कोरोना महामारीले उकासेका युवा उद्यमी
काठमाडौं : बढ्दो कोरोना महामारीका कारण देशभरका अस्पतालहरुमा बेड अभावको समाचार नेपालीका लागि नौलो होइन। केही समयअघि अस्पतालहरुमा आइसियु, भेन्टिलेटर तथा बेड नभएका कारण देशभर हाहाकार नै मच्चियो।
यतिबेला सरकार स्वास्थ्य संकटकाल लगाउने गृहकार्यमा लागेको समाचारहरु पनि सञ्चारमाध्यममा आइरहेका छन्।
कोरोना महामारीका कारण कतिपय व्यवसाय सधैंका लागि बन्द भए त कति व्यवसायी थाल खाउँ न भात खाउँको अवस्थामा छन्। तर, बाँकेको कोहलपुर-९ का सतीश केसीलाई भने महामारीका बीच अस्पतालका लागि चाहिने भौतिक स्वास्थ्य सामग्री बनाउन भ्याइनभ्याइ छ।
करिब एक वर्षअघि सञ्चालनमा आएको युनाइटेड एग्रो इन्जिनियरिङले अस्पताललाई चाहिने सामान्य बेड, आइसियु बेड, टेबुल, र्याक लगायतका २७० भन्दा बढी फर्निचर तथा औजारजन्य सामग्री उत्पादन गर्दै आइरहेको छ।
अंगुरबाट वाइन बनाउने, पानी प्रशोधन गर्ने मेसिनदेखि दूध प्रशोधन मेसिन, जिम क्लबका लागि आवश्यक सामग्री, ट्यांकी, फोहोर व्यवस्थापन गर्ने उपकरणका साथै कृषिजन्य सामग्रीसमेत कम्पनीले बनाउँदै आएको छ। कम्पनीको पछिल्लो पहिचान भने अस्पतालका लागि आवश्यक सामग्री उत्पादकको रुपमा बढी छ।
‘महामारीमा देशभरबाट बेडको लागि अर्डर आइरहेको छ। हाम्रो उत्पादनले मात्र धान्न सक्ने अवस्था छैन,’ सतीश भन्छन्, ‘भारतबाट ५ हजार बेड अर्डर आएको छ। आफ्नै देशको अर्डर थेग्न सकिरहेका छैनौं। विदेशमा पठाउने त कुरै भएन।’
२८ वर्षीय सतीश कम्प्युटर इन्जिनियर हुन्। सानैदेखि व्यापारी बन्ने सपना देखेका उनी बैङ्लोरको रेभाइन्टर नेसनल कलेजमा कम्प्युटर इन्जिनियरिङको पढाइ सकेर नेपाल आएपछि आफ्नै केही व्यवसाय गरौं भन्ने धुनमा थिए।
‘२०७६ को तिहारको बेला घरमा सबै परिवार जम्मा भएका थियौं। व्यापारको कुरा चल्यो। मेरो फुपुको छोरा पनि बेलायतबाट आउँदै हुनुहुन्थ्यो,’ सतीश भन्छन्, ‘हामी तीन दाजुभाइमध्ये जेठो दाइ फोहोर व्यवस्थापनको काम गर्नुहुन्छ। उहाँको प्रोजेक्टमा फुपुको माइलो छोरो जोडिने कुरा भयो। अनि म माइलोसँग फुपुको जेठो छोरोसँग जोडिएर काम सुरु गरें।’
सतीशका फुपुका छोरा सुरेश बुढाथोकी पेसाले ल्याब टेक्निसियन हुन्। उनी मेडिकल व्यवसायमा सक्रिय थिए काठमाडौंमा। सतीश र सुरेश मिलेर व्यापार गर्ने कुरा पक्का भयो। तर के व्यापार गर्ने त ? परिवार छलफलमा थियो।
‘मलाई अलि फरक व्यवसाय गर्न मन थियो। त्यसैले मैले प्लास्टिक उत्पादन गर्ने निधो गरें,’ उनी भन्छन्।
प्लाष्टिक उत्पादन गर्न तीन कठ्ठा जग्गामा भौतिक संरचना बनाउने काम सुरु भयो। तर सतीशलाई भौतिक संरचना तयार भइसक्दा आफ्नो सोच अनुसार प्लास्टिक उत्पादन गर्न सानो हुन्छ कि भन्ने महसुस हुन थाल्यो।
‘ठूलो भोल्युममा प्लास्टिक उत्पादन गर्छु भन्ने सोच थियो। मेसिनहरु पनि ल्याइसकेको थिएँ। तर फ्याट्ट लकडाउन भयो, काम हुन पाएन,’ उनी भन्छन्, ‘ठूलो भोल्युममा प्लास्टिक उत्पादन गर्न नयाँ भौतिक संरचना बनाउनुपर्ने भयो। पहिले बनाएको संरचना खाली थियो। त्यसैमा केही गरौं भन्ने पारिवारिक सल्लाह भयो।’
परिवारको निष्कर्ष निस्कियो मेसिनरी प्लान्ट लगाउने। सतीशले नेपालमा उत्पादन हुने मेसिनरी सामग्रीको खोजी सुरु गरे। उता प्लास्टिक फ्याक्ट्रीमा पाइप, ट्यांकी लगायतका प्लास्टिकजन्य उत्पादन पनि सुरु भइसकेको थियो। सतीशले दुवै व्यवसायलाई सँगै लाने निधो गरे।
फर्निचर र प्लास्टिक उत्पादन गर्नुभन्दा पहिले नक्सा बनाउने कन्सल्टेन्सी खोलेका थिए सतीशले। उनलाई त्यसमा मन रमेन। सानो सहरमा काम गर्दा व्यावसायिक हुन गाह्रो भयो। त्यसपछि पढाइसँगै जोडिएको काम गर्न उनी काठमाडौं हानिए।
‘पढाइ सकेर घर फर्केपछि केही समय कन्सल्टेन्सी खोलें। चिनेजानेका मान्छे धेरै ग्राहक भए। व्यावसायिक हुन गाह्रो भयो। त्यसपछि केही समयमै मेरो टिभीमा आइटी डिपार्टमा पनि काम गरें। तर मलाई मनमा आफ्नै केही गरौं भन्ने थियो। रिर्सर्च गर्दा नेपालमा त पर्याप्त मेसिनरी प्लान्ट नै रहेनछन्। भए पनि हाम्रो उत्पादनले बजार धान्न सक्ने अवस्था नै रहेनछ,’ उनी भन्छन्, ‘हामीले कृषि औजार, ट्यांकी, विभिन्न मेसिनका पार्टपुर्जा लगायतका सामग्री बनाउने भनेर गत वैशाखबाट काम सुरु गर्यौं।’
सतीशले फलामजन्य वस्तुको उत्पादन गर्न थाल्दा देश लकडाउनमा थियो। कोरोनाको त्रासले जनजीवन त्रसित थियो। कोरोना नियन्त्रणका लागि स्यानीय तहमा क्वारेन्टिन लगायतका स्वास्थ्य संरचना बनाउने होडबाजीजस्तै देखिन्थ्यो। त्यसैबीच पहिलो कामस्वरुप सतीशको कम्पनीले २ हजार लिटरको ट्यांकी बनायो। दोस्रो काम आयो, ओलिया नामक संस्थाको। ओलियाले १५० अस्पतालको जस्तै बेड अर्डर दियो।
‘हामीले अस्पतालको लागि आवश्यक पर्ने बेड बनाउँछौं भन्ने त सोचेका थिएनौं। कोरोनाको त्रास थियो। हामीलाई अर्डर आयो। इन्टरनेटको सहाराले केही सहयोग लिने सोच पनि भयो। हामीले अर्डर लियौं,’ सतीश भन्छन्, ‘अर्डर त लियौं तर हामीसँग आवश्यक सामग्री थिएन।’
सतीश जिल्ला कार्यालय पुगे। सहायक जिल्ला अधिकृत दीर्घराज उपाध्यायलाई अस्पतालको बेड बनाउन सामान अपुग भयो, सामान ल्याउन सहजीकरण गनुपर्यो भनेर अनुरोध गरे।
विषम परिस्थितिमा आफ्नै देशमा बेड उत्पादन हुने कुराले उपाध्यायलाई पनि हौस्यायो। उनले सहजीकरण गरिदिए। तर, उपाध्यायको एक प्रश्नले सतीशलाई एकछिन अलमल बनाइदियो।
उपाध्यायले दैनिक कति उत्पादन गर्छौ भनेर सोधे। सतीशले आत्मविश्वासका साथ भने, ‘४०/५०।’
उपाध्यायले बेड उत्पादनलाई चाहिने सामग्री ल्याउन सहज हुने वातावरण त बनाइदिए। तर सतीशको दुःख त्यतिमै सकिएन। नेपाली बजारमा बेड बनाउन आवश्यक सामग्री उनले सहजै पाउन सकेनन्।
‘बेड अर्डर लिइसकियो। बजारमा सामान पाइँदैन। त्यहीमाथि पहिलोपल्ट हामी बेड बनाउँदै थियौं,’ उनले भने, ‘सहायक सिडियोलाई दैनिक ४०/५० वटा उत्पादन गर्छौं भनेर गफ दिएको छु। कति उत्पादन गर्न सक्छौं भन्ने आकलन पनि थिएन हामीसँग भएको जनशक्तिले। बल्लतल्ल नेपाल र भारतबाट सामान जुगाड गरेर हामीले १० दिनभित्रै १५० बेड तयार गर्यौं।’
सतीशको कम्पनीले बनाएको पहिलो चरणको बेड कामचलाउ मात्र भयो। ४० केजी तौल भएको बेड आइसोलेसन सेन्टरहरुमा काम चलाउनको लागि उपयोगी देखियो। र, पनि बेडको माग दिन दुईगुणा रात चौगुणाले बढ्न थाल्यो।
सतीशलाई पहिलो सफलताले झन् आँट दियो। उनले आफ्ना बाबुको सपना सम्झिए। उनका बाबुको आमाको नाममा अस्पताल खोल्ने सपना रहेछ। उनी नजानिँदो पाराले अस्पातलसँग जोडिए।
‘अहिले मेरो व्यवसायको परिचय जसरी बनेको छ, यो संयोगले बनेको हो,’ सतीश भन्छन्, ‘बाबुको सपना पूरा गर्न हामीले भाइलाई पारिवारिक करकापमा नै डाक्टर पढायौं। उसले पढ्यो पनि। इन्टन गर्दैछ। संयोगबस म पनि अस्पतालसँग नै जोडिन आइपुगें।’
सतीशलाई सुरुसुरुमा अस्पतालको लागि आवश्यक फर्निचर बनाइरहँदा निकै समस्या पनि परेछ। पढाइ एकातिर, काम अर्कोतिर। उनका पार्टनर सुरेश बुढाथोकी मेडिकल लाइनसँग जोडिएका हुनाले उनको सहयोगले सतीशलाई धेरै राहत दियो।
‘दाइ (सुरेश) मेडिकल लाइनको हुनुभएकाले धेरै सहज भयो। म मात्र भएको भए धेरै गाह्रो पर्ने थियो। मेडिकल ट्रम नै नबुझिने,’ उनी भन्छन्, ‘एग्रोमा मात्र २७०भन्दा बढी उत्पादन छ हाम्रो। त्यसमध्ये ७० भन्दा बढी उत्पादन त अस्पतालको लागि मात्र छ।’
सतीशको कम्पनीले एक वर्षमा हासिल गरेको लोकप्रियताको पछाडि मिडियाको हात देख्छन् सतीश। मिडियाले नयाँ काममा गरेको सपोर्टजस्तै नेपालकै व्यापारिक घरनाले पनि नेपाली उत्पादनलाई प्रयोग गर्ने हो भने जनस्तरमा उत्पादनको विश्वास बढ्ने उनको बुझाइ छ।
‘चौधरी ग्रुप लगायतका अन्य व्यापारिक घरानाले नेपालमा नै बनेको उत्पादनलाई प्रमोट गर्नुपर्छ,’ सतीश भन्छन्, ‘हाम्रो उत्पादन हामीले नै खपत गरेनौं भने त्यसको अर्थ पनि रहेन नि।’
सतीशको कम्पनीले देशभर नर्मल बेड, आइसियु र भेन्टिलेटर बेड गरेर ६ हजारभन्दा बढी बेडहरु बेचिसकेको छ।
कम्प्युटर इन्जिनियर सतीशलाई प्रविधिको सदुपयोग कसरी गर्ने भन्ने थाहा नहुने कुरै भएन। प्रविधिकै सहयोगमा भरतमा पनि उनले केही बेडहरु बेचेका छन्।
‘म भारतमा नै पढेको। साथीभाइको अलिअलि सहयोग भयो। सोसल मिडियाको पनि भरपुर प्रयोग गरें। २०० बेड भारतमा पठाएँ। अहिले धेरै नै अर्डर आइरहेको छ तर सम्भव छैन। के गर्नु, हाम्रो मान्छे विदेशमा छन्। जनशक्ति छैन धेरै।’
सतीशको अबको लक्ष्य भनेको धेरैभन्दा धेरै संख्यामा रोजगारी बढाउने रहेको उनी बताउँछन्। भारत लगायतका तेस्रो मुलुकबाट मिस्त्रीहरु ल्याउनुपर्ने बाध्यतालाई हटाउन सकिए ठूलो मात्रामा रोजगारी सिर्जना हुने उनको विश्वास छ।
‘हामीजस्ता धेरै युवा ३०/४० हजारको लागि खाडी जान बाध्य छन्। सीप भए आफ्नै देशमा खाडीमा भन्दा बढी कमाउन सकिन्छ। भनेपछि अब हाम्रो पुस्ता विदेशिनेभन्दा पनि दक्ष हुन लाग्नुपर्छ,’ सतीशले भने।
जेठ १७, २०७८ सोमबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।