अभिनेता पुष्पको इख : जसले उनलाई झुलायो तीनलाई बिर्सिएका छैनन् अझै
उनलाई सबैभन्दा बढी लोकप्रिय बनाएको गीत गायक शिव परियारको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ हो।
यो गीतले उनलाई दर्शकमाझ चिनायो। तुलसी घिमिरेको चलचित्र ‘दर्पण छाया २’मा अभिनय गर्ने मौका पाएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन। यो बिचमा मंगलम्, दालभात तरकारी, कृष्ण लीला, मनसँग मन लगायत चलचित्रमा अभिनय गरिसकेका छन् उनले। म्युजिक भिडियोको अभिनय यात्रा जारी नै छ।
उनै पुष्पको कला यात्रा उनकै शब्दमा :
OOO
मेरो बाल्यकाल भारतमा बित्यो। मेरो स–परिवार मुम्बईमा बस्थ्यौँ। भारतमा बस्दा सलमान खान, साहरुख खान, अक्षय कुमारका फिल्महरू धेरै हेरियो।
उनीहरूको चलचित्र हेर्दा मलाई पनि हिरो बन्न पाए त भन्ने लागेको थियो। सानो उमेरमा प्राय धेरैलाई त्यस्तो लाग्छ नै। फिल्म हेर्यो हिरो हुन मन लाग्छ। डक्टर देख्यो डक्टर हुन मन लाग्छ।
१४,१५ वर्षको उमेरमा म नेपाल आए। नेपाल आइसकेपछि त यहाँ टिभी पनि थिएन। चलचित्र हेर्ने त कुरै भएन।
भारत बसाइमा मैले केही ठाउँमा डान्स सिक्ने मौका पनि पाएको थिए। शाहरुख खान ,अक्षय कुमारको डान्स देखेर मैले घरमा जिद्दी गरेपछि बुबाले डान्स क्लासमा लगेर भर्ना गरिदिनुभएको थियो। केही महिना भए पनि सिक्ने मौका पाए।
डान्स सिक्दा सिक्दै नेपाल आउनुपर्ने भयो
कैलाली मेरो घर हो। गाउँकै स्कुलबाट एसएलसी दिए । सानैबाट पढाइमा राम्रो नै थिए। एसएलसी राम्रै नम्बरमा पास गरेपछि प्लस टु पढ्न महेन्द्रनगर कञ्चनपुर गए।
हिरो बन्ने चाहना मरिसकेको थिएन। झन् बढ्दै थियो। कञ्चनपुरकै एउटा डान्स सेन्टरमा डान्स सिक्न थाले। डान्समा एकदमै प्यासन नै थियो। कलेज पढ्दै, डान्स गर्दागर्दै मेरो प्लस टु पनि सकियो। प्लस टु फस्ट डिभिजनमा पास गरे।
प्लस टु सकिएपछि पढ्ने कि अभिनयतिर लाग्ने भन्ने भयो। घरमा भन्यो भने अनुमति पाउने सम्भावना थिएन। उनीहरूका नगरमा यो पेसा हैन रहर थियो।
तर, मलाई जसरी भए पनि हिरो बन्नु थियो। तर, हिरो बन्न बाटो के हो, कहाँ कसलाई भेट्नुपर्छ थाहा छैन। अर्को कुरा हिरो बन्न के सिक्नुपर्छ भन्ने पनि थाहा छैन। तर, जसरी भए पनि हिरो बन्नपर्छ भन्ने चैँ थियो।
प्लस टु सकेपछि हिम्मत गरेर घरमा भने। ममीले चलचित्र क्षेत्रमा आउने कुरै सुन्नुभएन। उहाँले पढाई राम्रो छ । पढाइमा ध्यान दे भन्नुभयो। तर मेरो जिद्धीे अगाडी ममीको केही लागेन। ममीले बुवालाई छोरोले चलचित्र क्षेत्रमा लाग्छु भन्दै छ भनेर सुनाउनुभयो । बुवाले त झन् गाली गर्नुभयो।
बुवाले सम्झाउँदै यो क्षेत्र हाम्रो लागि होइन। यो पैसा हुनेहरूका लागि मात्र हो। यो क्षेत्र भनेको एकदम विलासी जीवन हुन्छ भन्नुभयो।
तर, मेरो जिद्दीको अगाडी बुवाको पनि केही लागेन । बुवाले मलाई भारतमै बोलाउनुभयो। मुम्बई गए। त्यहाँ मेरो फुपू पनि बस्नुहुन्थ्यो। बुवाले फु पुलाई केटोले के भन्दै छ एक पटक बुझ भन्नुभएको रहेछ।
मुम्बई बस्न थालेपछि अभिनयमा लाग्ने हो भने अभिनय सिक्नुपर्छ भन्ने थाहा भयो। डान्स सिक्नुपर्यो, फाइट सिक्नुपर्यो भन्ने भयो। यताउता प्रशिक्षण लिन थाले।
तै पनि बुवाले बिचबिचमा नजा, हात हाल्दै नहाल भन्नुभयो। तर म नेपाल आए। नेपाल आइसकेपछि मेरो पढाइमा ढिला भयो। ब्याचलर्स भर्ना हुन पाइन।
अनि अब काठमाडौँमै पढ्छु तर राम्रो विषय लिएर पढ्छु भन्ने भयो। काठमाडौँ आएपछि पुतलीसडकको कान्तिपुर सिटी कलेजमा भर्ना सकिएको रैनछ। त्यहाँ बिसिएमा भर्ना भए।
म नयाँ बानेश्वरमा बस्न थाले। बिहान कलेज जान्थे नेपाल यातायात चढेर। फर्किदा हिँड्दै आउँथे। हिँड्दा बाटोमा डान्स गरेको म्युजिकहरू बज्थ्यो।
मेरो अङ्कल हुनुहुन्छ नरेन खड्का। उहाँलाई मलाई डान्स सिक्न मन लागेको छ भने। उहाँले खोजिदिनुभयो। दुई महिना डान्स सिकेपछि आफैले सिकाउन थाले।
मेरो डान्स राम्रो हुँदै गयो। तर पढाई बिस्तारै खस्कँदै गयो। पढा२ बिग्रिए त बरबाद हुन्छ भनेर पढाइमा ध्यान दिए। पहिलो सेमेस्टरमा फस्ट डिभिजन आयो। सेकेन्ड सेमेस्टरबाट चाही पढाई बिग्रिन थाल्यो।
त्यो बेला बिहान ६ देखि ७ बजेसम्म डान्स सिकाउँथेँ। कलेज ठ्याक्कै ७ बजेदेखि थियो। हतार हतार कलेज दौडनुपर्थ्यो। सधैँ झन्डै आधा घण्टा जस्तो लेट भइहाल्ने।
लेट भएपछि भित्र छिर्न पाइन्नथ्यो। पहिलो घण्टीको पढाई मेरो जहिले पनि छुट्थ्यो। सेकेन्ड सेमेस्टरमा त एक विषयमा ब्याक लाग्यो। मेरो पढाइको ग्राफ घट्दै गयो । तर डान्सको ग्राफ बढ्दै गयो।
बल्ल तल्ल तीन वर्षमा सेकेन्ड सेमेस्टरमा लागेको ब्याक कटाए। तीन वर्षको पढाई मैले चार वर्षमा सकाए। डान्स गर्दै जाँदा चलचित्र बारे पनि जान्दै गए।
चलचित्र क्षेत्रमा कोही पनि छैनन्
चलचित्र क्षेत्रमा आफन्त कोही छैनन्। सुटिङ कस्तो हुन्छ देख्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। ब्याचलर्स सकिएपछि अव चाही चलचित्रमा काम गर्छु भनेर खोजीमा लागे।
अभिनय सिक्नुपर्यो भनेर नरेन अङ्कललाई नै भने। उहाँले अनुप बरालको एक्सन स्टुडियो देखाइदिनुभयो। बराल सरको एक्टर्स स्टुडियोमा अभिनय सिक्न भर्ना भए। तीन महिनाको अभिनय कोर्स पुरा भएपछि अव चाही चलचित्र या म्युजिक भिडियोमा अभिनय गर्ने चाहना बढेर आयो।
टेलिभिजनमा त्यो समय निकै म्युजिक भिडियोहरू आएको देख्दा आफू पनि नाच्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। टेलिभिजनमा आएका डान्स तथा अभिनयहरू हेर्थे। त्यति त गर्न सकिहालिन्छ भन्ने भयो। तर अवसर कतै थिएन।
पहिलोपल्ट विज्ञापनमा अनुहार देखाए
अवसरको खोजीमा भौँतारिरहेका बेला रेडबुलको विज्ञापनमा अभिनय गर्ने मौका पाए। यो मेरो पहिलो क्यामेरा फेस थियो। यो विज्ञापन खेल्दा पारिश्रमिक नै दश हजार पाएको थिए।
यो अवसर चाही मलाई आयुसी शाह दिदीले दिनुभएको थियो। यो रेडबुलको विज्ञापन खुब बज्यो त्यो समयमा। असाध्यै खुसी भए। टिभीमा बज्ने समय भयो है भनेपछि जहाँ भए पनि म कुदेर आफ्नो अनुहार टिभीमा हेर्न आइपुग्थेँ।
म्युजिक भिडियोमा कसैले पत्याएनन्
अव म्युजिक भिडियो खेल्नु पर्यो भनेर धेरै निर्देशकसँग कुराकानी गरे। विज्ञापनमा खिचेको फोटोहरू बाँड्दै हिँडे। तर कसैले पत्याएन।
म्युजिक भिडियोमा चलेका निर्देशकहरुले मलाई काम दिनुभएन। काम खोज्ने सिलसिला डेढ वर्षसम्म चलिनै रह्यो। टेलिभिजनका बजेका म्युजिक भिडियोमा निर्देशकहरुको नाम पढ्दै जाँदा आलोक नेम्वाङको नाम पनि भेटे।
उहाँको फोन नम्बर पत्ता लगाएर फोन गरेर भेट्न गए। त्यहाँ जाँदा मैले अरूलाई जस्तै उहाँलाई पनि बायोडाटा बुझाए। मैले अभिनय सिकेको छु, जे जे सिकेको थिए ती सबै दिए। विज्ञापन खेलेको फोटो पनि दिए।
उहाँले पनि अरू निर्देशकले जस्तै आश्वासन मात्र दिनुभयो। उहाँलाई भेट्न जाँदा गायक हेमन्त शर्मा पनि हुनुहुन्थ्यो। मलाई त्यहाँबाट पनि म्युजिक भिडियो खेल्न बोलाउनुहोला भन्ने लागेको थिएन।
३ दिन पछि आलोक सरको फोन आयो। भेट्न बोलाउनुभयो । हेमन्त दाइले पनि फोन गरेर भेट्न बोलाउनुभयो ।
शर्माको ‘के माया गर्नुहुन्न र ’बोलको गीत सुनाउनुभयो। यो गीतमा अभिनय गरेको पारिश्रमिक चाही अलिक थोरै छ। हामीसँग धेरै पैसा छैन तीन हजार दिन्छु भन्नुभयो। म यसै पनि आलोक सरको म्युजिक भिडियोमा खेल्न इच्छुक। अझ पैसा पाएपछि मलाई के चाहियो। मैले हुन्छ भने। त्यो म्युजिक भिडियो पनि टेलिभिजनमा खुब बज्यो। चर्चा हुन थाल्यो।
त्यसपछि आलोक सरले २–३ वटा म्युजिक भिडियोमा अभिनय गराउनुभयो। यसले मलाई चिनाइरहेकै थियो। उहाँको अन्तिम समयसम्म मैले १२ वटा जति म्युजिक भिडियोमा अभिनय गरिसकेको थिए उहाँकै निर्देशनमा।
तर यो बिचमा मैले अरू पनि म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाए। त्यसपछि गायक थानेश्वर गौतमको ‘आँखामा गाजल लगाइन छौ’ गीतको म्युजिक भिडियोमा अभिनय गरे। यो गीत रेडियो तथा टेलिभिजनमा निकै राम्रो बजेको थियो। मेरो अभिनयको प्रतिक्रिया पनि राम्रो आयो।
तिमीले राम्रो गर्दा रहेछौ भन्न थाले।
यो गीत हिट भएपछि मलाई आलोक नेम्वाङ सरले चलचित्र ‘अझैँ पनि ’ मा अभिनयको लागि कुरा गर्नुभयो । पुष्प यो चलचित्रमा सानो क्यारेक्टर छ, गर न भन्नुभयो।
मैले सर चलचित्र नगर्ने मुड होइन। गर्ने हो तर हिरो नै बनेर खेल्छु भने। उहाँले होइन सानो क्यारेक्टर गर्दै बिस्तारै हिरो भइहाल्छौँ नि भन्नुभयो। साइड क्यारेक्टरमा खेल्न अनकनाए।
आलोक सरले मलाई सम्झाउँदै भन्नु भयो,‘ बन्न चाही हिरो नै बन तर, सानो रोल गरेर भए पनि अनुभव चाही लिइ राख भन्नुभयो। मैले हुन्छ भनेर सपोर्टिङ क्यारेक्टरमा अभिनय गरे।
फिल्म रिलिज पनि भयो। उहाँ बित्नुभयो। आलोक सरले संसार छोडेर गएपछि आफूलाई बेसहारा अनुभव भएको थियो। अव मलाई कसले, यसरी सपोर्ट गर्छ होला भन्ने फिल भयो। बिस्तारै मन बुझाएँ।
'अझैँ पनि'मा सपोर्टिङ क्यारेक्टर गरेपछि
पहिला मन नलागे पनि चलचित्र ‘अझैँ पनि’ले मलाई निकै साथ दियो। यो चलचित्रमा अभिनय गरिसकेपछि मलाई सहायक अभिनेताको भूमिकामा धेरैले खेल्न अनुरोध गर्नुभएको थियो। तर, मैले गरिनँ।
ठुला ब्यानरका चलचित्रमा समेत खेल्न अफर आएको थियो। तर, मैले मानिन। सहायक क्यारेक्टर नगर्दा नै बेस भन्ने लाग्यो।
हिरो बन्छु भनेर तातिएको मान्छे। सहायक भूमिकामा खेल्न थाल्यो भने त भोलिबाट सबैमा त्यही बानी लाग्छ भन्ने भयो मलाई।
पिलायो साथीले टर्निङ प्वाइन्ट
म्युजिक भिडियोहरू पनि निकै भइसकेको थियो। भिडियो हेर्ने दर्शहरूले मलाई नोटिस गर्न थालिसकेका थिए। गायक शिव परियार दाइको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’बोलको म्युजिक भिडियोमा खेल्ने मौका पाए। यो गीत असाध्यै हिट भयो। गीत सँगसँगै म्युजिक भिडियो पनि एकदमै राम्रो चलेपछि चलचित्र निर्देशक तुलसी घिमिरे दाइले मलाई बोलाउनुभयो।
उहाँले नयाँ चलचित्र बनाउन लाग्नुभएको रहेछ। तुलसी सरले शिव दाइँलाई यो गीतको भिडियोको केटा हेरुम न भन्नुभएछ । शिव दाइले फोन गरेर पुष्प तिमीलाई तुलसी दाइले भेट्न खोज्नुभएको छ भन्नुभयो। तुलसी सरलाई भेटे।
उहाँसँग भेटेको ३,४ दिनपछि चलचित्र ‘दर्पणछायाँ २’का लागि अनुबन्धित गर्नुभयो। लिड क्यारेक्टरको लागि साइन गर भन्नेपछि खुसीले साइन गरे। किनभने यो मेरो चलचित्रको लागि लिड क्यारेक्टर थियो।
झुक्क्याउने निर्देशक तथा फिल्ममेकर
त्यो समयमा मलाई जस जसले अस्वीकार गरे अहिले भेट्दा फलानाले गर्दा तपाईलाई चलचित्रमा लिन नपाएको हो, ढिस्कानाले गर्दा त्यो चलचित्रमा कुरा नमिलेपछि तपाईँलाई लिन नपाएको भन्ने कुरा गर्नुहुन्छ।
त्यो बेला अघिल्लो दिन मलाई चलचित्र खेलाउँछु भनेर छायाङ्कनको दिन अर्कै कलाकार राखेका पनि छन्। पुष्प पर्सिको लागि तयार गर है भन्दै अर्के कलाकार ल्याएर मलाई चलचित्रबाट निकालिइदिएको अहिले पनि झलझली याद छ।
कसैसँग नराम्रो छैन मेरो। चलचित्र क्षेत्र हाम्रो एउटा घर हो।
चलचित्रमा काम गराउँछु भन्ने आस देखाउने तर नदिने धेरै थिए। कतिपय ती चलचित्रकर्मीहरू अहिले चलचित्र क्षेत्रमा खासै देखेको छैन। उहाँहरूले बनाएको चलचित्र त्यो समयमा चलेन पनि। सायद निकै लगानी परेको चलचित्र थियो जस्तो लाग्छ। कुनै हलमै लागेन। कुनै दर्शकले मन पराएनन्।
अहिले मलाई ती चलचित्रमा काम नपाएर राम्रै भयो जस्तो लाग्छ। किनभने सुरुका ती चलचित्रमा काम गरेको भए त दोस्रो चलचित्र पाउनै मुस्किल हुने रहेछ।
चलचित्र ‘दर्पण छाया २’बाट डेब्यु गर्दा म आफूलाई भाग्यमानी ठान्छु। किनभने सफल चलचित्र निर्देशकको हिट चलचित्रको सिक्वेलमा अभिनय गर्न पाए। यो मेरो डेब्यु चलचित्र भन्न पाए नि।
चलचित्र ‘दर्पण छाया २’ रिलिज नहुँदै मैले अर्को चलचित्र ‘मंगलम्’मा साइन गरिसकेको थिए। यो चलचित्रबाट मैले विभिन्न अवार्डहरू पाए। नेशनल अवार्ड समेत पाए।
मेरो कामको निकै प्रशंसा भयो। नबल नेपाल निर्देशित चलचित्र‘मंगलम्’मा काम गरिसकेपछि ‘दाल भात तरकारी’ हुँदै चलचित्र ‘मारुनी’मा अभिनय गरे। यी सबै चलचित्र रिलिज भइसकेका छन् भने ‘कृष्ण लीला,मनसँग मन,तिम्रो मेरो साथ’प्रदर्शन हुन बाँकी नै छ।
अहिले यसो आफ्नो यात्रा फर्किएर हेर्छु निकै रमाइलो लाग्छ। कति काममा कमजोरी भयो। कतिमा सकेसम्म प्रयास गरे। अभिनय क्षेत्र दिनकै सिक्नुपर्ने क्षेत्र हो। म अहिले पनि सिकिरहेकै छु। कोरोनाका कारण चलचित्र क्षेत्र प्रभावित भएको छ। भोलिका दिनमा पक्कै यसले गति लिने नै छ। म अहिले त्यही भोलिको तयारीमा छु।
जेठ २२, २०७८ शनिबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।