दिल्ली सम्झाउने बागमतीको दृष्य: बगर र भकारीभरी कोरोना संक्रमितको शवको लाइन

दिल्ली सम्झाउने बागमतीको दृष्य: बगर र भकारीभरी कोरोना संक्रमितको शवको लाइन
तस्बिर : उपेन्द्र खड्का

भारतमा कोरोना कहरको दोस्रो लहरले ताण्डव मच्याउँदा नेपालमा फाट्टफुट्ट संक्रमित देखिन थालिसकेका थिए। नेपाल-भारत सिमा खुल्ला थिए। हवाइमार्गबाट नेपाल आउने भारतीय नागरिकको संख्या ह्वात्तै बढेको थियो। 

दोस्रो लहरको चपेटामा पर्ने बालबालिकाको संख्या बढिरहँदा यता विध्यालय खुल्लै थिए।

नेपालमा दिल्लीको दृष्य दोहोरिन नदिने हो भने तत्काल नेपाल-भारतको हवाई र स्थलमार्ग बन्द गर्न, विध्यालय बन्द गर्न माग शुरु भइसकेको थियो। तर तत्काल सरकारले चासो देखाएन। जव सरकारले चासो देखायो ढिला भइसकेको थियो। बल्ल सोमबार सरकारले सिमा सिल गर्ने र अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गर्यो।

प्रधानमन्त्री केपी ओलीले नेपाल टेलिभिजनको पर्दामा यी निर्णय सार्वजनिक गरिरहँदा उता बागमती किनारामा दिल्लीको शवदाह गृहको दृष्य सम्झाउने गरी नेपाली सेनाको टोली बागमती खोलाको भकारी अनी खोला किनारमा कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शवदाह गर्दै थियो।

सोमबार पशुपति आर्यघाट क्षेत्र पुग्दा बागमति नदी किनारमा बगरैभरी शव जलिरहेका थिए। खोलाको बहाव रोक्न बनाइएको भकारीलाई घाटको रुपमा उपयोग गरिएको थियो। बगरले मात्र शव धान्न नसक्ने भएपछि एक्जाभेटर लगाएर शव जलाउने ठाउँ बनाउँन खोला सम्याउने काम भइरहेको थियो। 

पिपिइ लगाएका नेपाली सेनालाई शव वाहनबाट शव झिक्न भ्याइनभाई थियो। लाइनमा थिए शव।

नेपाली सेनाका प्रक्ता सन्तोष वल्लभ पौडेलले बेलुका साढे ५ बजेसम्ममा काठमाडौं उपत्यकामा मात्रै ३६ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको बताए। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सोमबार २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको ज्यान गयो।

OOO
कोरोना भाइरस संक्रमणका काराण मृत्यु भएका व्यक्तिको शव पशिपतिको विद्यतीय शव दाह गृहमा जलाउने गरिएको थियो। दोस्रो लहरमा जतिको ज्यान गइरहेको छ उनीहरुको भौतिक शरिर विदाइमा विद्धुतिय शव दाह गृहले मात्र धान्न सकेन।

पशुपति क्षेत्र विकास कोषका प्रशासकिय अधिकृत कुमार थापा मगर केहीदिन यता विद्युतीय शवदाह गृहमा लगिने शवको संख्या ह्वात्तै बढेको बताए।

पशुपतिको शव दाह गृहमा भएका दुई वटामध्ये एउटा मेशिन बिग्रिएको छ। दुईवटा मेशिनमध्ये एउटा विद्युतीय मेशिन हो, भने अर्को दाउराबाट जलाउन मेशिन हो। दाउराबाट शव दाह गर्ने मेशिन भने चलिरहेको छ। 

विद्युतीय मेशिन आइतबारबाट बिग्रिएपछि बागमति किनारामा कोरोना संक्रमणका कारण मृत्युभएका व्यक्तिको शव जलाउन थालिएको मगरले बताए। 

नेपाली सेनाले वैशाख महिनाको २० गतेसम्ममा मात्रै २ सय ४ वटा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिसकेको छ। गत चैतमा ३० वटा मात्रै शव व्यवस्थापन गरेको थियो। यस अघि कात्र्तिकमा उपत्यकामा सबैभन्दा धेरै ५ सय २८ वटा शव व्यवस्थापन गरेको थियो।

हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमणका कारण मृत्यु भएका १ हजार ७ सय ६४ वटा शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ। 

शव जलाउन खोला किनारामा माटो हालेर सम्याउँदै

सेनाले वैशाख १९ गते सम्ममा ३ हजार ५ सय ३८ वटा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिसकेको छ। जबकी स्वास्थ्य मन्त्रालयले वैशाख २० गते सम्ममा ३ हजार ३ सय ६२ जनाको मृत्यु भएको जनाएको छ।

सेनाले गरेको शव व्यवस्थापनको संख्या भन्दा मन्त्रालयले जनाएको मृत्युको संख्या कम हुनुले मन्त्रालय संक्रमित र मृतकको तथ्याक संकलनमा कति संवेदनहीन छ भन्ने प्रष्ट हुन्छ।
 

वैशाख २०, २०७८ सोमबार २३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।