काँग्रेस संसदीय दलले बनायो सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि आचारसंहिता
सुर्खेत : नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले सुर्खेतका यज्ञ बहादुर बिसी र जुम्लाका दीन बन्धु श्रेष्ठलाई सामाजिक विकास मन्त्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सिफारिस गर्दै १३ बुँदे आचारसंहिता जारी गरेको हो । आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वाभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख गरिएको संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी नबन्न र नागरिकहरूप्रति समान व्यवहार गर्नुपर्ने छ ।
‘कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू सम्बोधन गर्न, सुखी, समृद्ध र सम्मुनत कर्णाली निर्माणका लागि १३ बुँदे आचारसंहितासहित मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा जाने निर्णय भएको हो,’ संसदीय दलका नेता शाहीले भने, ‘दुई नाम नियुक्तिका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाई सकिएको छ । भोलि ( आइतबार) शपथ खुवाउने छ ।’
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा वैशाख ३ गते काँग्रेसले पनि साथ दिएको थियो । त्यस क्रममा नेकपा एमालेको माधव नेपाल समूहका चार जना सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाएका थिए ।
फ्लोर क्रस गरेको तीनजालाई मुख्यमन्त्री शाहीले आफ्नो सरकारमा मन्त्री बनाई सकेका छन् ।
जेठ २२, २०७८ शनिबार २२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।