यही गतिमा संक्रमण फैलियो भने कलैया अस्पतालले धान्न सक्दैन : डा गौरव महतो

यही गतिमा संक्रमण फैलियो भने कलैया अस्पतालले धान्न सक्दैन : डा गौरव महतो

कोभिडका बिरामी कत्तिको बढेका छन्?
पहिलेपहिले पिसिआर गर्नुभएकाहरु होम आइसोलेसनमा हुनुहुन्छ। कोभिडका गम्भीर बिरामी हाम्रो अस्पतालमा हुनुहुन्न।

गम्भीर बिरामीलाई कता रिफर गर्नुहुन्छ?
कलैया अस्पताल जनशक्ति र क्षमताको हिसाबले एकदमै कमजोर छ। जनशक्ति र अस्पतालको बेड क्षमता पनि कम भएकाले जटिल प्रकृतिका बिरामी वीरगञ्जमा रिफर गरेका छाँै। तर अस्ति कोभिडको नभई अन्य ६ जना बिरामी पठाउँदा पनि अस्पताल भरिएको भन्दै फिर्ता पठाइयो। गम्भीर प्रकृतिका कोभिडका बिरामी हुनुभयो भने पनि हामीले धान्न सक्ने अवस्था छैन।

कोभिडका बिरामीका लागि अस्पतालले के गरिरहेको छ?
नर्मल ओपिडी पनि चलाइरहेको छौं। पिसिआर परीक्षण सुरुआत गरेका छौँ। लक्षण देखिएकालाई परीक्षण गरेका हौँ। तर भर्ना हुन परेको अवस्थामा भने गाह्रो छ। अन्य रोगका बिरामीलाई पनि उपचार गर्नुपर्ने र कोरोना बिरामीलाई पनि उपचार गर्न  दुई वटा भवन छैन। १५ बेडको क्षमता फेरि थप्दैछौं। यसको लागि जनशक्तिको लागि अनुमति प्राप्त भएको छ।

कोभिडका बिरामी बढे भने अस्पतालले कसरी धान्छ त?
कसरी धान्छ म भन्न सक्दिनँ। अस्पतालमा ६० जनाको दरबन्दीमा १० जनामात्रै स्थायी कर्मचारी छौँ। ३० जना अस्पतालको समितिले राखेको छ। १६ जना फेरि करारमा नियुक्ति गरेर हामीले काम चलाइरहेका छौं। थाहा छैन, यो प्रदेश मातहतको अस्पताललाई किन पर्याप्त जनशक्ति उपलब्ध गराइएको छैन।

एक त जनशक्ति छैन, दोस्रो पोहोर कोरोनाकालमा काम गर्ने स्वास्थ्य कर्मचारीलाई कोभिड भत्ता दिने कुरा थियो। प्रदेश २ का सबै अस्पतालले पाए, हामीले पाएनौँ। मैले के भनेर काम लगाउने? यो अस्पताललाई किन अपहेलना गरिएको छ, मैले बुझेको छैन।

कोभिड भत्ता सबैले पाउने तर तपाईंहरुले नपाउनुको कारण?
त्यो त हामीलाई थाहा हुने कुरा भएन। मन्त्रीज्यूलाई पटकपटक भन्दा निकासा हुन्छ भन्ने बाहेक केही भन्नुहुन्न। तर हामीले अहिलेसम्म पाएनौँ। तर कोरोनाका बिरामी बढेको अवस्थामा अस्पतालले आफ्नो दायित्व भने पूरा गर्छ।   

पछिल्लो समय कोरोनाका बिरामीलाई अक्सिजन चाहिएको देखिएको छ, अस्पतालको के छ अवस्था?
हाम्रोमा १० वटा अक्सिजन सिलिन्डर छन्। अहिले त ती सिलिन्डर भरी नै छन्। सकियो भने पर्सा गएर भरेर ल्याउने गरिएको छ। थप चाहियो भने प्रदेश सरकारले व्यवस्था गर्नुपर्छ।

प्रदेश सरकारले प्रत्येक जिल्लाका अस्पताललाई अक्सिजन किन्नको लागि ५ लाख उपलब्ध गराउने कुरा गरेको थियो, केही सूचना पाउनुभयो?
खै, अहिलेसम्म कुनै जानकारी आएको छैन।

आइसियु र भेन्टिलेटर कति छन् यो अस्पतालमा?
आइसियु र भेन्टिलेटर नै छैन। एचडियु १५ वटा छन्। भेन्टिलेटर किन्न टेन्डर आह्वान गरेका थियौं। अब आउँदैछ।

भनेपछि अस्पतालको अवस्था नाजुक रहेछ है?
एकदमै नाजुक छ।

केन्द्र र प्रदेश सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
स्वास्थ्यकर्मी र अस्पतालको बेड थपिदिए हुन्थ्यो। पोहोरको स्वास्थ्य भत्ता उपलब्ध गराइदिए मलाई काममा खटाउन सहज हुन्थ्यो। स्वास्थ्यकर्मीको सपोर्ट त छ तर ओभर टाइम खटाउनलाई मलाई नै अप्ठ्यारो लागिरहेको छ।

 

वैशाख २१, २०७८ मंगलबार ०६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।