मेलम्चीमा बाढीको बितण्डा, एक जनाको मृत्यु, सात बेपत्ता

मेलम्चीमा बाढीको बितण्डा, एक जनाको मृत्यु, सात बेपत्ता
तस्बिर : कुमार दुलाल

मेलम्ची : सिन्धुपाल्चोकको मेलम्चीमा नदीमा आएको भीषण बाढीले बितण्डा मच्चाएको छ। बाढीले बगाउँदा ७ जना बेपत्ता भएका छन्।

बाढीले बगाएका एक जना मृत अवस्थामा फेला परेका जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका मात्रै ६ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

इन्द्रावती गाउँपालिका- ७ मा मृत फेला परेका व्यक्तिको नाम खुल्न सकेको छैन। बाढीमा फसेका ४ जनालाई उद्धार गरेर उपचारका लागि ललितपुरको बिएण्डबी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

एमालेको मेलम्ची पार्टी कार्यालय भत्केर घाइते भएका एक जनालाई पनि उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले उकेरालाई जानकारी दिए।

बाढीका कारण हेलम्बु बजारमा पनि धनजनको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढीले मेलम्ची र इन्द्रावती जोड्ने पुक्की पल बगाएको छ। बाढीले वितण्डा मच्चाएको मेलम्चीमा सभामुख अग्नि सापकोटा र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ अवलोकनका लागि पुग्दैछन्।

असार २, २०७८ बुधबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।