बादी समुदायले मागे यौन पेसाको लाइसेन्स, मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र
प्रदेश सभा सदस्य उमा बादीले बादी समुदायका नागरिकको नेतृत्वमा उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका हुन्। उनीहरूले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरे।
‘सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौन शोषणमुक्त र पुनः स्थापनाको घोषणा गरेको थियो,प्रदेश सभा सदस्य बादीले भनिन्,‘बादी समुदायका महिलाले २०६४ भदौ १ देखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोका अगाडि अर्धनग्न जुलुस निकालेर सङ्घर्ष गरेपछि २०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले यौन शोषण मुक्त गर्ने र पुनः स्थापना गर्ने घोषणा गरेको थियो। तर अहिलेसम्म निर्णय कार्यान्वयन भएको छैन।’
सरकारसँगको सहमति कार्यान्वयनमा नआउँदा कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य छन्। बादी समुदायको गाँस, बास र कपासको व्यवस्था गर्ने सरकारी निर्णय कार्यान्वयनमा नआएको शिवराज राना बादीले बताए। ‘माग सुनुवाइको लागी पटक–पटक अनुरोध गर्दा पनि समस्या ज्युँका त्यू छन्,उनले भने,‘सरकारले बादी समुदायका महिलालाई स्वस्फुर्त यौन पेसाका लागि स्वीकृति दिनुपर्छ।’
‘सरकारलाई राजश्व तिर्न तयार छौ । यौन पेसाको विकल्प नभए लाइसेन्स दिएरै स्वीकृति दिनुपर्छ,’डोटीबाट मुख्यमन्त्री कार्यालय पुगेकी बसन्ती बादीले भनिन्,‘हाम्रा लागी सरकार छैन।’
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले सहमति कार्यान्वयन र माग पुरा गर्नका लागी सक्दो पहल गर्ने आश्वासन दिए।
जेठ २४, २०७८ सोमबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।