अस्पतालमा बेड अभाव, आर्यघाटमा चिता अभाव, अघिल्लो वर्षभन्दा चार गुणा बढी शव

अस्पतालमा बेड अभाव, आर्यघाटमा चिता अभाव, अघिल्लो वर्षभन्दा चार गुणा बढी शव

काठमाडौं : कोरोना भाइरस संक्रमित बिरामी बढ्दै जाँदा अस्पताल भरिँदै गएका छन्। अस्पतालमा बेड, आइसियु र भेन्टिलेटरको अभाव हुँदा उपचार गर्न असहज भएको चिकित्सकहरुले बताइरहेका छन्।

एकातर्फ अस्पतालमा बिरामीको लाइन छ भने अर्कोतर्फ, घाटमा शव जलाउन पनि पालो कुर्नुपर्ने अवस्था छ।

मंगलबार पशुपति आर्यघाट पुग्दा शव जलाउनका लागि मृतकका आफन्तहरु पालो कुरेर बसेको देखियो। पशुपति क्षेत्र विकास कोष घाट सेवा केन्द्रका अनुसार पछिल्लो केही दिनयता शवको संख्या बढेसँगै शव जलाउन पालो कुर्नुपरेको हो।

अघिल्लो वर्ष भन्दा चार गुण बढी शव
पशुपतिको दाउराबाट शव जलाउने घाटमा वैशाख लागेपछि शव ह्वात्तै बढ्न थालेका हुन्।

आर्यघाटमा २०७८ वैशाख १ देखि १४ गतेसम्म दुई सातामा मात्रै ४ सय ५० शव पुगे। जबकी अघिल्लो वर्ष २०७७ वैशाखमा एक महिनाभरमा ३ सय ८४ वटा मात्र शव पुगेका थिए।

गत वर्ष (२०७७) को वैशाख १ देखि १४ गतेसम्मकै तथ्यांक हेर्ने हो भने पनि दुई सातामा १ सय १ वटा मात्रै शव पुगेका थिए। तर यो वर्षको वैशाखको दुई हप्तामा नै अघिल्लो वर्षको वैशाखको दुई हप्ताको तुलनामा ४ गुणाभन्दा बढी शव पशुपति आर्यघाटमा लगिएको छ।

वैशाख १४ सम्मको तथ्यांक हेर्दा पशुपतिको दाउराबाट शव जलाउने घाटमा दैनिक औसत ३० वटाभन्दा बढी शव पुग्न थालेका छन्। वैशाख १३ गते घाटमा ४४ वटा शव पुगेका थिए।

गत वर्षहरुको वैशाखको तुलनामा यो वैशाखमा दैनिक शव बढिरहेको घाट सेवा केन्द्रले जनाएको छ। घाट सेवा केन्द्रका अनुसार घाटमा पुग्ने शव बढिरहेकाले शव जलाउन लाइन बस्नुपर्ने अवस्था छ।

दाउराबाट एउटा शव जल्न करिब ३ घन्टा लाग्छ। पशुपति घाटमा १२ वटा शव जलाउने चिता छन्। जसमा ११ वटा चितामा सर्वसाधरणलाई जलाइन्छ। ११ मध्ये पनि एउटा चितामा जलाउँदा महँगो शुल्क तिर्नुपर्छ। १० वटा चिता सर्वसाधरणको पहुँचमा छन्।

२०७७ फागुमा पशुपतिको घाटमा १ हजार ७२ र चैतमा १ हजार ३३ वटा शव पुगेका थिए।

गत वर्ष कोरोनाका कारण मानिसको मृत्यु हुन थालेपछि पशुपतिको विद्युतीय शव दाहगृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव मात्रै जलाइन्छ। तर पशुपतिको दाउराबाट शव जलाउने आर्यघाटमा पनि पछिल्लो समय शवको संख्या बढ्नु संक्रमितहरुको अस्पताल नपुग्दै मृत्यु भइरहेको त छैन भन्ने प्रश्न उब्जिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी अस्पतालसम्म नपुगी घरैमा पनि संक्रमितको मृत्यु भएको हुनसक्ने बताउँछन्। डा. मरासिनी भन्छन्, ‘कोरोना टेस्ट नगरेका र वृद्ध मान्छेको मृत्यु भएको हुनसक्छ।’

कतिपय अवस्थामा कोरोना संक्रमण भए पनि परीक्षण गर्दा नेगेटिभ आउने गरेको समेत उनी बताउँछन्। यसरी नेगेटिभ देखिएका व्यक्तिको मृत्यु हुनसक्ने भएकाले मृत्युसंख्या बढेको हुनसक्ने उनी बताउँछन्।

डा. मरासिनी भन्छन्, ‘हेर्दा कोरोना हो, ३ चोटी टेस्ट गर्दा पनि पोजिटिभ आउँदैन।’ डा. मरासिनीले व्यक्तिको मृत्युको यस्ता विषय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय गरी सोधखोज गर्नुपर्ने बताए।

विद्यतीय शवगृहमा पनि शव बढे
कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको मात्रै शव जलाइने पशुपतिको विद्युतीय शव दाहगृहमा पनि शवको संख्या बढिरहेका छन्।

विद्युतीय शव दाहगृहमा गत फागुन (२०७७) मा २१ र चैतमा २७ वटा कोरोना संक्रमणका कारण मृत्यु भएका शव जलाइयो। तर विद्युतीय शव दाहगृहमा वैशाख १ गतेदेखि १३ गतेसम्म दुई साता नबित्दै ८१ वटा कोरोना संक्रमणका कारण मृत्यु भएका शव पुगेका छन्।

विद्युतीय शव दाहगृहमा दैनिक ८/९ वटा शव पुग्ने गरेको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगर बताउँछन्। उनी भन्छन्, ‘आइतबार १३, सोमबार १० र मंगलबार १० वटा शव आएका थिए।’

प्रशासकीय अधिकृत मगरका अनुसार अहिले पशुपतिमा शव जलाउने दुई वटा मेसिन छन्। एउटा विद्युतीय शवदाह मेसिन छ भने अर्को दाउराबाट जलाउने मेसिन छ। यी दुवै मेसिनमा अहिले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको मात्रै शव जलाइन्छ।

दाउराबाट जलाउने मेसिनमा एउटा शव जल्न करिब डेढ घन्टा लाग्छ भने विद्युतीय मेसिनमा करिब ४५ मिनेट।

मन्त्रालयको भन्दा सेनाको तथ्यांकमा बढी मृत्यु
नेपाली सेनाले व्यवस्थापन गरेको शवको संख्याभन्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालको तथ्यांकमा संक्रमणका कारण मृत्यु भएका व्यक्तिको संख्या कम देखिन्छ।

स्वाथ्य मन्त्रालयले वैशाख १४ गतेसम्ममा ३ हजार १ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। जबकी नेपाली सेनाले वैशाख १४ गतेसम्ममा ३ हजार २ सय ६६ वटा कोराना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिसेकेको छ।

नेपाली सेनाले गरेको शव व्यवस्थापनभन्दा मन्त्रालको तथ्यांकमा संक्रमणका कारण मृत्यु भएका व्यक्तिको संख्या कम हुनुले मन्त्रालयले मृतकको तथ्यांक नै लापरबाही तरिकाले राखेको देखिन्छ।  

यसरी सेनाले गरेको शव व्यवस्थापनको संख्याभन्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृत्युको संख्या कम देखिनुमा मन्त्रालयको रिपोर्टिङ प्रणाली (सिस्टम) र समन्वयको अभाव भएको डा. मरासिनी औंल्याउँछन्। उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयको समन्वय र रिपोर्टिङ सिस्टम नै छैन।’

कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले संक्रमण पुष्टि भएका शव मात्रै व्यवस्थापन गर्छ।

सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार संक्रमण पुष्टि नभएका शव सेनाले व्यवस्थापन गर्दैन। प्रवक्ता पौडेलले भने, ‘कोभिड पोजिटिभको सर्टिफिकेट, डेथ सर्टिफिकेट, परिवारको सहमतिपत्रका आधारमा शव व्यवस्थापन गरिन्छ।’

होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिको शव पनि वडा कार्यालय हुँदै सिसिएमसीमार्फत सूचना आएपछि मात्रै शव व्यवस्थापन गर्ने सेनाले बताएको छ।

वैशाख १६, २०७८ बिहीबार ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।