नयाँ मन्त्रीपरिषद्बारे  दुई प्राध्यापकको टिप्पणी : ओली तन्त्रमा के जायज, के नाजायज !

नयाँ मन्त्रीपरिषद्बारे  दुई प्राध्यापकको टिप्पणी : ओली तन्त्रमा के जायज, के नाजायज !

काठमाडौँ : संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले मन्त्रीपरिषद्मा गरेको व्यापक हेरफेरलाई विश्लेषकहरूले सरकारको रमिताको रूपमा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रवार जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउँदा आफ्नै पार्टीका उपप्रधान र मन्त्रीहरू समेत हटाए भने जुनियर तहका नेतालाई उपप्रधानमन्त्री बनाए। उनले सरकार पुनर्गठन गर्दा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन्।

प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने उनको निर्णयबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। यस्तो अवस्थामा ओलीले मन्त्रीपरिषद् नै उलटफेर गरेका छन्। केही आफ्ना विश्वासपात्रलाई समेत निरन्तरता दिएका छैनन्। रित्तो भएका मन्त्रालय आफैँसँग राखेका छन्।

कामचलाउ सरकारले गरेको निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले विना कुनै हिचकिचाहट सदर गर्दै शपथ खुवाएकी छिन्। 

सरकारको जिम्मेवारी निर्वाचन गराउने रहेको र संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस जारी रहेको अवस्थामा सामान्य अवस्थामा झैँ मन्त्रीपरिषद् पुनर्गठन गर्नु संविधान विपरीत रहेको उनीहरूको मत छ।

प्राध्यापक डाक्टर लोकराज बराल चुनावको मिति घोषणा गरेको काम चलाऊ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाउने बताउँछन्। प्रतिनिधिसभा विघटन गरेको सरकारले मन्त्रीपरिषद्मा हेरफेर गर्नु गैर संवैधानिक अभ्यास भएको प्रतिक्रिया दिँदै उनले भने 'काम चलाऊ सरकार मन्त्रिपरिषद् पुनर्गठन गरेर रमिता देखाउन व्यस्त छ। यसबारे थप के टिप्पणी गर्नु।'

उनले यस्तो बेलामा प्रतिपक्षी दल नेपाली काँग्रेस कानमा तेल हालेर बसेको बताए। उनले भने 'अहिले देशमा संविधान कानुन नभएर ओली तन्त्र छ।'

संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला भोलि पुनर्स्थापना भए के हुने भनेर नसोच्ने ओली र ओलीको असंवैधानिक काम हेरेर बस्ने प्रतिपक्षीका कारण देश संविधान विहीनको अवस्थामा पुगेको भान हुने बरालले बताए।

अर्का प्राध्यापक कृष्ण खनालले अहिले थिति र बेथितिको तुलनै गर्न नसकिने टिप्पणी गरे।  यसअघि कहिल्यै नदेखिएको विचित्र अहिले देखिएको बताउँदै उनले भने ‘खोइ यस्तो कहिले हुन्थ्यो भन्नु,’ खनालले भने,‘छेउ न टुप्पोको काम भइरहेको छ।’

जेठ २१, २०७८ शुक्रबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।