कोरोनाको भयमा भक्तपुर : अक्सिजन अभाव, आइसोलेसन र भेन्टिलेटर प्याक

कोरोनाको भयमा भक्तपुर : अक्सिजन अभाव, आइसोलेसन र भेन्टिलेटर प्याक

स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजार अबको अवस्थामा गम्भीर प्रकृतिका सङ्क्रमित थपिएको अवस्थामा एचडियू, आइसियु तथा भेन्टिलेटर उपलब्ध गराउन सक्ने अवस्था नरहेको बताँउछन। 

‘उपलब्ध एचडियू, आइसियु र भेन्टिलेटर गम्भीर प्रकृतिका सङ्क्रमितबाट भरिएका छन्,’उनले भने,‘जिल्लामा अक्सिजनको अभाव छ।’

जिल्लामा २०० सिलिन्डर अक्सिजन मात्रै रहको र सबै प्रयोगमा आइरहेको छन्। त्यस्तै भक्तपुर अस्पतालमा रहेको १५ वटा भेन्टिलेटर सबै सङ्क्रमितले भरिएका छन्। 

स्वास्थ्य कार्यालय प्रमुख मिजारका अनुसार भक्तपुरमा कोरोनाको लहर सुरु भएदेखि हालसम्म कुल सङ्क्रमितको सङ्ख्या  कोरोना ११ हजार ९ सय नाघिसकेको छ। 

पछिल्लो समय सङ्क्रमित मध्ये ९८ जना विभिन्न अस्पतालमा छन् भने बाँकी सेल्फ आइसोलेसन तथा स्थानीय तहले बनाएका आइसोलेसन सेन्टरमा छन्। 

‘नगरपालिकाहरुले पनि आइसोलेसन बनाई रहेका छन्। प्राइभेट अस्पतालहरूले पनि कोभिड बेड सञ्चालन गरेर सङ्क्रमितको उपचार गरिरहेका छन्,’ स्वास्थ्य प्रमुख मिजार भन्छन्।

भक्तपुरमा सबैभन्दा बढी सङ्क्रमित मध्यपुर ठिमी नगरपालिकामा र कम सङ्क्रमित चाँगुनारायण नगरपालिकामा छन्। 

निषेधाज्ञामा थप कडाइको तयारी

प्रदेशगत रूपमा हेर्दा भक्तपुर बाग्मती प्रदेशका १३ जिल्लामध्ये तेस्रो नम्बरमा पर्दछ। उपत्यकाको तेस्रो नम्बरमा पर्दछ। 

सङ्क्रमण बढ्दै गएपछि भक्तपुर प्रशासनले निषेधाज्ञा लगाएको छ। तर, जोखिम बढ्दै गएपछि प्रशासनले निषेधाज्ञामा पनि कडाइ गर्ने तयारी थालिएको बताएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई हिँडडुल तथा आवतजावत नियन्त्रण र सरकारी कार्यालय सञ्चालनमा कडाइ गर्न लागिएको बताँउछन। 

सिडिओ भट्टराई डिसिएमसी र सिसिएमसीको बैठकबाट दुवाकोट स्थित काठमाडौँ मेडिकल कलेजलाई २ सय बेडसम्म चलाउन गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने निर्णय भएको बताँउछन। 

त्यस्तै जिल्लाका ४ नगरपालिकामा एकाएक कोभिड अस्पतालको व्यवस्थापन गरिएको उनको भनाई छ। 

प्रशासन कार्यालयका अनुसार प्राइभेट अस्पतालहरू मध्यपुर ठिमी,भक्तपुर ईन्टरनेशनल, सुर्यविनायक र  चाँगुनारायण अस्पताललाई आजदेखि सङ्क्रमित राख्न थालिएको छ। 

‘सक्ने गर्दैछौँ,बाँकी भगवान् भरोसा’ 

भक्तपुरमा मध्यपुर ठिमी नगरपालिका कोरोनाको हटस्पट बनिरहेको छ। नगरपालिकामा मध्यपुरमा कोरोनाको दोस्रो लहर सुरु भएयता ५ सय बढी सङ्क्रमित थपिएका छन्। 

उपप्रमुख अञ्जना देवी मधिकर्मी सङ्क्रमण बढ्दो क्रममा रहेको बताइउछिन। ‘पछिल्लो समय नगर सदस्यदेखि कर्मचारी र वडाध्यक्षसम्म सङ्क्रमित भई सकेका छन्। गम्भीर प्रकृतिका सङ्क्रमित छैनन्,’उनले भनिन,‘ सङ्क्रमण बढेपछि वैशाख १६ बाट कृषि विकास बैङ्क तालिम केन्द्रमा ६९ बेडको आइसोलेसन सञ्चालन गरेका छौँ। ५ बेड भने कर्मचारीका लागि छुट्ट्याएको छ।’ 

नगरपालिकाले नेपाल–कोरिया मैत्री अस्पतालमा आफ्नै आइसियु र भेन्टिलेटर सहितको कोभिड वार्ड सञ्चालनमा ल्याइएको उपप्रमुख मधिकर्मीले जानकारी दिइन। 

‘नेपाल–कोरिया मैत्री अस्पतालमा पहिला सञ्चालन गरिएको कोभिड वार्ड साधारण वार्ड बनाइएको थियो। फेरी १४ कोभिड वार्ड सञ्चालनमा ल्याएका छौँ,’उनले भनिन,‘त्यहाँ ६ आइसियु वार्ड र ३ भेन्टिलेटर सहितको वार्ड सञ्चालनमा छन्।’

उपप्रमुख मधिकर्मी अव भने धान्न नसक्ने अवस्था आएको बताउँदै सक्ने जति गरिरहेका दाबी गरिन्। 

'सङ्क्रमित बढ्दै गएका छन्। अव चाहिँ हाम्रो क्षमताले पुग्दैन होला' उनले भनिन्।

वैशाख २०, २०७८ सोमबार २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।