दरबार हत्याकाण्डको २० वर्ष : तारानाथ रानाभाटको फेरिएको बोली

दरबार हत्याकाण्डको २० वर्ष : तारानाथ रानाभाटको फेरिएको बोली
दरबार हत्याकाण्डबारे छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तत्कालीन सभामुख तारानाथ रानाभाट।

काठमाडौं : राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको राजदरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते शुक्रबार भएको सो हत्याकाण्डमा राजपरिवारका १० जना सदस्यको ज्यान गएको थियो।

सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, नीराजन, धीरेन्द्र शाह, शान्ति शाह, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको एकै चिहान भयो।

युवराज दीपेन्द्रलाई घटनाको चार दिनपछि सैनिक अस्पताल छाउनीमा मृत घोषणा गरियो। दीपेन्द्रलाई मृत घोषणा गर्दै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्रलाई नयाँ राजा घोषित गरियो।

नयाँ राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय समिति गठन गर्न आदेश दिए।

समितिका सदस्य सभामुख रानाभाटले राजा ज्ञानेन्द्रलाई बुझाइएको भनिएको प्रतिवेदन सार्वजनिक गरे। उनले त्यतिबेला सार्वजनिक गरेको प्रतिवेदनमा लागुपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष सुनाइएको थियो।

तर, त्यो प्रतिवेदन त्यतिबेला र यतिबेला पनि पत्याउने खालको नभएको टिप्पणी आइरहन्छन्। उतिबेला छानविन समिति बनाएको भनिए पनि छानविन समिति नभएको जिकिर गर्छन् रानाभाट। ‘छानविन समिति भएको भए दोषी पत्ता लगाएर कारबाही गर्थ्यो, तर त्यो हामी होइनौं’ उनले भने।

त्यतिबेला लागुपदार्थ र रक्सीले मातेका दीपेन्द्रले भटटट गोली चलाएर दरबारका सबैको हत्या गरे र आफूले पनि आत्महत्या गरे भनेर प्रतिवेदन प्रस्तुत गरेका रानाभाट अहिले भन्छन्, ‘घटना दुखद हो भन्ने बाहेक अरु केही छैन।’

रानाभाट आफू छानविन गर्न घटनास्थल गएको नभई हेर्न मात्र गएको बताउँछन्। ‘छानविन, अनुसन्धान, अध्ययन गर्न गएको होइन,’ उनले उकेरासँग भने, ‘केशव उपाध्याय हत्याकाण्ड भएको कोठा नहेरी कताबाट फोन आएर फर्किए।’ उनले आफू कोठा हेरेर मात्रै फर्किएको बताए।

घटनाको दोषी पत्ता लगाउने काम आफूले नगरेको उनको भनाइ छ। हत्याकाण्डपछि राजतन्त्रप्रतिको आस्था हराउँदै गएको हो? भन्ने प्रश्नमा उनले पूर्वराजा ज्ञानेन्द्रप्रति सङ्केत गर्दै भने, ‘खोई कताकता पुगेर काठमाडौँ पुगेका छन् क्यारे, उनले खुट्टा टेकेनन्।’

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, छोरा दीपेन्द्र, नीराजन र छोरी श्रुतीको स्मृतिमा दरबारको तर्फबाट कुनै कार्यक्रम भएको सम्झनामा नरहेको पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव फणिराज पाठक बताउँछन्। ‘आज पनि कुनै कार्यक्रम भएजस्तो लाग्दैन,’ उनले उकेरासँग भने।

जेठ १९, २०७८ बुधबार १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।