'नेताहरुले कट्टु खोलेपछि तल्ला लेभलका मान्छेले लुगा लगाएर बस्नुको के अर्थ हुन्छ र!'
काठमाडौँ : १० वर्षे ‘जनयुद्ध’को सुरुवाती समयदेखि नै माओवादीका होलटाइमर कार्यकता हुन्, गोरखाका रमेश श्रेष्ठ। उनी सुरुवाती दिनमा माओवादीको प्रचारमुलक पोस्टर भ्यालीका गल्ली–गल्लीमा टाँस्दै हिँड्थे।
२२ वर्षे ठिटोमा खुबै जोस थियो सामन्तवादसँग लड्ने। साम्यवाद र समाजवादको नाराले रमेशलाई माओवादी बनाएको थियो त्यतिबेला। तर अहिले उनी गोरखाको पुख्र्यौली घरमा बसेर हिजोलाई मूल्यांकन गर्छन्। र, निष्कर्ष निकाल्छन्, ‘विना लगानी संयोगले आएको गणतन्त्रले म जस्ता हजारौको अंग लग्यो। परिवार लग्यो। बेपत्ता बनायो र बाँच्नेहरुलाई पीडामात्र दियो।’
रमेशले भनेको संयोग के हो त ? ‘नेपालमा गणतन्त्रको लागि कोही लडेकै छैनन्?
भारतको रुचिको कारण गणतन्त्र आयो। भारतलाई मन मरेपछि गणतन्त्र जान्छ,’ उनी भन्छन्, ‘केपी ओलीले १४ वर्ष जेल जीवन, माधकुमार नेपालले २०२८ देखिको सदस्यता र प्रचण्डले १० वर्षे जनयुद्ध बाहेक अरु कहिल्यै बोलेको सुन्नु भएको छ? छैन नि। किनकी यो गण्तन्त्र आउनुमा उनीहरुको कुनै लगानी नै छैन। ज्ञानेन्द्रलाई मन नपराउनेले ल्याइदिएको गणतन्त्र हो। त्यसैले कुनै पार्टीले हामीले ल्याएको भन्नु तुक नभएको कुरा जस्तो लाग्छ मलाई।’
वर्तमान राजनीतिक अवस्थाले आफ्नो मनमा भएको शंकालाई झन् पुष्टि गर्छ भन्ने लाग्छ रमेशलाई। त्यसकै एक उदाहरण, प्रतिनीधि सभा विघटन गर्ने अवस्था आउनु संयोगमा आएको गणतन्त्र अन्त्यतिर पुग्नु हो भन्ने उनको बुझाइ छ। उनी भारतको ट्वान्टी–थर्टी मिसन अनुसार नेपालको रणनीति अघि बढिरहेको दावी गर्छन्।
‘नेताहरुले कट्टु खोलेपछि हामी तल्लो तहका मान्छेले लुगा लगाएर बस्नुको के अर्थ हुन्छ र?,’ रमेशको दावी छ, ‘तत्कालीन राजालाई भारतको मनमोहन सिंहको सरकारले सहयोग नगरेर मात्र नेपालमा गणतन्त्र आएको हो।
उनको भविष्यवाणी छ, सन् २०२४ मा भारतका प्रधानमन्त्री आदित्यनाथ हुन्छन्। भारत हिन्दुराज्य घोषणा हुन्छ। र, संयोगमा आएको गणतन्त्रको खेला सकिन्छ नेपालमा पनि।’
आफू माओवादीमा सुरुवाती समयदेखि जोडिएको व्यक्ति भएकाले पनि गणतन्त्र माओवादीको एजेण्डा नभएको उनको दावी छ।
गणतन्त्र आउनुमा राजा ज्ञानेन्द्रले मन्त्रिपरिषद्को अध्यक्ष आफैं हुनुमात्र कारक रहेको उनलाई लाग्छ।
‘कसैको बलिदान या यो–त्योले आएको पनि होइन गणतन्त्र। ज्ञानेन्द्र त माओवादीसँग नजिक थिए। प्रचण्ड र राजा ज्ञानेन्द्रको सहकार्य हुनेवाला थियो। त्यसैबीच राजा आफैं मन्त्रिपरिषद्को अध्यक्ष बने र कुरा बिग्रियो,’ रमेश भन्छन्, ‘प्रचण्डले राजा ज्ञानेन्द्रलाई सेरमोनियल भएर बस्न र आफूलाई ५० वर्ष सत्ता चलाउन दिन प्रस्ताव गरेका थिए। लिखित त यो प्रस्ताव कतै छैन तर यसका साक्षीमध्येका एक कृष्णबहादुर महरा हुन्। उनलाई सेधे हुन्छ।’
उनका अनुसार राजा र प्रचण्डको सहकार्यलाई बाधा पुर्याउने काम गर्नेलाई तत्कालीन माओवादीले कारबाही पनि गर्यो। तर कारबाहीको चित्तबुझ्दो कारण भने प्रष्ट खुलाइएको छैन आजसम्म।
‘०६१ माघ १९ गतेको घटनापछि माओवादीले माघ २१ मा मात्र आफ्नो विज्ञप्ति निकाल्यो किन? तुरुन्तै किन निकाल्न सकेन? त्यसबेला बाबुरामलाई कारबाही गरेको थियो। बाबुराम बिना वक्तव्य निकाल्न सकेन माओवादीले। त्यसबेला राजावादी भनेर आरोप–प्रत्यारोप चल्थ्यो नि माओवादीमा। यही प्रचण्डको ५० वर्ष सत्ता चलाउने लिप्साको उपज थियो त्यो,’ रमेश भन्छन्, ‘माओवादीले ०५६ पछि निकालेका वक्तव्यहरुलाई मूल्याङ्कन गर्ने हो भने माओवादी त्यति बेलाबाटै सामन्तवादको पक्षपाती भइसकेको थियो। पद र नाफाको व्यापारमा लागिसकेको थियो। ज्ञानेन्द्र मन्त्रिपरिषद्को अध्यक्ष मात्र हुँदैनथे भने पनि नेपालको राजनीति अर्को हुन्थ्यो र प्रचण्ड अर्को निरंकुश भएर निस्कन सक्थे। माओवादीले जनविश्वासमा ठूलो खेलबाड गर्यो।’
माओवादी जंगलमा रहँदादेखि नै पूर्व लडाकुहरुलाई प्रचण्ड–बाबुरामले गलत प्रयोग गरेजस्तो लाग्छ उनलाई। त्यतिबेला भनिएका नारा र गाइएका गीतले रमेशलाई उकुसमुकुस बनाउने रहेछ। उनी सोचमग्न छन्, जनयुद्धको निशानी काटिएको हात बोकेर।
‘हामीलाई गलत प्रयोग गराइयो। २०५८ बाट नै पार्टीले रोल्पामा समीक्षा गरेर सेफ ल्याण्डिङको बाटो खोजेको थियो। त्यसबेला भूपरिवेष्ठित देशमा लेनिन, माओले गरेको जस्तो क्रान्ति गर्न सम्भव छैन भन्ने माओवादीले बुझिसकेको हो र, समामन्तवादको बाटोमा माओवादी त्यसै बेलादेखि हिँड्न थाल्यो। त्यसैबेला मलाई लागेको थियो, हामी गलत बाटोमा छौं,’ रमेश भन्छन्, ‘ठूला कुरा गरेर हुँदैन। प्रचण्डसँग बोल्ने हिम्मत कसैको थिएन, त्यसबेला पार्टीमा। २०५७ पछि बाबुरामको योजनामा माओवादी चल्यो। पछि बाबुरामले पार्टी प्रमुख हुन खोज्दा उनलाई जिउँदै पुर्ने निर्णयसम्म भएको थियो प्रचण्डको नेतृत्वमा।। त्यसबेला पनि लागेको हो, हामी युद्ध जनता र देशको लागि होइन, सीमित व्यक्तिको इच्छापूर्ति गर्नको लागि मरिरहेका छौं।’
रमेशसँगै युद्धमा होमिएका धेरै व्यक्ति लाभको पदमा छन् अहिले। उनलाई घरीघरी लाग्नेरहेछ, ‘जनयुद्ध थियो आखिर केका लागि?’ अझ नजिकमा मान्छेले त सँगैको मान्छे फलानो मन्त्री भो तँ पढेर केही भइनस्। २७ वर्ष राजनीति गरेर के पाइस् भन्ने प्रश्नले अचेल खुबै सताउँछ रमेशलाई।
‘म कानुनको विद्यार्थी। युवा उमेरमा राजनीति भनेर युवाकाल सक्काएँ। त्यसले नैराश्यता र पीडा बाहेक केही दिन सकेन। मसँगै पढेका, राजनीति गरेका मान्छे आज कुन ठाउँमा छन् र म कहाँ छु। स्वमूल्याङ्कन गर्छु घरिघरि। जनआन्दोलन गलत थियो भन्ने होइन। जनआन्दोलन गराउने मान्छेको नियतमा खोट रहेछ,’ उनी भन्छन्।
आफूले जस्तै जनआन्दोलनको मूल्यांकन जनस्तरमा बसेर नेताहरुले गर्नसक्ने हौसियत गुमाइसकेकाले पनि आन्दोलनको वास्तविक मूल्यांकन हुन पाएन जस्तो लाग्छ रमेशलाई।
‘हामीले अहिले भनिरहेको कम्युनिष्ट पार्टीको नाम फेर्दिए हुन्छ। कोही कम्युनिष्ट छैनन् यहाँ। हामीले नेता मानिरहेका कुनै पनि नेताको हौसियत मन्त्री, प्रधानमन्त्री हुने छैन,’ रमेश भन्छन्, ‘नेताले सामान्तवादमा आफूले कसरी फाइदा लिने भनेर मूल्याङ्कन गरे र जनतालाई दुःख दिए।’
रमेश नेताहरुलाई खुला चुनौती दिँदै भन्छन्, ‘एक जनामात्र नेताले आफ्नो स्थानमा गएर समाजवाद लागू गर्न सकोस् न। छ कसैमा हुती ? जनताको हक अधिकारको लागि लडेका होइनौं हामी ? खोइ हाम्रो अधिकार?’
रमेशसँग प्रश्नैप्रश्न छन् मनमा तर पार्टीको माया पनि उत्तिकै छ। र, उनी मुख खोलिहाल्दैनन्।
‘म जनयुद्धको अपांग हुँ। मैले जनयुद्धमा घाइते अपांगता भएका, सहिद परिवार र बेपत्ता परिवारको हकहितमा लड्नका लागि द्वन्द्वपीडित सरोकार समाज बनाएँ। मैले आफूसँगै लडेका नेताहरुको दैलोदैलो धाएँ। तिनीहरुले हाम्रो बलिदानलाई मजाकको रुपमा मात्र लिए,’ रमेश भन्छन्, ‘बाबुराम प्रधानमन्त्री हुँदा उनका सल्लाहकार थिए बलदेव। उनले भने– यो इतिहासको आवश्यकता हो, बलिदान हुन्छ। भइरहन्छ। हाम्रो बलिदानीलाई उनले यति सामान्य रुपमा लिए।’
रमेश भूपि शेरचनको कविता अंश सुनाउदै भन्छन्, ‘भूपिले मर्ने सहिदहरु बाँचेर त हेर बाँच्न कति गाह्रो छ भने जस्तै म ती तमाम नेतालाई भन्छु, ‘हामीले गरेको बलिदान जस्तै तिमी पनि अपाङग बनेर हेर।’
रमेशले द्वन्द्वपीडितको लागि बनाएको संस्था ०७१ देखि ०७५ सम्म चल्यो। तर त्यसबीच समकक्षी कमरेडहरुको बोलीले उनको मन झन् कुँडियो। उनले हात उठाए।
‘म द्वन्द्वपीडितका पक्षमा बोलिरहँदा मलाई देवेन्द्र पौडेलले कति मागिहिँड्छस् भने। वर्षमान पुनले १० लाख पनि बढी भो सहिदलाई भने। तिनीहरुको लागि हाम्रो बलिदानी त्यति सस्तो रहेछ?,’ रमेश भन्छन्, ‘बरु सहिद भएको भए आनन्दै हुन्थ्यो होला। यो घाइतेको घाउ त कहिले निको नहुने रहेछ। हरेक समय दुखाइरहन्छ।’
कुनै बेला काठमाडौं भ्यालीको कमान्डर भएका रमेश २०५६ मा ऋतिक रोशन काण्डले राष्ट्रवाद सडकमा उत्रिएको मौकामा अहिलेका गृहमन्त्री रामबहादुर थापा बादलको आदेशमा प्रहरीमाथि हमला गर्न जाँदाको क्षण सम्झन्छन्, ‘देशमा नयाँ व्यवस्था आउँछ। समानता आउँछ भनेर लड्न गएको थिएँ। आउन त आयो तर के आयो आयो। परिकल्पनाभन्दा बाहिरको परिर्वतन मात्र आयो।’
उनी आक्रोस पोख्छन्, ‘जनयुद्धको उपहार हात गुम्यो। २२ वटा मुद्दा लाग्यो। युवाकाल सक्कियो। र, पनि राजनीति शब्दप्रतिको घृणा हटाउँछु भन्ने अठोटले काम गर्न सकेन। समाजमा परिर्वतन त आयो तर जनताले अनुभूति गर्न पाउने व्यवस्था आएन। झन् नयाँ दलाल, सामन्तवाद आयो।’
रमेश अब देश संकटकालमा जान्छ भन्ने शंकामा छन्। कुनै नेता वा पार्टीले नेपालमा राजा रहितको शासन कल्पना गरेका थिएनन् भन्छन् रमेश। ‘अब स्वास्थ्य संकटकाल लाग्छ। त्यो लम्बिन्छ केही समय। देशमा चाँडै फेरि राजनीतिक उथलपुथल हुन्छ। त्यसको तयारी ओलीले भव्य रुपमा गरिरहेका छन्,’ रमेश भन्छन्, ‘कोरोना नेपालको राजनीति मोड्ने एउटा हतियार बन्छ। सिसिएमसीको अध्यक्षमा सेना राख्नुको अर्थ र स्वास्थ्य विधेयकमा भनिएका बुँदा हरेक नेपालीले मूल्याङकन गर्नुपर्छ। संयोगमा नै आएको भए पनि त्यसलाई सुधारेर गणतन्त्रको रक्षा गर्न सबै एक हुने बेला आएको छ।’
जेठ १५, २०७८ शनिबार २०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।