कान्तिपुर गाथा : निषेधाज्ञा बिनाको एक बिहान
दिमागलाई एक मिनेट फुर्सद छैन। कति सोच्नु कोरोना। कति सोच्नु लकडाउन। सोच्नुमात्रै त पागल हुने बाटो हो। बितेका केही सातामा मानिसहरु पागल पनि भएका छन्। आश्चर्य नमान्नु होला। यस्तो हुन्छ जब केही नयाँ हुन्छ।
मानिसको जीवनलाई प्रयोग मान्ने कवि, गीतकार र गायकहरुको कमी छैन देशमा। ‘एक्लै तिमी नआउ म मात्तिएको बेला’, ‘तिमीले चुमेका सारा देव छोएर किरिया खान कहाँ सक्छु र?’ ‘ओय नाना ओय नाना, नबोले त नबोल भैगो पिरती फर्काइदेऊ!’ सोच्दैथिएँ, कसरी बित्दैछ कान्तिपुरमा जीवन?
बानेश्वर चोकमा रामकाजीले सुनायो- कसरी बित्नु अब? हिजो जसरी बितेको थियो, अहिले पनि त्यसरी नै बित्दो छ। तेरो र मेरो लागि पो पसल बन्द छ। उनीहरुका लागि त कहिल्यै बन्द हुँदैन पसल।
के चाहियो तँलाई? सिंगल माल्ट, डबल ब्ल्याक, रोयल स्यालुट। रामकाजीको बोलीको गति ३५० किमी थियो होला। घरमा भुटेको मुरली मकै पडकेको जस्तो। उसले ‘उनीहरु’ भनेको त सबैले बुझ्नुभयो होला। उनीहरु भनेका उनीहरु। हामीहरु होइन। ‘भ्याक्सिन संकटको यो बेलामा पनि उनीहरुले भ्याक्सिन लगाइसकेका छन्। तैंले लगाइस्?,’ रामकाजी मलाई सोध्दै थियो। ऊ बिहानै अलिकति चढाएर आएको थियो बजार।
कान्तिपुर उपत्यकाका तीन वटै शहरमा कोरोना आतंक यति धेरै फैलिएको छ, यसले मानिस साँच्ची नै निस्सासिएका छन्। खाने ठेगान छैन, सुत्ने ठेगान छैन। लोग्ने-स्वास्नीमा को पहिले मर्ने हो थाहा छैन।
तीन शहरका टोलहरुमा एउटा पनि यस्तो छैन, जसमा मानिस नमरेका हुन्। शहरको एउटा परिवारमा आमा र छोराको एक दिनको ग्यापमा मृत्यु भयो। कोरोना लागेकी आमालाई अस्पतालमा भर्ना गरेर उनको उपचार हुँदाहुँदै छोरा आफैंलाई कोरोना लाग्यो। उसको पनि उपचार त्यही अस्पतालमा शुरु भयो।
दुर्भाग्य, उसकी आमाको मृत्यु भयो। छोराले आमा बितेको थाहै पाएन। छोराको पनि मृत्यु भयो। मर्ने बेलामा आमा, छोरा दुवैको छेउमा तुलसी–पानी मुखमा हालिदिने र राम-राम भन्ने मानिस कोही भएनन्। यो आतुर समयमा मानिसलाई कसरी सुख र शान्ति होस्।
कति पातलो छ जीवन!
वैशाख १ गतेदेखि जेठ २० गतेसम्म २ लाख ९० हजार १२७ जना कोरोनाबाट संक्रमित भइसके। यो अवधिमा ३ हजार ८२६ जना नेपाली काल कवलित भइसके।
मानिसको जात ज्याद्रो त ज्याद्रो नै हो। देशमा कोरोनाबाट ७ हजार ६२० जनाको मृत्यु भइसक्यो र पनि मानिस निष्फिक्री छन्। किन निष्फिक्री छन्? कसैलाई थाहा छैन। कहिलेकाहीं लाग्छ, नेपाली जाति मर्नसँग डराउँदैन। साथी-भाइसँग मिलेर ऊ हरेक विषयमा निर्मम ठट्टा गर्नसक्छ, चाहे व्यापारमा होस् वा व्यवहारमा। चाहे मृत्युमा होस् अथवा जीवनमा।
डाक्टरहरु भन्छन्- खोप वा इन्जेक्सन बाहेक कोरोनाको कुनै औषधि छैन। हाम्रो देशमा त खोप पनि छैन। इन्जेक्सन पनि छैन। भारत सरकारको सौजन्यमा नेपालीका लागि १० लाख डोज र नेपाली सैनिकका लागि एक लाख डोज र कोभ्याक्सले सहयोग स्वरुप पठाएको ३ लाख ३८ हजार डोज खोप आएको थियो कान्तिपुर।
त्यही खोप देखाएर प्रधानमन्त्रीजीले तीन महिनामा सबै नेपालीको पाखुरामा खोप लगाइसक्ने भाषण गरेका थिए ऊ बेला। त्यो भाषण बित्थामा गयो। त्यसपछि अहिलेसम्म भारतबाट खोप आएको छैन। नेपाल सरकारले पैसा तिरेर किनेकोमध्ये १० लाख डोज खोप नेपाल आयो, अर्को १० लाख डोज खोप नोभेम्बरमा नेपाल आउने गरी लाइनमा बस्यो।
सबै खोप नआइपुगेकाले कान्तिपुरका हजारौं–हजार मानिस रनभुल्ल परेका छन्। अब उनीहरुले साँच्चै कहिले लगाउने त खोप कोभिसिल्ड? कोभिसिल्ड बनाउने कम्पनीका नेपाली एजेन्ट सुरज वैद्य र विजय दुगडले कमिसन हात पारिसके। यो केसमा जनता बाहेक अरु कोही ठगिएन। सबभन्दा बढी नाफा कमाए प्रधानमन्त्रीले। विचरा, त्यत्रो चुनाव गराउनु छ। अलिकति पैसा नभए त हारिहालिन्छ नि चुनाव। काशी, काश्मिर, गजब नेपाल।
यसपछि भर्खरै चीनबाट कान्तिपुर आइपुग्यो ९ लाख ८ सय डोज भेरोसिल खोप। यो खोपको वितरण र भागबण्डा लगाइसकिएको छ।
यता, खोपको विश्वव्यापी अभाव, उता तीन महिनामा सारा नेपालीलाई खोप लगाइदिने प्रधानमन्त्रीको मधुर वाणी। यसले धेरै अघिदेखि राष्ट्रपतिको मानसिक सेटिङ बिग्रिएको थियो। उनी नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बोलेपछि जसरी पनि त्यो बोली पूरा हुनैपर्ने धारणा राख्ने मानिस परिन्। यही मेसोमा उनले भारत, चीन र अमेरिकाका राष्ट्रपतिको नाममा बिन्तिपत्र लेखिन्।
नभन्दै, अमेरिकाले संसारका विभिन्न देशलाई २ करोड ५० लाख डोज खोप अनुदान सहयोगको प्याकेज बनायो। योमध्ये नेपालदेखि भारत, पाकिस्तान बांगलादेश हुँदै प्यासिफिक आइसल्याण्डसम्मका १६ वटा देशले ७० लाख डोज खोप सहयोग पाउने छन्।
समाचार जब कान्तिपुर उपत्यकामा आइपुग्यो, राष्ट्रपति र प्रधानमन्त्री दुवैको जयगान शुरु भइहाल्यो। नेपाली राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई चिठी लेख्ने बित्तिकै अमेरिकाले आफनो ढुकुटी खोलेर नेपाललाई ७० लाख डोज खोप प्रदान गरिहाल्यो भन्ने खालको हल्ला फैलिइहाल्यो। भ्याक्सिनको समस्या समाधान गरिदिएकोमा राष्ट्रपतिको जयजयकार हुँदै थियो कि खाँट्टी समाचार खुस्किइहाल्यो। तै पनि...।
कान्तिपुर उपत्यकाका शहरहरुमा निषेधाज्ञा लगाउने तीन जना उच्च अधिकृत अर्थात् प्रमुख जिल्ला अधिकारीको बुद्धि र विविकको प्रशंसा नगर्दासम्म यो टिप्पणी अधूरै रहन्छ।
अब, यसलाई निषेधाज्ञा भने पनि लकडाउन भने पनि यसको निरन्तरता आगामी केही समयसम्म रहिरहने छ। यसमा कुनै शंका छैन। शंका केमा छ भने बिहान ९ बजे पसल बन्द हुने निषेधाज्ञामा किन्नेले के किन्ला, बेच्नेले के बेच्ला। अनि, एउटै पसलमा अचाक्ली भीड भएपछि सामाजिक दूरी कायम राख्ने कुरा पनि आएन।
बिहान बानेश्वरको मासु पसलमा खसीको मासु र कुखुराको मासुको झगडा पर्यो। झगडाको मुल विषय के थियो? त्यो त थाहा भएन। तर केटा र केटीबीचको यो म्याच वाचेबल थियो।
उच्च अधिकृत सरहरुको ज्ञानचक्षुलाई मान्नैपर्छ। उहाँहरुलाई सबै प्रकारका उपभोक्ताहरुको आवश्यकताको जानकारी थियो। बानेश्वरमा किताबको अभावमा केटाकेटीहरुको अनलाइन क्लासमा आघात परेको थाहा पाएपछि उहाँहरुले किताब पसल खोल्न पाउने नियम थप्नुभयो निषेधाज्ञामा।
अब खरिददारीको सूची पनि पूरा भयो। बिहान ७ बजेदेखि ९ बजेसम्म, दुई घण्टाको समयमा बाबाको चुस्कीदेखि ममीको छुस्कीसम्म सबै लिने। त्यसपछि दाल-चामल, त्यसपछि तरकारी (असाध्यै महँगो), बाबाको चुस्कीको सितन। केटाकेटीको पाउँ र पुष्टकारी, खाजाको लागि फ्रोजन मम...।
गाथाहरु
जेठ २१, २०७८ शुक्रबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।