कोरोना महामारीबीच बिपी प्रतिष्ठानमा कलह

कोरोना महामारीबीच बिपी प्रतिष्ठानमा कलह

प्रतिष्ठानका कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। विगतमा धेरै पटक माग राख्दा सुनुवाइ नभएको भन्दै वैशाख २४ गते कर्मचारीले उपकुलपतिको कार्यालयमा तालाबन्दी नै गरे।

कोभिड-१९ संक्रमितको उपचारमा संलग्न कर्मचारीलाई वितरण गरिएको भत्ताको विवरण सार्वजनिक हुनुपर्ने, गत वर्ष वृद्धि भएको २० प्रतिशत तलब उपलब्ध गराइनुपर्ने, ज्यालादारी कर्मचारीलाई करारमा नियुक्ति गर्नुपर्ने जस्ता माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

विगतमा पनि उपकुलपति समक्ष बारम्बार माग राख्दै आएका कर्मचारीले  यस पटक भने उपकुलपति, रेक्टर, अस्पताल निर्देशक, रजिस्ट्रार र मेट्रोनको कार्यालयमा ताला लगाए।

कर्मचारीको तालाबन्दीपछि उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले एक अपिल जारी गर्दै तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए। उनले कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा वृद्धि भइरहेको कारण भेला, सभा, गोष्ठी लगायत गतिविधि नगर्न परिपत्र गरिएको स्मरण गराए।

कर्मचारी कल्याण तदर्थ समितिले वैशाख ४ गते विज्ञप्तिमार्फत माग राखेको बताउँदै उनले बिनासूचना घेराउ तथा तालाबन्दी गराउने कार्यमा केही कर्मचारीहरु उत्तेजित भएको आरोप लगाए। कर्मचारीले राखेको माग सम्बन्धमा प्रतिष्ठान सदैव सकरात्मक रहेको उनको भनाइ छ।

विज्ञप्तिमा गिरीले अधिकांश माग आंशिक रुपमा सम्बोधन भइसकेको जनाएका छन्। हाल प्रतिकुल अवस्था रहेको र सहज परिस्थिति सिर्जना हुनासाथ मागहरु प्रतिष्ठानले क्रमशः पूरा गर्दै जाने प्रतिवद्धता पनि गिरीले जनाएका छन्। शनिबारसम्म पनि कर्मचारीले ताला नखोलेपछि प्रहरी प्रशासनको बलमा आइतबार तला फोडिएको थियो।

गिरीले जिल्ला प्रशासनले वैशाख ३१ गतेसम्म अत्यावश्यक बाहेक सार्वजनिक भेला तथा हिँडडुल गर्नमा समेत निषेध गरेको अवस्थामा त्यस्तो गतिविधि नगर्न चेतावनी दिएका थिए। सोही बमोजिम जिल्ला प्रशासन कार्यलयको रोहबरमा आइतबार ताला खोलिएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको निर्देशनमा आइतबार बिहान धरान प्रहरीले ताला तोडेको हो। सरकारले जारी गरेको जनस्वास्थ मापदण्ड विपरीत भेला हुने कार्य भइरहेको, कोभिड महामारीको बेला र सुनसरी प्रशासनले लकडाउन गरेको बेला ताला लगाएको भन्दै ताला तोडेको हो।

ताला तोडिएपछि आन्दोलनकारी कर्मचारीहरु थप आक्रोसित भएका छन्। उनीहरूले उपकुलपति कार्यालय अगाडि भेला भएर केही समय धर्ना र नाराबाजी समेत गरेका थिए।  

कर्मचारी कल्याण तदर्थ समितिका उपाध्यक्ष किरण भट्टराईले पदाधिकारीहरु समस्या समाधान गर्नभन्दा पनि प्रहरी लगाएर दमन गरेकाले थप आन्दोलन गर्न बाध्य भएको बताए। विगतमा पनि प्रतिवद्धता जनाउने तर माग सुनुवाइ नगर्ने परम्परा रहेको उनले स्मरण गराए।

प्रतिष्ठानमा डा. गिरी उपकुलपति नियुक्त भएदेखि अहिलेसम्म ३ पटक कर्मचारी तथा चिकित्सकले आन्दोलन गरिसकेका छन्।

वैशाख २७, २०७८ सोमबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।