राहतमा राजनीति : चामलको बोरामा एमालेको पत्र

राहतमा राजनीति : चामलको बोरामा एमालेको पत्र

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ सुनौलो बस्तीमा वितरण भएको राहत सामग्रीमा एमालेको पत्र फेला परेको छ। जिल्ला प्रशासन कार्यालयको अनुमतिमा उपमहानगरपालिकाले वितरण गरेको राहतमा एमाले नगर अध्यक्ष यामकुमार सुब्बाको हस्ताक्षर सहितको पत्र भेटिएको हो। 

चामलको बोरा भित्र खाममा खाद्यान्न अभाव नहोस् भन्नको लागी पहिलो चरणको राहत पठाएको उल्लेख गरिएको छ। सङ्घीय सरकारले तत्काल कुनै पनि राहत वितरण नगर्न नगराउन आदेश दिएपछि अघिल्लो लकडाउनमा जसरी राहत वितरण हुन पाएको थिएन। केही दिन अगाडी डिसिसिएमसी सुनसरीले पालिकाको एकद्धवार प्रणालीबाट राहत बाढ्न सकिने बताएको थियो। 

सोही बमोजिम नेकपा एमालेले इटहरी उपमहानगरपालिका मार्फत राहत बाढेको हो। उपमेयर लक्ष्मी गौतम र ३ नम्बर वडाका वडाध्यक्ष बालकृष्ण विष्ट सहितको टोली मङ्गलवार कोरोना सङ्क्रमित सुनौलो बस्तीमा पुगेको हो। केही दिन अगाडी मात्र सो बस्ती शील गरिएको थियो। 

राहत वितरणको क्रममा एमालेको पत्र भेटिएपछि वडाध्यक्ष विष्टले विरोध जनाएका थिए। तत्काल वितरण रोकेर सबै बोरामा हेर्दा खाममा एमालेको पत्र भेटिएको उनले सुनाए। १५ मिनेटको विवाद पछि पत्र झिकेर राहत मात्र बाढीएको उनको भनाई छ। 

उता उपमेयर गौतमले भने एकसाता देखी एमालेले तयार पारेको राहत प्रमुख जिल्ला अधिकारीको निर्देशनमा आफूहरूले बाढेको बताइन्। पत्र बारे आफूलाई कुनै पनि जानकारी नभएको उनले दाबी गरिन। राहत वितरणमा नगर प्रहरी सहित उनी आफै टोलमा पुगेकी थिइन्। 

मेयर द्धवारीकलाल चौधरीले भने आफूलाई उपमेयरले फोन गरेर एमालेको राहत छ के गरौँ भनेर सोधेको र सिडिओको सल्लाह अनुसार गर्नु भनेको बताए। पछि एमालेको पत्र भेटिएको भन्ने कुरा वडाध्यक्षले भनेपछि मात्र थाहा पाएको उनको भनाई छ। 

यस विषयमा बुझ्न नगर अध्यक्ष सुब्बालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्। उता नेपाली काँग्रेस नगर सभापति हेम कर्ण पौडेलले राहत वितरणमा एमालेको पत्र भेटिएकोमा विरोध जनाएका छन्। उनले अस्पतालको स्तर वृद्धि र पिसिआरको सङ्ख्या वृद्धिमा ध्यान नदिएर उपमेयर आफै एमालेको प्रचारमा राहत बाढ्न लागेको भन्दै आक्रोश व्यक्त गरे। उपमेयर प्रति लक्षित गर्दै उनले भने, “सबैभन्दा ठुलो कुरा शिक्षा र चेतना हो त्यहीँ नहुँदा मुख दुखेको छ।”

जेठ १२, २०७८ बुधबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।