हुम्लाको चंखेली आइसोलेसन सेन्टरका स्वास्थ्य संयोजकमाथि हातपात 

हुम्लाको चंखेली आइसोलेसन सेन्टरका स्वास्थ्य संयोजकमाथि हातपात 

कोरोना सङ्क्रमित श्रीमतीको उपचारमा स्वास्थ्यकर्मीले लापरबाही गरेको भन्दै चंखेली गाउँपालिकाकै अमृत रोकायाले संयोजक बुढालाई हातपात गरेको आरोप लागेको छ। 

रोकाया गौरी शङ्कर प्राविका प्रधानाध्यापक शिक्षक हुन् भने बुढा चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्।  ‘स्वास्थ्यकर्मीमाथि हातपात भएको खबर आएपछि प्रहरी निरीक्षक दामु पुनको नेतृत्वमा सात जनाको टोली गएको छ,’जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी दानसिंह भण्डारीले भने, ‘ उहाँमाथि हातपात भएपछि स्थानीयहरू आएर बचाएछन्। विस्तृत विवरण पछि आउनेछ।’ 

रोकायाकी श्रीमतीलाई जेठ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि गाउँपालिकाले बनाएको आइसोलेसनमा राखेका रोकायले स्वास्थ्यकर्मीले हेरचाह नगरेको, उपचारमा लापरबाही गरेको भन्दै स्वास्थ्य संयोजकलाई हातपात गरेका स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ। 

स्वास्थ्य संयोजकलाई हातपात गरेका प्रधानाध्यापक रोकायाले कम्प्युटरमा समेत तोडफोड गरेर भागेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी पुगेपछि थप विवरण आउने बताएको छ। 

जेठ २१, २०७८ शुक्रबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।