कर्णालीको प्रतिपक्षी काँग्रेस सरकारमा : मन्त्री नियुक्तिमा दुई गुटका दुई जना 

कर्णालीको प्रतिपक्षी काँग्रेस सरकारमा : मन्त्री नियुक्तिमा दुई गुटका दुई जना 

मुख्यमन्त्री शाहीले काँग्रेसलाई सामाजिक विकास र जलस्रोत तथा ऊर्जा मन्त्रालय दिने भएका छन्। दुई मन्त्रीमा काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउँदै छ। 

सामाजिक विकास मन्त्रीमा बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा श्रेष्ठको नाम सिफारिस गर्ने शाहीले बताए। 

सर्वोच्च अदालतले गरेको निर्णयपछि माओवादी र एमाले पार्टी फरक भए। अलग भएपछि गत चैत ४ गते नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो। संविधानतः प्रतिपक्षीको भूमिकामा एमाले देखियो। त्यसअघि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको काँग्रेस भूमिकाविहीन हुने अवस्था आयो।

६ महिनापछि काँग्रेसको नेतृत्वमा सरकार बनाउने सहमतिसहित मुख्यमन्त्री शाहीलाई काँग्रेसले वैशाख ३ गते संसद्मा विश्वासको मत दियो। एमालेको माधव समूहका चार जनाले पार्टीको ह्विप नमानी फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई साथ दिएपछि शाहीको सरकार जोगियो।

माओवादीका १२, काँग्रेसका ६ र एमालेका ४ गरी मुख्यमन्त्रीले २२ मत ल्याएर सरकारको विश्वास जोगाए। विपक्षी एमालेले १५ मत ल्यायो। राप्रपाका एक जना सांसद भने तटस्थ बसे ।

सरकार जोगियो गुण तिर्दै मुख्यमन्त्री शाही 
सरकार जोगिएको गुण तिर्न मुख्यमन्त्री शाहीले काँग्रेसलाई सरकारमा आउन आग्रह गरे। काँग्रेसले सरकारमा जाने तयारी गर्यो। उसले पार्टीभित्रको दुई गुट मिलाउन मुख्यमन्त्रीसँग दुई वटा माग्यो। मुख्यमन्त्री शाहीले पनि आफ्नो सरकार जोगाउन मन्त्रालय फुटाए। 

गुट मिलाएर काँग्रेसले बिसी र श्रेष्ठको नाम सिफारिस गर्न लागेको हो। सभापति शेरबहादुर देउवा पक्षबाट बिसीलाई र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने दलका नेताहरूको दबाबका कारण शाहीले मुख्यमन्त्रीसँग दुई वटा मन्त्रालय माग गरेका काँग्रेस नेताहरू बताउँछन्। 

‘केन्द्रीय राजनीतिले केही समयसम्म कर्णालीको सत्ता साझेदारीलाई प्रभावित बनायो, हिजो हामीले समीकरणअनुसार सरकारमा जाने निर्णय गरेका हौँ,’ काँग्रेस नेता शाहीले भने, ‘दुई वटा मन्त्रालय हाम्रो भागमा परेका छन्, दलले आधिकारिक रूपमा नाम सिफारिस गर्छ । एकदुईदिनमा मन्त्रीहरूले शपथ लिनेछन् ।’

हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन्। मुख्यमन्त्री शाहीले आफ्नो पार्टीका सासदहरुको चित्त बुझाउन वैशाख १ गते बुधवार भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाए र नयाँ मन्त्री नियुक्त गरे। काँग्रेसलाई आधा रहेको सामाजिक विकास मन्त्रालय मात्रै छोडे। काँग्रेसले मन्त्रालय फुटाएकोप्रति असन्तुष्ट देखाएपछि नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको थियो।

पछि काँग्रेसलाई दुई मन्त्रालय छोडेर सिता कुमारी नेपालीलाई आर्थिक मामिला योजना, युवा तथा खेलकुद मन्त्री र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरे। युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका विन्दमान विष्टलाई मुख्यमन्त्री शाहीले ‘ब्याक’ गराए। 

माओवादीभित्रै मन्त्रीका आकाङ्क्षी धेरै भएपछि मुख्यमन्त्री शाहीले विमला केसी र नरेश भण्डारीलाई राजीनामा गर्न लगाएका थिए। 
मुख्यमन्त्री र काँग्रेसबिचको निरन्तरको संवादले युवा तथा खेलकुद मन्त्रालय सामाजिक मन्त्रालयमै फर्काउने, ऊर्जा तथा जलस्रोत मन्त्रालयसहित दुई वटा मन्त्रालयको पक्का सम्झौता भएपछि सरकारमा जान काँग्रेस लालायित भएको हो। 

पाँचौँ पटक मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री शाही
मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेका तीन जनालाई मन्त्री नियुक्त गरिसकेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कूर्मराज शाही र भौतिक पूर्वाधार मन्त्री अम्मर थापालाई जिम्मेवारी दिइएको छ।

सर्वोच्चद्वारा किर्तेमा दोषी ठहरिएका मन्त्री थापाले अझै पनि राजीनामा दिएका छैनन्। 

जेठ २१, २०७८ शुक्रबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।