बजेटमा प्रदेश १ : सहरभरि योजना, गाउँ रित्तै

बजेटमा प्रदेश १ : सहरभरि योजना, गाउँ रित्तै

इटहरी : आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले हिजोमात्रै १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ। जसमध्ये सबैभन्दा धेरै चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत बजेट विनियोजन भएको छ।

पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात् २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत बजेट विनियोजन भएको हो।

वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात् २३.५ प्रतिशत रहेको छ। स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रूपैयाँ संकलन गर्ने सरकारको लक्ष्य छ।

प्रस्तुत बजेटमा प्रदेश १ को हवाई र सडक पूर्वाधार प्राथमिकतामा परेको छ। प्रदेश १ का महत्वपूर्ण सहरमा ठूला योजना आएका छन्। तर ग्रामीण बस्तीको विकासमा भने विषयगत बजेट पुगेको देखिँदैन। बजेटको प्राथमिकतामा झापा र विराटनगर परेका छन्।

बिर्तामोड–चन्द्रगढी र धरान–इटहरीलाई मेघासिटीमा विकास गरिने र विराटनगर महानगरपालिकाको विद्युतीय तार भूमिगत गरिने भएको छ।

समृद्ध तराई–मधेस सिंचाई कार्यक्रम अन्तर्गत झापा र उदउपुरमा ट्युबबेल जडान गरिने भएको छ। झापाको कन्काई र मोरङको रतुवा नदी नियन्त्रण गरिने भएको छ। झापाको भद्रपुर बजारलाई कटानबाट बचाइने र जनताको तटबन्ध अन्तर्गत मावा, बिरिङ बक्राह खोलामा वायो इन्जिनियरिङ प्रविधिबाट नदी नियन्त्रण गरिने भएको छ। उदयपुरको त्रियुगा नदीको कटान नियन्त्रण गर्न ८४ किलोमिटर तटबन्ध गरिने भएको छ।

विराटनरमा दूध बजार सुनिश्चित गर्न दूध संकलन केन्द्र तथा चिस्यान केन्द्र र आधुनिक पशु वधशाला स्थापना हुने भएको छ। झापाको चन्द्रगढीमा कृषिमा आधुनिक प्रविधिको विकास गर्न कृषि फार्मलाई सेन्टर फर एक्सिलेन्स स्थापना हुने भएको हो। स्वास्थ्य क्षेत्रको हकमा विराटनगरको सरकारी अस्पतालमा दम्पतीको लागि आइभिएफ सेवा सुरु हुने भएको छ।

झापा, दमकको औद्योगिक क्षेत्रको पूर्वाधार तयार गरिने, इलामको माइपोखरी र सुनसरीको बर्जुतालको संरक्षण एवं सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ। रतुवा, बिरिङ, कन्काइमा पुल निर्माण गरिने भएको छ।

मोरङको वैधनाथपुरमा क्रिकेट मैदान स्थापना गरने, झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण गरिने छ। इटहरी प्रादेशिक रंगशाला अगाडि बढाई सोलुखुम्बुमा हाई अल्टिच्युड स्पोर्टस सेन्टर स्थापना गरिने बजेटमा उल्लेख छ।

चन्द्रगढी र तुम्लिङटार विमानस्थलको स्तरोन्नति गरिने साथै इलामको सुकिलुम्बामा परीक्षण उडान गरिने भएको छ। ताप्लेजुङको सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामकरण गरी धावनमार्ग विस्तार गरिने र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थल नामकरण गरी निर्माण कार्य अगाडि बढाइने भएको छ।   

मदन भण्डारी राजमार्ग अन्तर्गत शान्तिनगर–धरानको सडकखण्ड निर्माण सम्पन्न गरिसक्ने योजना प्रस्तुत भएको छ। इटहरी–विराटनगरमा विद्युतीय बस सञ्चालनमा अनुदान दिइने भएको छ।

धरान–धनकुटा सडकखण्ड अन्तर्गत धरान–सेउती सुरुङमार्ग निर्माण कार्य सुरु गरिने भएको छ। जेगबनी–विराटनगर खण्डमा रेल सेवा सञ्चालन गरिने र काँकडभिट्टा–इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी सम्पन्न गरी निर्माण कार्य थालिने बजेटमा उल्लेख छ।

कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने भएको छ। माथिल्लो अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा यकिन गरी पूर्वतयारी कार्य पूरा गरिने छ।

तमोर करिडोर अन्तर्गत चतरादेखि ओलाङचुङ्गोला र कोशी करिडोर अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक निर्माण कार्यलाई तिब्रता दिइने भएको छ।

इलाममा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सन्दकपुरमा पर्यटन पूर्वाधार निर्माण गरिने, मोरङमा बालसुधार गृह सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख गरीएको छ।

जोखिममा परेका अल्पसंख्यक लोपोन्मुख सीमान्तकृत समुदायका बालबालिकाको लागि ताप्लेजुङ लगायत १३ हिमाली जिल्लामा माध्यमिक तहका आवासीय विद्यालय सञ्चालन गरिने भएको छ।

सहलगानीमा निमार्णाधीन ताप्लेजुङको पाथिभरा, संखुवासभाको चैनपुर, मोरङको मानगढ, ओखलढुुंगाको ओखलढुंगा बजारको खानेपानी आयोजना सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। दमकमा ढल प्रसोधन केन्द्र स्थापना गर्ने योजना सार्वजनिक भएको छ।

ताप्लेजुङको ओलाङचुङ्गोला र संखुवासभाको किमाथाङ्कामा सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने, मेची र विराटनगर नाकामा कन्टेनर स्क्यानर मेसिन जडान गरिने भएको छ। पाँचथर र भोजपुर लगायत ९ स्थानमा ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच विस्तार गरिने बजेटमा उल्लेख छ।

जेठ १६, २०७८ आइतबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।