कर्णालीका काेराेना संक्रमित पत्रकारलाई निःशुल्क स्वास्थ्य परामर्श दिइने

कर्णालीका काेराेना संक्रमित पत्रकारलाई निःशुल्क स्वास्थ्य परामर्श दिइने

नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेशले प्रदेश अस्पताल, सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेसँग कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी शुक्रबार सम्झौता गरेको महासंघका प्रदेश अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए।

कोरोना भाइरसबाट पत्रकार संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सम्झौता गरिएको पत्रकार महासंघ प्रदेश समितिले जनाएको छ। 

कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र उनीहरुका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराबारे डा. केसी र डा. न्यौपानेले निःशुल्क परामर्श दिने गरी सम्झौता गरिएको पत्रकार महासंघका प्रदेश अध्यक्ष देवकोटाले बताए।

संक्रमित पत्रकार र उनीहरुको परिवारले डा. केसी र डा. न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याबारे जानकारी गराउनुपर्ने छ। डाक्टरद्वयलाई सुर्खेतको जुम्ला रोडस्थित कर्णाली केयर हस्पिटलमा भेट्न सकिने पत्रकार महासंघको प्रदेश समितिले जनाएको छ।

जेठ ८, २०७८ शनिबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।