जो पाकिस्तान बोर्डरमा खटिएका भारतीय सैनिकलाई बम पुर्याउँथे
मध्यमवर्गीय परिवारका शेर्पाको घरमा खान-लाउनको दुःख थिएन। तर गाउँघरमा हुने लाहुरेको तारिफ र सुखसयलको कुराले उनलाई निकै रोमाञ्चित बनाउँथ्यो।
सन् १९९९ मा शेर्पा आफ्नो सपना पूरा गर्न लाहुर हिँडे। उनी सैनिक पोसाकधारी लाहुरे त भएनन् तर लाहुरे भने बने।
‘गाँउमा हुँदा लाहुरेको चर्चा खुब हुन्थ्यो। मलाई पनि लाहुरे हुन पाए भन्ने मनमा थियो। तर के-कसो केही थाहा थिएन। विदेश गएर धन कमाउनेलाई लाहुरे भन्थे गाँउघरमा,’ उनी भन्छन्, ‘१९९९ मा म पनि लाहुरे बन्न भारत हानिएँ।’
घर-परिवारलाई छाडेर सपनाको पछि लागेका शेर्पा हिमाञ्चल प्रदेशको एक हाइड्रोपावर कम्पनीमा कुल्ली बन्न पुगे। गाउँको कामभन्दा लाहुरे भएर गरेको कुल्लीकाममा जमे उनी।
‘गाउँमा बाह्रै महिना दुःख गर्दा पनि पैसाको मुख देख्न नपाइने,’ उनी भन्छन्, ‘लाहुरे भएर कुल्ली काम नै गरे पनि पैसा हातमा पर्ने, काम पनि फिक्स टाइमको हुने। नयाँ ठाउँ देख्न पाइने।’
शेर्पाले हिमाञ्चल प्रदेशमा ६ महिना बिताए। तर मन रमाए पनि परिवारको यादले शेर्पा गाउँ फर्किए। गाउँमै बस्न थालेका उनलाई तर पैसा खेलाउने बानी बसिसकेकोले घर बसेर हुँदैन भन्ने लाग्न थाल्यो।
‘सन् २००० को अन्तिमतिर म दिल्ली गएँ,’ उनी भन्छन्, ‘दिल्ली जानेवित्तिकै त्यहाँको सडक विभागमा काम पाएँ।’
भारतको सडक विभागमा धेरै संख्यामा नेपाली कामदार कार्यरत छन्। शेर्पालाई पनि नेपाली हुनुको फाइदा मिल्यो। तर उनी त्यस काममा धेरै रमाउन सकेनन्।
‘तीन महिना सडक विभागमा काम गरें। तर सकडको काममा खासै रमाउन सकिनँ,’ उनले भने, ‘पैसाको लागि काम गर्न गएको तर दिनमा १३० आइसी मात्र हुन्थ्यो।’
शेर्पालाई आफ्नो कमाइमा सन्तुष्टि थिएन। गाउँमा भएकी श्रीमती र तीन छोरालाई उचित लालन-पालन गर्न उनी गतिलो जागिरको खोजीमा थिए। तर के गर्ने? हातमा सिप थिएन।
शेर्पाले दिमाग लगाए। उनका गाउँका केही चिने-जानेका मानिस भारतीय सैनिकका भरिया थिए। उनले तिनैलाई जागिर मिलाइदिन अनुरोध गरे। त्यसपछि उनी भारतीय सैनिकको भारिया बने।
‘१९९९ मा पाकिस्तान र भारतको लडार्इं भएको रहेछ। काम पाइयो भनेर मख्ख परेर लद्दाख गइयो,’ उनी भन्छन्, ‘खान, बस्न सबै दिएर ९ हजार आइसी चोखो तलब। काम त गजबको पाइयो तर सोचेकोभन्दा धेरै खतरनाक।’
शेर्पालाई केही समय निकै हम्मेहम्मे पर्यो काम गर्न। लद्दाख सिटीबाट कोट मास्टरले २० किलो वजनको रासन र हातहतियारको पोको शेर्पा जस्ता बलिया भरियालाई थमाउँथ्यो। उनीहरु त्यो भारी बेकेर इन्डिया-पाकिस्तान बोर्डरमा खटिएका भारतीय सैनिकसम्म पुर्याउँथे।
‘राति-राति हिँड्नुपर्ने। सबै काममा पोख्त थिए। म नयाँ, भेउ नै नपाउने। जताततै हिउँ नै हिउँ। कतै त दुई बाँस गहिरो खाडल हुने,’ उनले सुनाए, ‘जोखिमको काममा भारतीयलाई नेपाली नभई नहुने। बोक्यो, कुद्यो। धेरै साथीले हिउँमा पुरिएर ज्यान गुमाए।’
आफू त परिवार भएको मान्छे। केही तल-माथि पर्यो भने परिवारको बिचल्ली हुन्छ। शेर्पाको मनमा सधैं यही कुराको डर थियो। ‘मेरो पुरिने पालो कुन दिन हो,’ उनी चिन्तित हुन्थे। बालबच्चा र परिवारलाई सम्झिँन्थे।
शेर्पाले लद्दाखको आरएल पोस्ट, चोर बादसाह, चउन्न पइसट्ठी, भेष, घनचोक, पाँचहाजार, सिबिएस पोस्ट लगायतका बोर्डरमा खटिएका भारतीय सैनिकको लागि रासन बेके। बम बेके।
‘अलिकति आवाज आयो, झल्याक-झुलुक बत्ति बल्यो भने पाकिस्तानतिरबाट गोली चलिहाल्थ्यो। हिउँ नै हिउँ छ कता लुक्नु। ज्यान जोगाउन धौधौ हुने। फेरि कतै त पूरै झुन्डिएर जानुपर्ने,’ उनी भन्छन्, ‘तर पनि परिवारको अनुहार सम्झियो। पैसा सम्झियो। अनि भारी बोक्यो, सकिनसकी हिँड्यो।’
शेर्पाले भारी बोकेर लामो समय हिँड्न सकेनन्। कारण उही परिवारको माया। ९ महिनासम्म रासन र हातहतियार बोके। ज्यानको जोखिम बढ्दै गएको जस्तो लाग्न थाल्यो। त्यसपछि त्यो काम छोडिदिए।
‘गोला-बारुद बोकेर हिँड्नुपर्ने। फ्याट्ट पड्कियो भने के गर्नु? विदेशमा त मर्न भएन। रासन बोक्दा त मजै हुन्थ्यो। २० किलोको रासन सैनिकसम्म पुग्दा १० किलोको हुन्थ्यो। खान मिल्ने भए खायो। खान नमिल्ने भयो भने पोख्यो। मट्टितेल, तेल, चामल त कति पोखियो पोखियो। फलफूल, खाइहाल्न मिल्ने चिज खाइहाल्ने,’ उनी सम्झन्छन्, ‘रमाइलो पनि हुने, तर के गर्नु परिवारको मात्र झझल्को आउने। पैसा नहुँदा भइदिए जस्तो, भएपछि जसको लागि कमाउन गएको उनीहरुसँग आफू नहुने हो कि भन्ने डर हुने। बरु अरु केही काम गर्छु भन्ने लाग्यो। जागिर छाडें।’
शेर्पालाई आफ्नै जीवनको २० वर्षअघिको सम्झना कथा जस्तै लाग्दो रहेछ।
‘त्यतिबेला बम बोकेर हिँडियो। अहिले सम्झँदा कथा जस्तो लाग्छ,’ उनी भन्छन्, ‘भारतीय सेनाको भरिया नै भइराखेको भए आर्थिक क्रान्ति चाहिँ मजैले गर्थें होला। यसरी कुल्ली भएर हिँड्न पर्दैनथ्यो कि?,’ फुर्सदको बेलामा उनी सोच्छन्।
शेर्पाले भरियाको जागिर छाडेपछि नेपाल फर्किने सोच त बनाए तर फर्किएनन्। उनी लद्दाख सिटीमा कुल्ली काम गर्न थाले। लद्दाखका कयौं सडक-पेटीमा वाल लगाउने ज्यामी भए। २ सयभन्दा बढी घर बनाए। स-साना भौतिक संरचना त कति बनाए, केही हेक्का नै छैन।
‘भरियाको काम छाडेपछि म कुल्ली बनें। दुई वर्ष त ढुंगा-माटो बोकेर बिताएँ,’ उनी सम्झन्छन्, ‘त्यसपछि मिस्त्री भएँ। अलि कमाइ पनि बढ्न थाल्यो। परिवारलाई लद्दाख नै लिएर गएँ।’
शेर्पाका तीनै जना छोराले उच्च शिक्षासम्म लद्दाखमा नै पढे। उनी ज्यामीकै काममा रमाए। विगत दुई वर्षदेखि भने शेर्पा नेपालमा छन्। उनको परिवार काठमाडौंको थलीमा कोठा लिएर बसेको छ।
‘४७ वर्षको भएँ। जवानीमा परदेशिएको। अलिकति पसिना देशमै पनि चुहाउन भनेर आएँ,’ उनी भन्छन्, ‘लद्दाख हुँदाँ कामको समस्या नै थिएन। यता आएपछि काम नै नपाइने। पाए पनि पैसा नहुने।’
नेपालमा कामको पहिले जस्तै समस्या आज पनि छ जस्तो लाग्छ शेर्पालाई।
काठमाडौंको चन्द्रागिरिमा वाल लगाउने काम सकेर आइतबार मात्र पासाङ ल्हामु सडक खण्डको डिल उकास्न गोलढुंगा आइपुगेका उनी यतिबेला नागार्जुन जंगलको पिंधमा बसेर सहरलाई हेर्दै सोचिरहेछन्, ‘कमाई चित्तबुझ्दो छैन। कोरोना शान्त भएपछि परिवारलाई यतै (नेपाल) राखेर केही वर्ष एक्लै उतै (लद्दाख) नै फर्कने कि?’
जेठ २४, २०७८ सोमबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।