सर्वाेच्चको पुनर्बहाली आदेशपछि कर्णालीका प्रदेश सांसदको प्रतिक्रिया– अदालतले न्याय दियो
सुर्खेत : कर्णाली प्रदेशमा पार्टीको कारबाहीमा परी पद गुमाएका नेकपा एमालेका प्रदेश सांसदहरूले सर्वाेच्च अदालतबाट पुनर्बहालीको आदेश आएपछि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएका छन्।
उकेरा डट कमसँगको कुराकानीमा सांसद प्रकाश ज्वाला र नन्दसिंह बुढाले यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रदेशसभा सदस्य ज्वालाले सर्वाेच्चले सत्यको पक्षमा निर्णय गरेको बताए। ‘सही मार्ग हिँडेकै कारण सत्यको विजय भएको छ। सम्मानित अदालतले पनि सत्यको पक्षमा आदेश गरेको छ,’ ज्वालाले भने।
स्थिर सरकार, प्रदेशको विकास र जनताको हितका पक्षमा उभिएको बेला पार्टीले आफूहरूलाई अन्याय गरेको उनको भनाइ छ।
पुनर्बहाली भएका अर्का सांसद नन्दसिंह बुढाले जनताको पक्षमा निर्णय गर्दागर्दै पनि सांसद पदबाट हटाइएको भए पनि अदालतले न्याय दिएको प्रतिक्रिया दिए। बुढा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत हुन्।
‘जनताको पक्षमा काम गर्नका लागि हामीले सही निर्णय गरेका थियौं, जसको प्रमाण अहिले अदालतले दिएको आदेश हो,’ मन्त्री बुढाले भने, ‘सांसद पदबाट नै हटाउनुपर्ने त्यस्तो के गल्ती गरेका थियौं र ? अहिले अदालतले न्याय दिँदा खुसी छौं।’
पार्टी निर्णयविपरीत गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले माधवकुमार नेपाल समूहका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि उनीहरू पदमुक्त भएका थिए।
त्यसपछि उनीहरूले आफूहरूलाई पुनर्बहालीको माग गर्दै सर्वाेच्चमा रिट दिएका थिए। सर्वाेच्चले गत बिहीबार उनीहरूलाई पुनर्बहाली गर्ने आदेश दिएको थियो।
जेठ २८, २०७८ शुक्रबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।