विश्वविद्यालयमा हुने यौन दुर्व्यवहार छानबिन गर्न महिला सेल बनाउँछु : डा. धर्मकान्त बास्कोटा, उपकुलपति, त्रिवि
त्रिविको पढाइ, परीक्षा, अनुसन्धान अनि विश्वविद्यालयमा चर्चामा रहेका यौन दुर्व्यवहारका घटनामा केन्द्रित भएर त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटासँग उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानी :
दोस्रो पटक निषेधाज्ञा जारी भएको पनि एक महिना बित्न लाग्यो। अध्ययन–अनुसन्धान जारी राख्न विश्वविद्यालयले के गरिरहेको छ?
भौतिक रूपमा हामी पनि विश्वविद्यालय जान सकेनौँ। चार वटा महाशाखा प्रमुखलाई कोरोना लाग्यो। एक जनाको त निधन नै भयो।अहिले घरैबाट पठनपाठन गर्न समन्वय गरिरहेको छु। चिकित्सक र पूर्व मेडिकल काउन्सिलको अध्यक्ष पनि भएकाले भ्याक्सिन कसरी ल्याउने भनेर नेपाल सरकारले गरेका बैठकहरूमा पनि सहभागी भइरहनु परेको छ। विश्वविद्यालयको कामसँगै अन्य काम पनि भएको छ।
गत वर्ष जस्तै यो वर्ष पढाइभएको छैन। विद्यार्थीहरू त्रिविले हाम्रो भविष्यमाथि खेलबाड ग¥यो भनिरहेका छन्।पठनपाठन सुरु गर्न क्याम्पस प्रमुखहरूलाई इमेलमार्फत दबाब दिइरहेका छन्। तर पनि किन पढाइ सुरु भएको छैन?
सबै कक्षाको पढाइ नभएको हो।तर कुनै पनि पढाइ नै नभएको त होइन। कुनै क्याम्पसमा प्राध्यापकहरू नै सङ्क्रमित भएका छन्। कोरोना पिक आवरमा पुगेको छ। त्यसैले कक्षा नलिएकै हो। अब फेरि सुरु हुन्छ।पदाधिकारीको डिनहरूसँग बारम्बार बैठक बसेको छ। त्रिविले काम गरिरहेको छ।
कोरोना पहिलो पटक आएको हैन नि। पहिलो लहरमै केही तयारी गरेको थियो होला नि त्रिविले?
भौतिक विधिबाहेक त्रिविसँग पढाउने अन्य तरिका थिएन। केही थोरै विद्यार्थी हुने कक्षाहरूमा पढाई भइरहेको थियो।यसपालि हामीले अधिकांश विद्यार्थीमा प्रविधिको पहुँच पुर्याएका छौँ। माइक्रोसफ्ट टिमबाट पढाइ भइरहेको छ। शिक्षकहरूलाई तालिम दिने काम भइरहेको छ। त्यस्तै पुस्तकालयका मेटेरियललाई डिजिटलाइज्ड गर्ने कार्य भइरहेको छ। त्रिविमा पढ्नेलाई त्रिविकै आइडी प्रदान गरिएको छ। बाहिरकालाई निश्चित शुल्क लिने तयारी भइरहेको छ।
त्यस्तै झन्डै ४ करोड रिसोर्स भएको भारतको नेसनल डिजिटल लाइब्रेरीमा समन्वय गरेका छौँ। उनीहरूले आफ्ना युनिर्भसिटीहरुलाई वार्षिक १० लाख लिन्छन्। हामीलाई १५ हजारलाई निःशुल्क उपलब्ध गराउने भनेका छन्।
गत वर्ष कोरोना आउँदा त्रिविमा अन्योल थियो। यसपालि प्रविधिको प्रयोग भएको छ भन्नुभयो। तर विद्यार्थीहरूसँग बुझ्दा त त्यस्तो देखिएन त?
अहिले धेरै फरक भएको छ।माइक्रोसफ्टबाट दोहोरो संवाद हुँदै पढाएका छौँ। गत वर्ष स्रोत र साधन थिएन।अहिलेको महामारीमा धेरै शिक्षक,कर्मचारीहरूको निधन भयो। पढ्ने वातावरण भइरहेको छैन। धेरै सङ्क्रमित भएका छन्। यस्तो अवस्थामा पढाऊँ भन्न पनि अप्ठ्यारो भएको छ।
हामीले त्रिविका १२५ वटा युनिटमा मोनिटरिङ गरेका थियौँ। ९१ वटा युनिटमा चलेको छ। पहाडी जिल्लामा फोन र नेट नभएको स्थानमा भने अप्ठ्यारो भएको छ।
त्रिविले अन्य विधिबाट परीक्षा लिन सकेन नि किन?
पढाउँदा विद्यार्थीले मोबाइलबाट पढे पनि भयो। तर परीक्षा दिन मिलेन। त्यसमाथि परीक्षा नै लिने गरी त्रिविले नयाँ व्यवस्थापन गर्न सकेको छैन। तत्काललाई भौतिक रूपमा परीक्षा लिने बाहेक अन्य उपाय देखिँदैन।
समस्याको चुरो के हो त?
ठ्याक्कै भन्दा त्रिविका केही विद्यार्थी क्याम्पसको सम्पर्कमा छैनन्। गत वर्ष जस्तो शून्य नै त हैन तर अधिकांश विद्यार्थी सम्पर्कमा छैनन्। गत वर्ष हामीले स्थानीय निकायमा समन्वय गरेर केही पायक पर्ने स्थानमा परीक्षा लिएका थियौँ। यसपालि पनि त्यो प्राक्टिसको प्रयास गर्छौँ।
बिबिए प्राइभेट प्रोग्राम हो क्यारे। विद्यार्थी पनि थोरै छन्। किन परीक्षा नभएको?
पहिलो प्राथमिकता पास आउट भएर जानेको रह्यो। कक्षा भने हामीले लिएका छौँ। प्राइभेट प्रोग्राम भए पनि सङ्ख्या ठुलो छ। धेरै धनीदेखि धेरै न्यून आयस्रोत भएकासम्म विद्यार्थी छन्। हामीले जुन विधि अपनाउँछौँ त्यो सबैलाई सहज हुने हुनुपर्यो। यद्यपि,नीति–नियमको हिसाबले हामीले सबै गाँठो फुकाइसक्यौँ।कक्षाहरू लिँदै गर्ने परीक्षापछि गर्ने निर्णय गरेर उपल्ला कक्षाका पढाइ भइरहेका छन्। जे सकिन्छ त्यही गर्ने न हो। त्यो गरिरहेका छौँ।
चार वर्षको पढाइ ५/६ वर्ष लाग्ने देखिइसक्यो। विद्यार्थीको समय खेर गयो नि!
उहाँहरूको जाँच नभएको हो। क्याम्पसहरूमा भर्ना भएको छ। पढ्दै गर्दा लस हुँदैन।
विदेशतिर अध्ययन–अनुसन्धानको काम विश्वविद्यालयले गर्छ।त्रिविले अनुसन्धानमा किन ध्यान नदिएको होला?
त्रिविअन्तर्गत अनुसन्धान केन्द्रहरू नभएका हैनन्। यहाँभन्दा अघि के भयो त्यतातिर म जान्नँ।तर म आइकन अनुसन्धानका काम हुन्छन्।त्यसमा मैले आफ्नो तर्फबाट समन्वय गरिरहेको छु।
कस्तो समन्वय?
अनुसन्धानको लागि दुई करोड रुपैयाँ मात्रै बजेट आउँथ्यो। अहिले हामीले सरकारबाट ९ करोड माग गर्यौ। त्यो भयो पनि। इन्टरनल सोर्सबाट १२ करोड रुपैयाँ छुट्टाएका छौँ। त्यस्तै विभागहरूलाई र रिसर्च सेन्टरमा रकम पठाएका छौँ। उनीहरूलाई रिसर्च गर भनेका छौँ।लकडाउनभन्दा एक महिनाअघि गरेको हो।
नेपाल सरकारले प्राथमिकता तोकेका स्वास्थ्य क्षेत्रमा अनुसन्धान भइरहेका छन्।समय र विषयवस्तु तोकेर दिएका हौँ रकम। अब यसको रिजल्ट आउने बेला भयो। अन्य रिसर्चको लागि पनि रकम छुट्टाएका छौँ। प्रस्ताव आउने क्रम जारी छ।
यही कोरोना महामारीको कुरा गरौँ न।विदेशतिर विश्वविद्यालयले भाइरसबारे अनुसन्धान गर्ने, भाइरसको प्रकृतिदेखि सरकारले केके काम गर्नुपर्छ भनेर सल्लाह दिनेसम्म गरेको पाइन्छ।
हाम्रो विश्वविद्यालयले किन यस्तो अनुसन्धान गर्दैन?
हाम्रोमा मुख्य समस्या त स्रोत र साधनकै कमी हो। शिक्षण अस्पतालको प्याथालोजी अन्तर्गतको भाइरोलोजी डिपार्टमेन्टहरुले अनुसन्धान गर्ने हो,भाइरोलोजिस्ट नै कम छन्।वर्क लोड बढी परेको छ। दैनिक काम गर्न नभ्याइरहेको अवस्थामा फ्री माइन्ड भएर कसैले डिस्टर्ब नगरी अनुसन्धान गर्ने काम भइरहेको छैन।
अर्को,हाम्रो केन्द्रीय विभाग बायोटेक्नोलोजी, माइक्रो बायोलोजीलाई मैले केन्द्रीय प्रयोगशाला टेकु र त्रिविको संयुक्त प्रयासमा जेनेटिक्स सिक्वेन्सहरु स्टडी गर्ने भनेको छु। हाम्रोमा देखिएको कोरोनाको भेरिएन्ट र चीन, भारत, अफ्रिका,बेलायत ब्राजिलमा देखिएका भेरियन्टको अध्ययन गर्ने कुरा भएको छ। सायद काम छिट्टै सुरु हुन्छ।
तपाईँ चिकित्सक पनि हुनुहुन्छ,कोरोनाको अर्को भेरियन्ट पनि आउँछ भन्ने छ।यसपालिकै अनुसन्धान भएको छैन, ढिलो भएन र?
अवश्य पनि ढिलो भएको हो। स्रोत र साधन जुटाउँदैमा समय जाने रहेछ। स्रोत र साधन जुट्दैछ।काम हुन्छ।
त्रिविमा पढाउने प्राध्यापकहरूलाई बेलाबेलामा यौन दुर्व्यवहारको आरोप लाग्ने गरेको छ। केही समयअघि कृष्ण भट्टचन र अहिले मानव शास्त्र विभागीय प्रमुख डम्बर चेम्जोङलाई यस्तो आरोप लागेको छ। त्रिवि किन मौन छ?
कृष्ण भट्टचन सरलाई लागेको आरोप म नियुक्ति भएपछि होइन। उहाँको बारेमा म कहाँ कसैले उजुरी,निवेदन लिएर आएको छैन। डम्बर चेम्जोङ सरबारे लकडाउन हुनु भन्दा दुई दिनअघि समाचार आएको थियो। यसभन्दा अघि हामीलाई आएन, यो घटनाबारे।
रजिस्ट्रारलाई निवेदन नै दिनुभएको रहेछ। चम्जोङले पनि अनुसन्धान होस् भनिरहनु भएको छ। तर त्रिविले बेवास्ता गरेको देखियो नि किन?
यस्तो गम्भीर विषयमा त्रिविले बेवास्ता गर्दैन। मलाई योबारे रजिस्ट्रारले पनि जानकारी गराउनु भएन। पछि कालीमाटी महिला सेलमा गएपछि मैले यो कुरा थाहा पाएको हुँ।
पीडितले तपाईँलाई फोन गर्नुभएको थियो रे नि त?
त्यो त कालीमाटी महिला सेलमा घटना दर्ता भइसकेपछि हो। उहाँले फोनमा कुराकानी गर्नुभएको हो।
त्रिविले छानबिन गर्छ?
प्रहरीमा घटना गइसकेकाले त्रिविले छुट्टै छानबिन गर्नुपरेन। तर घटनाको वस्तुस्थिति बुझ्ने काम त भइहाल्छ नै।
पढाउने स्थानमा नै यस्ता घटना बाहिरिएपछि त्रिविको अबको भूमिका के हुन्छ?
तत्कालीन निमित्त उपकुलपति सुधा त्रिपाठीले दुर्व्यवहारको उजुरी गर्ने महिला सेल बनाउने कागजात तयार पार्नुभएको रहेछ। त्यो गठन हुन सकेको रहेनछ। मैले डम्बरजीको उजुरी आइसकेपछि त्यो सेलको आवश्यकता महसुस गरेर सम्बन्धित निकायलाई कागजपत्र खोज्न भनेँ।उहाँहरूले खोज्नुभएको छ। कोरोना महामारीको अवस्था सामान्य भएपछि महिला सेल गठन हुन्छ। त्यसपछि सम्बन्धित निकायले हेर्छ यी कुराहरू।
जेठ १३, २०७८ बिहीबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।