संसदभित्र दुई वटा एमाले हुनु हुँदैन : कँडेल

संसदभित्र दुई वटा एमाले हुनु हुँदैन : कँडेल

सुर्खेत : नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदभित्र दुई वटा एमाले हुन नहुने बताएका छन्।

उनले शुक्रबारको संसद बैठकमा बोल्दै कर्णालीको संसदीय दलमा संरचना बदलिएको बताए।

‘अदालतले गरेको निर्णयको हामीले सम्मान गर्नुपर्छ, तर संसदभित्र दुई वटा एमाले हुनु हुँदैन,’ पुनर्बहाली भएका एमाले सांसदलाई इंगित गर्दै उनले भने, ‘दलीय व्यवस्थामा कुनै पार्टीबाट निर्वाचित भएको सांसद मन लागेको ठाउँमा बस्ने, मन लागेको ठाउँमा काम गर्न पाउने व्यवस्था छैन।’

नेता कँडेलले अदालतले पुनर्बहाली भएका आफ्ना सांसदहरूलाई सरकारबाट फिर्ता बोलाउने संकेतसमेत गरेका छन्।

सर्वोच्च अदालतले पुनर्बहाली गरेका कर्णालीका सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापामध्ये शाही, बुढा र थापा मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारमा मन्त्री छन्। 

गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई ती चारै जना सांसद्ले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए। त्यसपछि एमाले प्रदेश संसदीय दलको सिफारिसमा एमाले  महाधिवेशन आयोजक कमिटीले उनीहरुलाई सांसद र पार्टीबाट निष्कासन गरेको थियो।

त्यसपछि मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुखले तीन जनालाई मन्त्री नियुक्त गरेका थिए। 

जेठ २८, २०७८ शुक्रबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।