‘प्रि–बजेट’ छलफलबिनै बजेट ल्याउने तयारीमा कर्णाली सरकार
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रि–बजेट छलफल नगरी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरेको छ।
प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको महामारीको कारण देखाउँदै छलफलबिनै बजेट ल्याउने तयारी गरेको हो।
सरकारले सदनमा नयाँ बजेट पेश गर्नुभन्दा १५ दिनअघि नै प्रि–बजेट छलफल गराउनुपर्ने र सोही आधारमा बजेट तथा नीति कार्यक्रम ल्याउने प्रावधान छ।
गत वर्ष भने सरकारले नीति तथा कार्यक्रम ल्याई बजेट विनियोजन गरेको थियो।
संविधानमा प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ। बजेट ल्याउनुअघि सरकारको नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने हुन्छ।
प्रदेशकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री एवं सरकारकी प्रवक्ता सीताकुमारी नेपालीले संसद्मा सरकारको नीति तथा कार्यक्रममा छलफल गर्ने तयारी भए पनि कोरोना महामारीका कारण संसद् बोलाएर छलफल गर्न नसकिएको बताइन्।
‘अन्य ठाउँझैं कर्णालीमा पनि कोरोनाको संक्रमण छ। कतिपय प्रदेश सांसदलाई पनि कोरोना देखिएको छ। यो अवस्थामा समस्या हुने भएकाले अहिले छलफल गरिएको छैन,’ प्रवक्ता नेपालीले भनिन्, ‘नीति तथा कार्यक्रम र बजेटको तयारी हुँदाहुँदै पनि सरकारले अहिले छलफल चलाउन सकेको छैन। यद्यपि संविधान अनुसार असार १ गते बजे ल्याउने छौं।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् सुशील थापाले नीति तथा कार्यक्रम पारित भइसकेपछि सरकारले बजेट पेश गर्ने प्रचलन भए पनि जेठ १६ गतेसम्म पनि प्रदेश सरकारले बजेट अधिवेशन आह्वान गर्न नसक्दा बजेट ल्याउने प्रक्रियाबारे आशंका बढेको बताए।
‘संविधान अनुसार १५ दिनअगाडि सरकारले बजेट ल्याइसक्नुपर्ने हुन्छ। तर, सरकार यसरी संसद्देखि भाग्दा बजेटमा केही आशंका गर्ने ठाउँ छ,’ सांसद थापाले भने, ‘यस्तो महामारीमा प्रदेश सरकारले सबैसँग छलफल गरेर बजेट लयाउनुपर्ने हो। आफ्ना कमजोरीलाई ढाकछोप गर्न सरकार संसद् छलिरहेको छ।’
थापाले राम्रो कामका लागि प्रतिपक्षले रचनात्मक सहयोग गर्ने बताउँदै सरकार प्रतिपक्षदेखि डराएर भागेको आरोप लगाए।
प्रदेशसभा नियमावलीको नियम १३२ को उपनियम २ मा ‘विनियोजन विधेयक प्रस्तुत गर्नुपूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले प्रस्ताव राख्ने’ उल्लेख छ।
जेठ १६, २०७८ आइतबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।