प्रदेश १ मा लकडाउन खुकुलो हुँदै , महामारीको जोखिम कायमै
इटहरी : प्रदेश १ का महत्त्वपूर्ण सहरहरूमा लकडाउन खुकुलो भएसँगै चहलपहल बढ्न थालेको छ। प्रदेश राजधानी रहेको विराटनगरमा सामान्य अवस्थामा जस्तै भिडभाड सुरु भएको छ। कोरोना महामारीको हटस्पटको रूपमा रहेको विराटनगरमा सङ्क्रमण दर केही कम भएसँगै चहलपहल बाक्लिन थालेको हो।
त्यस्तै इटहरी धरान लगायत सहरहरूमा पनि भिडभाड र जमघट बाक्लिन थालेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउन खुकुलो गर्ने निर्णय गरेसँगै स्थानीय घरबाहिर निस्कन थालेका हुन्। प्रशासनले सर्वसाधारणलाई कठिनाइ परेको भन्दै लकडाउन खुकुलो पारिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधवार आदेश जारी गर्दै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खाद्यान्न पसल खोल्न दिइने जानकारी दिएका थिए। यो समयमा डिपार्टमेन्ट स्टोरका ग्रोसरी समेत खोल्न मिल्ने भएको छ। पसलमा भिडभाड हुन नदिन सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा घर घरमा होम डेलिभरी गर्ने भनीएपनि त्यसको अनुगमन भएको छैन।
जिल्ला प्रशासन कार्यालय मोरङले पसल खोल्दा स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्नुपर्ने भन्दै लकडाउन खुकुलो बनाएको छ। दूध डेरी तथा माछा मासु पसल पनि स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजेसम्म खोल्न पाउने निर्णय भएको छ। फलफूल तथा तरकारी सङ्कलन तथा ढुवानी निर्वाधरुपमा गर्न पाइने भएपछि सामान्य अवस्थामा जस्तै चाप बढ्दै गएको छ।
उता झापा प्रशासनले भने अझैसम्म लकडाउन खुकुलो पार्ने बारे कुनै निर्णय गरेको छैन। तराईका जिल्लामा मात्र हैन पहाडी जिल्लाका गाउँमा समेत सङ्क्रमण पुगिसकेकोले नियन्त्रणमा समस्या हुँदै आएको छ।
बिहीबार मात्र प्रदेश १ भरीमा १ हजार ४४२ जना सङ्क्रमणमुक्त भएको अवस्थामा ५७३ जना नयाँ सङ्क्रमित भेटिएका छन्। सबैभन्दा बढी सुनसरीमा १६८ जनामा सङ्क्रमित पुष्टि भएको छ। त्यस्तै मोरङमा १४४, झापामा १२५, उदयपुरमा ५५ र सङ्खुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, ते¥हथुम र भोजपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो समय सङ्क्रमण दर घट्ने र सङ्क्रमण मुक्त हुनेको सङ्ख्या बढ्दै जाँदा जिल्लाका नाकाहरूमा आवतजावत खुकुलो गरिएको छ। प्रदेश १ जनस्वास्थ्य निर्देशनालयका प्रमुख सागर प्रसाईँका अनुसार समुदायमा कोरोना सङ्क्रमणको चेन ब्रेक भइसकेको अवस्था देखा परेको छ। तर अझै पनि स्वास्थ्य सावधानी अपनाउन सकिएन भने पुनः जोखिमको सम्भावना रहने उनले बताए। अब पुर्णरुपमा स्वास्थ्य सावधानी अपनाएर स्थिति सामान्य बनाउन सकिने उनको तर्क छ।
उता कोसी अस्पतालका प्रमुख डाक्टर चुमनलाल दास सङ्क्रमण अझै समुदाय स्तरमै रहेकोले लकडाउन खोल्न हतार गर्न नहुने बताउँछन्। एक हिसाबले चेन ब्रेक भएको भए पनि पुर्णरुपमा निर्मूल भई नसकेको उनको भनाई छ। स्थिति सामान्य बनाउनुपर्ने बाध्यता भए पनि सुरक्षा सावधानी पुर्णरुपमा पालना गर्नै पर्ने देखिएको उनले बताए। लकडाउन खुलेपछि जोखिम झनै बढ्ने भन्दै डाक्टर दासले सरकारको लागि मात्र नभएर आफ्नो लागी सुरक्षित भएर जीवनयापन गर्न आग्रह गरे।
जेठ २८, २०७८ शुक्रबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।