अक्सिजन अभावमा ज्यान गुमाउँदै सुदूरपश्चिमका सङ्क्रमित
‘चाप थेग्न सक्ने अवस्था छैन', मालिका अक्सिजन ग्यास उद्योगका व्यवस्थापक नरेश शाहले भने, 'हामीले डेढ घण्टामा १५/१६ सिलिन्डर ग्यास उत्पादन गर्न सक्छौँ तर ६०/७० सिलिन्डर माग आउँछ। हामीले २४ घण्टामा डेढ सय सिलिन्डरसम्म मात्रै उत्पादन गर्न सक्छौँ, प्रदेशभरबाट त्यो अवधिमा ४/५ सय सिलिन्डर माग आउँछ।’
अक्सिजन नपाएरै जान्छ ज्यान
कोरोनाको दोस्रो लहर अन्तर्गत सङ्क्रमण र मृत्युदर निकै उच्च छ। सङ्क्रमितहरूले धमाधम ज्यान गुमाउँदै छन्।
त्यसो त सेती अस्पतालको पनि आफ्नै अक्सिजन जेनेरेसन प्लान्ट छ। त्यहाँ दैनिक रूपमा ७५ सिलिन्डर भर्न सक्ने क्षमता छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार क्षमता अनुसार यो मेसिनले पनि काम गर्न सकिरहेको छैन। '२४ घण्टामा ७५ सिलिन्डर उत्पादन गर्न सक्ने क्षमता भए पनि हामीले मुस्किलले ५५ सिलिन्डरसम्म मात्रै ग्यास उत्पादन गर्न सकिरहेको अवस्था छ', उनले भने,’ हामीसँग २ सय सिलिन्डर छन्। सिलिन्डर अभावका कारण पनि थप समस्या जटिल बन्दै गइरहेको छ।’
दोस्रो लहरको सङ्क्रमण अन्तर्गत सङ्क्रमित र मृत्युदर बढ्दो अवस्थामा छ। सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. शेरबहादुर कमरले भाइरस शक्तिशाली र व्यवस्थापन फितलो भएका कारण सङ्क्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको बताए।
'हामीसँग स्वास्थ्य उपकरणको चरम अभाव छ', उनले भने, ‘सङ्क्रमितले ज्यान गुमाउनुको मुख्य कारण अक्सिजन अभाव नै हो। हामीले पर्याप्त मात्रामा बिरामीलाई अक्सिजन दिन सकिरहेका छैनौँ। कोरोनाले फोक्सोमा समस्या पार्छ त्यसले श्वास फेर्न निकै गाह्रो हुन्छ, त्यसमै निमोनिया भयो भने शरीरमा अक्सिजनको मात्रा घट्दै जान्छ र सङ्क्रमितले ज्यान गुमाउँछ।’
'गत वर्षभन्दा मृत्युदर निकै बढेको छ,' डा. कमरले भने, ‘गत वर्षभरि ज्यान गुमाउने अनुपातमा अहिले सङ्क्रमितले दिनभरिमै ज्यान गुमाइरहेको अवस्था छ। यो समयमा सक्दो सतर्कता अपनाउँ, अस्पतालमा बेड छैन, अक्सिजन छैन, सङ्क्रमण भइहालेमा कसैले सहयोग गर्न सक्ने अवस्था छैन, त्यसैले संयम नगुमाऊँ, सक्दो होसियारी अपनाउँ।’
वैशाखयता ५५ जनाले ज्यान गुमाए
यो वर्ष वैशाखयता मात्रै कोरोना अस्पतालमा उपचारका लागि आएका ५५ जना सङ्क्रमितले ज्यान गुमाएका छन्। गत वर्षभरि कोरोना सङ्क्रमणका कारण ३२ जनाले मात्रै ज्यान गुमाएका थिए।
'अहिले मृत्युदर निकै उच्च छ,' सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने, ‘अहिले दैनिक रूपमा ४ देखि ८ जनाले ज्यान गुमाइरहेका छन्। वैशाखयता मृत्युदर निकै बढेको छ। फागुनमा एक र चैतमा पनि एक जनाले मात्रै ज्यान गुमाएका थिए तर वैशाखयता हालसम्म ५५ जनाले ज्यान गुमाइसेका छन्।’
सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म प्रदेशभर एक सय ९० जना सङ्क्रमितले ज्यान गुमाएका छन्। २३ हजार एक सय ३ जनामा सङ्क्रमण पुष्टि भएको छ। वैशाखयता मात्र प्रदेशभर ज्यान गुमाउनेको सङ्ख्या भने स्वास्थ्य निर्देशनालय र मन्त्रालयले दिन सकेका छैनन्।
अक्सिजन र जनशक्ति अभावले समस्या
कोरोना सङ्क्रमण भयावह बन्दै गएपछि कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माण गरिएको छ। तर अक्सिजन र जनशक्ति अभावले सञ्चालन गर्न कठिनाइ भइरहेको छ। 'हाललाई निर्माण कार्य पूरा भएको छ,' चौधरीले भने, ‘अक्सिजन र जनशक्तिको चरम समस्या छ। यहाँको अक्सिजन उत्पादनले सकिरहेको छैन। थप अक्सिजन आपूर्तिका लागl हामीले नेपालगन्ज र चितवनसँग समन्वय गरिरहेका छौँ। जतिसक्दो चाँडो सङ्क्रमितलाई गेटाबाट पनि सेवा दिन्छौँ।’
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मातहत रहने गरी आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा गेटामा आइसोलेसन निर्माण गरिएको हो।
अक्सिजन र जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
‘हामीले सक्दो प्रयास गरिरहेका छौँ,' मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गइसकेको छ। रोकथामका लागि सक्दो प्रयास गर्दैछौँ। सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका खेलौँ।’
वैशाख २७, २०७८ सोमबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।