एमाले कर्णाली प्रदेश संसदीय दलले भन्यो, तत्काल बजेट अधिवेशन बोलाऊ

एमाले कर्णाली प्रदेश संसदीय दलले भन्यो, तत्काल बजेट अधिवेशन बोलाऊ

सुर्खेत: नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले तत्काल प्रदेश सभाको बजेट अधिवेशन बोलाउन माग गरेको छ।

आइतबार दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट बारे छलफल गर्नका लागि तत्काल अधिवेशन आव्हान गर्न माग गरेको हो।
बैठकले संविधान तथा प्रदेश सभा नियमावलीको व्यवस्था तथा सार्वभौम प्रदेश सभालाई जनउत्तरदायी बनाई प्रदेशको भविष्यसँग जोडिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथा सक्दो छिटो संसद्को अधिवेशन आव्हान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरिएको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
नेपालको संविधान अनुसार प्रदेश सभाले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार अधिवेशन बोलाउनुपर्ने नेता कँडेलले बताए।
उनले प्रदेश सभा नियमावलीको परिच्छेद १७ को नियम १३२ को दुई बमोजिम बजेट ल्याउनु पूर्व १५ दिन अघि नै विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफलका लागि संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यो छलफल १५ दिन पहिले नै सम्पन्न गर्ने व्यवस्था रहेको स्मरण गराए।

जेठ १६, २०७८ आइतबार २३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।