निषेधाज्ञाका कारण समस्यामा परेका लोकदोहोरी कलाकारलाई राहत 

निषेधाज्ञाका कारण समस्यामा परेका लोकदोहोरी कलाकारलाई राहत 

काठमाडौँ : गत वैशाख दोस्रो साताबाट जारी निषेधाज्ञाका कारण समस्यामा परेका कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरण गरेको छ।

प्रतिष्ठानले निषेधाज्ञाका कारण समस्यामा परेका लोकदोहोरी कलाकारसहित ६ सय भन्दा धेरैलाई राहत वितरण गरेको जनाएको छ। 

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार प्रतिष्ठान र प्रतिष्ठान उपत्यका समन्वय समितिले ६ सय जनालाई १२ लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्री वितरण गरिएको छ। प्रतिष्ठानले राहत वितरण कार्यलाई निरन्तरता दिइरहेको बिजीले बताए। 

लोक तथा दोहोरीसँग आबद्ध गायक, वाद्यवाद्क एवं प्राविधिकहरू, प्रतिष्ठानसँग आबद्ध सदस्यहरू, होचा पुड्का कलाकार, दृष्टिविहीन कलाकार लगायतलाई पनि राहत वितरण गरिएको उनले बताए। संस्थामा आबद्ध भन्दा बाहिरका कलाकारलाई समेत राहत वितरण गरिएको अध्यक्ष बिजीले बताए । 

अध्यक्ष बिजीले कोरोना महामारीमा अहिले प्रतिष्ठानले एउटा नारा समेत राख्दै राहत वितरण थालेको जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले ‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नाराका साथ कलाकारलाई राहत वितरण सुरु गरेको हो। 

प्रतिष्ठानको ‘कोभिड १९ सहयोग समिति कोष’मा देश विदेशबाट लोकदोहोरी कलाकार, लोकदोहोरी प्रेमी एवं विदेश शाखाहरूबाट अहिलेसम्म झन्डै पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

‘यस वर्ष लोक तथा दोहोरी गीतलाई माया गर्ने तथा यससँग आबद्ध रहेका र विशेष गरी लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सल्लाकार पृथ्वी थकालीमार्फत पहिलो र दोस्रो दिनको राहतको व्यवस्था गर्नुभएको थियो,’अध्यक्ष बिजीले उकेरासँग भने,‘अन्य शुभचिन्तक तथा कलाकारहरूबाट आएको रकमबाट नै हामीले राहत वितरण गरेको र कोषमा रकम जम्मा हुने क्रम पनि जारी रहेको छ।’ 

 

असार २, २०७८ बुधबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।