अवकाशप्राप्त डा. पाण्डेको अनुभूति : मन्त्रालयका अधिकारीलाई नमस्कार नगर्दा पटकपटक सरुवा भएँ

अवकाशप्राप्त डा. पाण्डेको अनुभूति : मन्त्रालयका अधिकारीलाई नमस्कार नगर्दा पटकपटक सरुवा भएँ

काठमाडौं :  भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे २०७६ फागुनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निर्देशकको रुपमा कार्यरत थिए। 

त्यही महिनाको मध्यतिर उनकी आमाको निधन भयो। उनी आमाको किरिया बसे। त्यही बेला उनको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भयो। 

‘फागुनको बीचतिर आमाको स्वर्गे भयो। म किरिया बसेको थिएँ,’ डा. पाण्डेले सुनाए, ‘मेरो सरुवा भएछ।’ 

अचानक सरुवा भएपछि उनलाई अचम्म लाग्यो। किनकि प्रायः सरुवा भनसुनको आधारमा हुन्थ्यो। ‘सरुवा हाेस् भन्ने मेरो चाहना त थियो। तर, मैले सरुवाका लागि कसैलाई भनेको थिइनँ,’ उनले भने। 

आफ्नो सरुवाबारे जानकारी पाएपछि किरिया बिदाको १५ दिन पनि घरमा नबसी महाशाखामा खटिएको उनले सुनाए। 
०००

दुई पटक गरी साढे ११ वर्ष टेकु अस्पतालमा बिताएका डा. पाण्डेले त्यहाँ पनि फालिएरै पुगेको सुनाए। 

उनले टेकु अस्पतालमा पहिलो पटक १० वर्ष दाेस्राे पटक करिब डेढ वर्ष काम गरेका थिए। 

कोरोनाकाे पहिलो संक्रमित भागे

उनी टेकुमै कार्यरत रहँदा चीनकाे वुहानबाट नेपाल आएका पुरुष टेकु अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगे छन्। ती व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएपछि ती पुरुषलाई अस्पतालमा भर्ना गरियाे। तर, उनी केही बेर बसेर भागे छन्।

ती पुरुष भागेर पुल्चोकमा पुगेको डा. पाण्डेले सुनाए। उनले भने, ‘ती संक्रमित भागेर हिँडेका थिए। पुल्चोकबाट समातेर ल्याइयो। र, भर्ना गरियो।’ 

त्यसपछि फेरि पत्रकारहरू पुगेर फोटो खिचेर हैरान भएपछि ती संक्रमित व्यक्ति रिपोर्ट नआउँदै भागेर घर गएको उनले सुनाए। 

नमुना हङकङ पठाएपछि उनमा संक्रमण पुष्टि भएको थियो। रिपोर्ट आउनुपूर्व नै जवरजस्ती घर गएको र पछि सम्पर्क गर्दा परिवारलगायत कसैलाई पनि रोग नसरेको उनले बताए।

त्यो बेला ती संक्रमितको व्यवस्थापन गर्न निकै चुनौती भएको उनले सुनाए।

टेकुको डाक्टर भनेपछि क्लिनिकमा बिरामी नै आउँदैनथे

टेकु अस्पतालमा सरुवा भएर जाने चिकित्सक आफू त्यहाँ काम गर्छु भन्दा लजाउने गरेको उनले सुनाए। 

क्लिनिकमा बस्दा पनि टेकुको डाक्टर भनेपछि बिरामी नै नआउने गरेको डा. पाण्डेले बताए। टेकु हैजा (कलेरा)का बिरामीको उपचारका लागि बनाइएको अस्पताल भएको उनले सुनाए। 

‘कलेराबाट मृत्यु भयो भने त्यहाँ घाट थियोे। घाटमा लगेर राख्थे। त्यो हिसाबले बनाएको थियो अस्पताल,’ उनले टेकु अस्पतालको त्यो बेलाको अवस्था सुनाए, ‘त्यहाँ ल्याएपछि मर्छ भनेर बिरामी पनि ल्याउँथे।’

त्यसैले टेकुलाई त्यति बेला छेरौटे अस्पताल भन्ने गरिएको उनले सुनाए।

नमस्कार नगर्दा सरुवा भएँ

उनी टेकुपछि रोग नियन्त्रण महाशाखामा सरुवा भएँ। त्यहाँ उनी नेतृत्वदायी भूमिकामा रहेर कार्यरत रहँदा कोरोना महामारी सुरु भइसकेको थियो। त्यो बेला बिरामीको व्यवस्थापन, तथ्यांक संकलन, मृत्यु भएका व्यक्तिको व्यवस्थापन रोग नियन्त्रण महाशाखाले नै गर्नुपर्छ भन्ने मन्त्रालयका अधिकारीको सोच थियो। 

अन्य विभागमा कार्यरत व्यक्ति घर बस्ने अनि कामचाहिँ रोग नियन्त्रण महाशाखा, प्रयोगशाला र व्यवस्थापन महाशाखाले मात्रै गर्नुपर्ने भन्ने सोचकै कारण काम गर्दा चुनौती भएको उनले सुनाए।

कन्ट्रयाक ट्रेसिङको काम निकै चुनौती भएको डा. पाण्डेको अनुभूति छ। 

महाशाखामा पनि उनी लामो समय रहन सकेनन्। त्याे बेला उनी उमेर हदका कारण अवकाश पाउँदै थिए। तर, त्यही बेला उनकाे सरुवा भयो।

डा. पाण्डेले सरुवाबारे स्वास्थ्य मन्त्रालयका अधिकारीप्रति लक्षित गर्दै भने, ‘उहाँहरूलाई दिनदिनै नमस्कार गर्न जानुपर्ने रहेछ। मैले त्यो नगर्ने। काम मात्रै गर्ने। त्योचाहिँ मिलेन।’ यही बानीकाे कारण आफू पटकपटक सरुवा भएकाे उनी बताउँछन्। 

त्यसो त कर्मचारी विभिन्न राजनीतिक दलको ट्रेड युनियनको आडमा कामै नगर्ने प्रवृत्ति रहेको उनी सुनाउँछन्। उनले भने, ‘हरेक दिन मन्त्रालय जाने, नमस्कार गर्ने, आउने हुँदो रहेछ।’ 

पार्टीका संगठन खारेज नगरेसम्म सरकारी संस्था नसुध्रिने उनले सुनाए।

नेतृत्व तहमा बसेर ५० प्रतिशत व्यवस्थापनको काम गर्नुपर्ने भए पनि आफूले त्यो गर्नै मुस्किल परेको सुनाए। डा. पाण्डेले भने, ‘मैले केही भने भने मलाई अहेवले सरुवा गरिदिन्छ। त्यो अवस्था छ।’ 

संगठनले गर्दा काम गर्ने कर्मचारीको कामको मूल्यांकन गर्न नसकिएको दुःखेसो पोखे। आफू रोग नियन्त्रण महाशाखामा हुँदा व्यक्तिसँगको सम्बन्धको आधारमा कोरोनासम्बन्धी तथ्यांक लिएको उनले सुनाए। 

तथ्यांकमा अहिले पनि एकरुपता नभएको उनले सुनाए। त्यसो त मन्त्रालयमा कार्यरत कर्मचारीका आफ्ना मान्छे सफ्टवेयर बनाइदिन्छु भन्दै विभिन्न प्रोजेक्ट लिएर आउने खेतीपाती भएको पनि उनले खुलाए।

डा. पाण्डेले भने, ‘यहाँ फेरि हरेकको खेतीपाती हुँदो रहेछ। यहाँबाट सजिलै डेटा आउँछ भन्दै एउटा मान्छे आउँछ। मन्त्रालयमा त्यो कसको मान्छे छ। अर्को मान्छे आउँछ, म यो डेटा हाल्छु, भन्छ। यस्ता विभिन्न खालका मान्छे आउँछन्।’

मुगुमा झिंगैझिंगा भरिएकाे खाना खान जाँदा...

डा. पाण्डे एमबिबिएस अध्ययनपछि मुगुमा पुगेकाे क्षण कहिल्यै बिर्सँदैनन्। कारण थियो- त्यहाँको खानेकुरा। खाना खान जाँदा खानेकुरामा झिंगैझिंगा भरिएकाे थियो। 

उनले खाना खानै सकेनन्। त्यसपछि आफू फर्केर आएको उनले सुनाए। तर, उनले सोचे˗ अहँ मुगुमा काम गर्नुपर्छ। र, उनी फेरि मुगु पुगे। त्यसपछि मुगुमा अस्पताल सुरुवात गरेको उनले सुनाए। 

त्यो बेला मुगुमा बसेर काम गर्ने कोही डाक्टर नपुगेको उनले सुनाए। डा. पाण्डेले भने, ‘मुगुको म पहिलो डाक्टर हो। त्योभन्दा अघि डाक्टर गएका थिएनन्।’ 

त्यो बेला पनि आफूलाई मुगुमा फालिदिएको डा. पाण्डेले सुनाए। 

अध्ययन र जागिरे यात्रा

पर्वतको फलेवास नगरपालिकामा (अहिलेको) २०१८ सालमा जन्मिएका पाण्डेले महेद्रोदय मावि भोक्सिङबाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि उनले २०३७ सालमा चिकित्सा शास्त्र अध्ययन संस्थान, महारजगञ्जबाट हेल्थ असिस्टेन (एचए) उत्तीर्ण गरे। त्यसको १० वर्षपछि त्यही एमबिबिएस अध्ययन गरे उनले। 

एमबिबिएस अध्ययनपछि केही समय पाटन अस्पतालमा काम गरे उनले। पाटनपछि उनी सरकारी जागिरे भएर मुगुको हेल्थ सेन्टरमा पुगे। 

जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख पनि भए। मुगुमा २०५३ सालसम्म ३ वर्षसम्म काम गरेको उनले सुनाए।

त्यसपछि डा. पाण्डे एमडी अध्ययनका लागि जापान पुगे। जापनको नागासाकी युनिभर्सिटीबाट सन् १९९५ बाट एमडी र सोही युनिभर्सिटीबाट सन् २००० मा विधावारिधी (पिएचडी) सम्मको अध्ययन पूरा गरे।

जापानबाट फर्किएपछि उनी अमेरिका पुगेर सन् २००१ सम्म १ वर्ष पोस्ट डक्टरल फेलोसिप अध्ययन गरे।

त्यसपछि टेकु अस्पताल हुँदै रामेछाप जिल्ला अस्पताल पुगे उनी। त्यहाँ उनले तीन वर्ष अर्थात् २०७१ सालसम्म काम गरे।

रामेछापपछि स्वास्थ्य सेवा विभागमा सरुवा भए उनी। विभागमा कुष्ठरोग नियन्त्रण महाशाखाको दुई वर्ष निर्देशकको रूपमा काम गरे। र, त्यही समयमा पछि करिव एक वर्ष विभागको उपमहानिर्देशक भए।

रामेछापछि २०७३ सालदेखि २०७४ सम्म  १ वर्ष डा. पाण्डे मध्यमाञ्चल क्षेत्रीय निर्देशकको जिम्मेवारीमा काम गरे। त्यसपछि राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको निर्देशकको भूमिकामा करिव ६ महिना काम गरे।

२०७५ सालमा डा. पाण्डे पुनः टेकु अस्पतालमा नै सरुवा भएर निर्देशकको रुपमा २०७६ सालसम्म काम गरे। त्यसपछि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशकको जिम्मेवारीमा काम गर्न थाले।

२०७७ को अन्त्यमा उनी भरतपुर अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट भएर करिव दुई महिना काम गरे। 

अहिले उनले उमेर हदका कारण सरकारी जागिरबाट अवकास पाएका छन्। 

जेठ १५, २०७८ शनिबार २३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।