लोक सेवाकाे पदपूर्ति विवरण सूचनामा व्यक्तिगत इमेल ठेगाना

काठमाडौँ : बुधबार गोरखापत्र राष्ट्रिय दैनिकमा लोक सेवा आयोगले एउटा विज्ञापन प्रकाशन गर्यो। गोरखापत्रको पेज ८ मा छापिएको विज्ञापन आयोगको केन्द्रीय कार्यालय, अनामनगरको परीक्षा सञ्चालन शाखा (सुरक्षा निकाय तथा सङ्गठित संस्था)को हो।
सूचना नम्बर २८२/०७७–७८ उल्लेखित विज्ञापनमा सङ्गठित संस्थाहरूलाई असार १५ भित्र पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउन भनिएको छ।
आयोग चैत ११ बाट पदाधिकारीविहीन भएसँगै आयोगका कामकारबाही प्रभावित छन्।
आयोगका अधिकारीका अनुसार आर्थिक वर्ष २०७८/७९ को नयाँ कार्यतालिका बनाउन आन्तरिक तयारी भइरहेको छ। यसैका लागि आयोगले विवरण माग गरेको हो।
विज्ञापनमा समयभित्र विवरण नपठाए कार्यतालिकामा विज्ञापन समावेश गर्न असहज हुने ब्यहोरा पनि सूचित गराइएको छ।
पदपूर्तिको विवरण gulmelinpg@gmail.com र rajusatyal@gmail.com मा पठाउन सकिने उल्लेख छ। आयोगले आफ्नो आधिकारिक साइटमा राखेको यसबारेको सूचनामा पनि यिनै इमेल ठेगाना उल्लेख छन्।
यी इमेल ठेगाना लोक सेवाको आधिकारिक नभएर व्यक्तिको जस्तो देखिएपछि त्यसको आधिकारिकताबारे आयोगसँग जिज्ञासा राखेँ।
यसबारे आयोगका प्रवक्ता तोयनारायण सुवेदीले ती इमेल ठेगाना आयोगको आधिकारिक इमेल ठेगाना नभएको पुष्टि गरे।
‘आधिकारिक होइन, व्यक्तिको हो,’ उनले उकेरासँग भने, ‘परीक्षा सञ्चालन शाखा (सुरक्षा निकाय तथा सङ्गठित संस्था)को प्रमुख र शाखा अधिकृतको व्यक्तिगत इमेल ठेगाना हो।’
सूचनामा संस्थागत इमेल ठेगाना प्रयोग गर्न सकिन्थ्यो होला नि त ?
‘उनीहरूको इमेल राख्यो भने विवरण आउने बित्तिकै हेर्न सजिलो हुन्छ। र, सेड्युल मिलाउन पनि। कानुनी कुराभन्दा पनि अहिलेको इमर्जेन्सीमा फास्ट ट्र्याकमा काम गर्नलाई त्यो गर्न खोजिएको हो,’ उनले जवाफ दिए।
आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सङ्गठित संस्थाको सम्बन्धमा परीक्षाको कार्यतालिकामा समावेश गरेर लिखित परीक्षा सञ्चालन र नतिजा प्रशासनको काम मात्र गर्ने गर्छ।
दरखास्त आह्वानदेखि प्रवेश पत्र जारी गर्नेसम्मका प्रशासनिक काम र लिखित परीक्षाको नतिजापछिका काम सम्बन्धित संस्थाले नै गर्ने गर्छन्।
‘सङ्कट देखाउँदैमा वैध भन्न मिल्दैन’
पूर्व प्रशासकहरू सङ्कटलाई देखाएर व्यक्तिगत इमेल ठेगाना प्रयोग गर्न नमिल्ने बताउँछन्। उनीहरू संस्थागत काममा व्यक्तिगत इमेल ठेगानालाई आधिकारिक मान्न नसकिने बताउँछन्।
व्यक्तिगत इमेल संस्थासँग सम्बन्धित नहुने भएकाले यसलाई वैध मान्न नसकिने र यसबाट निष्पक्षतामाथि प्रश्न उठ्ने उनीहरूको भनाइ छ।
आयोगका पूर्वअध्यक्ष उमेश मैनाली भौतिक उपस्थितिमा काम हुन नसकेको अवस्थामा संस्थागत इमेल ठेगाना मात्रै प्रयोग गर्न सकिने बताउँछन्। ‘संस्थाकै इमेल ठेगाना हुन्छ। त्यसलाई मात्र प्रयोग गर्नुपर्छ। त्यो पनि कामसँग सम्बन्धित,’ उनी भन्छन्, ‘त्यसको गोपनीयता कायम गर्ने जिम्मा त जिम्मेवारीमा रहेकाले नै मेन्टेन गर्नुपर्छ।’
सार्वजनिक सूचनामा व्यक्तिगत इमेल ठेगाना प्रयोग गर्न नमिल्ने जानकारहरू बताउँछन्। पूर्वसचिव तथा प्रशासनविद् शारदाप्रसाद त्रिताल सार्वजनिक प्रयोजनमा व्यक्तिगत इमेल प्रयोग गर्न नपाइने बताउँछन्।
‘अहँ मिल्दैन। त्यो त गलत हो। सार्वजनिक कामका लागि व्यक्तिलाई विवरण पठाउने भन्ने हुँदैन। सम्बन्धित व्यक्तिको नाममा संस्थाको इमेल हुन्छ, त्यसलाई भने प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘कुनै आयोजनाको रकम व्यक्तिगत खातामा राखेमा त्यसलाई नियम विपरीत मानिन्छ। सार्वजनिक रूपमा निकालिएको सूचना व्यक्तिगत इमेलमा पठाउँदा पनि यही नियम लागू हुन्छ।’
जेठ २९, २०७८ शनिबार ०७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।