कलाकार देशमा सीमित हुनुहुँदैन भन्ने सोचकै कारण सुनिल पोखरेलले हेनरिक इब्सेनको ‘पुतलीको घर’ शीर्षकमा ‘अ डल्स हाउस’ नाटक गर्ने सोच बनाए। नर्वेको नेसनल थियटरसँग पार्टनरसिपमा गुरुकुलले नाटक देखाउन जान पाउने भयो। जहाँ हरेक दुई वर्षको एक पटक इब्सेन फेस्टिबल आयोजना हुन्थ्यो।
डेनमार्कको आल्बोर्ग विश्वविद्यालय र आरोहण गुरुकुल थिएटरको सहकार्यमा त्यहाँको रङ्गमञ्चमा हेनरिक इब्सेनको ‘पुतलीको घर’ शीर्षकमा ‘अ डल्स हाउस मञ्चन भएको थियो। १३५ वर्ष पुरानो नाटकमा अभिनय गर्न पाउँदा निकै खुसी भएकी थिइन् निशा।
निशा शर्माले इब्सेनको नाटकमा नोराको भूमिकामा खेलेकी थिइन्। सरल र सहज किसिमले निशाले अभिनय गरेको देखेर त्यहाँका दर्शक चकित भएका थिए।
अभिनय गरेर फर्कंदा निशालाई इब्सेनका पनातिले भेट्न कुरिरहेका रहेछन्। निशाको अभिनयबाट प्रभावित उनका पनाति २० वर्षअघि नर्वेजियन एम्बेसीमा राजदूत रहेछन्। आफु राजदूत भएको देशबाट आफ्नो बाजेको नाटक देखाउन आएको थाहा पाएरै उनी दर्शकको रुपमा उपस्थित भएका रहेछन्।
विदेशमा कला र कलाकारको सम्मान गर्ने प्रवृत्ति देखेर निशा निकै प्रभावित भइन्। तर नेपालमा आफ्नो संस्कृतिलाई कसरी जगेर्ना गर्ने भन्ने चेत नभएकोप्रति भने चिन्ता व्यक्त गर्छिन् उनी।
असार ३, २०७८ बिहीबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।