कसरी जन्मियो ‘मेरो पनि हैन र यो देश’ ?
काठमाडौँ : नेपाली साङ्गीतिक आकाशमा पछिल्लो समय चर्चामा रहेको गीत हो, ‘मेरो पनि हैन र यो देश’। यो गीतका सर्जक तथा गायक हुन् प्रकाश सपुत।
दोहोरी ब्याटल, बोल माया, गलबन्दी, फुटेका चुरा, बदला बरिलै जस्ता लोकप्रिय गीतमा आवाज भरिसकेका प्रकाश गायकसँगै मोडल तथा म्युजिक भिडियो निर्देशक पनि हुन्।
विशेषतः दोहोरी गायकका रूपमा चिनिएका प्रकाशले ‘मेरो पनि हैन र यो देश’ जस्तो राष्ट्रिय भावनाको गीत लेख्ने र भिडियो बनाउने प्रेरणा कहाँबाट प्राप्त गरे? यो गीतको जन्म कसरी भयो भन्ने विषयमा उकेराकर्मी भोला अधिकारीसँग आफ्नो अनुभव यसरी सुनाएः
मेरो दिमागले लामो समयदेखि राष्ट्रिय भावनाको गीत पनि बनाउनुपर्छ भन्ने सोचिरहेको थियो। सोचेको कुरा फुर्सदको समयमा डाइरीमा टिपेँ। गीतको पहिलो हरफ ‘मेरो पनि हैन र यो देश’ लेखिसकेपछि अन्य शब्दहरू बिस्तारै थप्दै जाँदा अहिलेको गीत सिर्जना भएको हो।
दोहोरी ब्याटल तथा लोक दोहोरी गीत गाएकै थिएँ। मेरो मनमा राष्ट्रिय भावनाका गीत सिर्जना गरेर सबै समुदायलाई समेट्नु पर्छ भन्ने लागिरहेको थियो। अर्को कुरा, मेरो रुचिको दायरा पनि फराकिलो छ। त्यसैले पनि म सबै विषयमा काम गर्न रुचाउँछु।
सबैभन्दा माथि त राष्ट्रियता हुन्छ नि। म गीत बनाउँदा समाजका हरेक गतिविधि, हरेक अङ्ग र तिनीहरूको भावनालाई समेट्न खोज्छु। त्यही कारणले यो गीत जन्मिएको हो।
हुन त मैले सबै खालका गीतहरू गाइरहेको छु। तर, मेरो चिनारी चाहिँ दोहोरी तथा ब्याटलबाट बढी भयो। त्यही भएर अब छुट्टै पहिचान बनाउनुपर्छ भनेर राष्ट्रिय भावनाको गीत निकालेको हुँ।
ट्रेन्डिङको आस थिएन
सबै कलाकारको अथाह सहयोगले ‘मेरो पनि हैन र यो देश’ गीत निर्माण गर्न सफल भइयो। राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरू अहिलेसम्म युट्युबमा ट्रेन्डिङमा आएको थाहा छैन।
तर, यो गीतको फरक कन्सेप्टलाई दर्शक तथा श्रोताले मन पराइदिनुभयो। अहिले ट्रेन्डिङ एकमा आउनु र सबैले गीतको प्रशंसा गर्नु मेरो अहोभाग्य हो। यसबाट मैले राम्रो गीतलाई फरक खालको कन्सेप्टमा प्रस्तुत गरियो भने राष्ट्रिय भावनाको गीत चल्छ भन्ने थाहा पाएँ। अहिलेको गीतले यो कुरा साबित गरेको छ।
रियालिटी शोको कन्सेप्ट होइन
मैले यो गीतको भिडियो रियालिटी शोको कन्सेप्टमा बनाएको होइन। र, सोचेको पनि छैन। मेरो लागि यो गीतको भिडियो फरक सोच र फरक कन्सेप्ट थियो। अहिले धेरैले रियालिटी शोको प्रभाव हो भनिरहनुभएको छ। बरु एउटा नाटकको कन्सेप्टलाई गीतमार्फत देखाउन खोजेको चाहिँ हो।
कसरी एउटै स्टेजमा धेरै जना कलाकार तथा अडियन्स अटाउन सक्छु भन्ने थियो। गीतको भिडियोमा यति धेरै कलाकार थिए कि म्यानेज गर्नै कठिन भइरहेको थियो। तर मैले पहिलेदेखि नै सबैलाई आ-आफ्नो पार्ट जिम्मा दिएर गीतको सुटिङ थालेको थिएँ। त्यस कारण गीतको सुटिङ एक दिनमा नै सक्न सफल भयौँ।
अनागरिक शब्द
यो शब्द कार्यक्रमको सिलसिलामा भेटिएका पात्रहरूबाट आएको हो। एउटा समूहले कार्यक्रम गर्न जाँदा स्टेजमा प्रस्तुति दिएको कन्सेप्ट आयो। कन्सेप्ट त आयो तर त्यो समूहको नाम के राख्ने त भन्ने सन्दर्भमा म अन्योलमा परेँ।
गीतका लाइनहरू पटक पटक सुनेँ। गीतका शब्दहरूले देशप्रति गुनासो गरेको पाएँ। आफ्नै देशभित्र पनि अनागरिक भएजस्तो गुनासो गीतले पोखेको छ। त्यसपछि अनागरिक शब्द ठिक हुन्छ भन्ने लाग्यो।
जसले नागरिक हुन पाएका छैनन्, नागरिक भएको अनुभूति गर्न पाएका छैनन्। तिनीहरूको नाममा समर्पित गीत बनाऊँ न त भन्ने हिसाबले स्टेजमा गीत गाउनेहरूको नाम अनागरिक राखेका हौँ।
अझै देशमा अनागरिक छन्
अझै पनि धेरै मानिस राज्यको पहुँचबाट बाहिर छन्। कतिले राज्य भएको महसुस नै गर्न पाएका छैनन्। निकै थोरै मानिसलाई मात्र यो देश सजिलो छ, जो राज्यको पहुँचसम्म पुगेका छन्।
सिस्टम राम्रो नभएका कारण धेरैले दुःख पाइरहेका छन्। नागरिकता होस् वा अन्य सानातिना काम गर्न पनि भनसुन गर्नुपर्ने हुन्छ। श्रमको समेत सम्मान हुँदैन। सामान्य काम गर्न पनि चिनजानको मान्छे चाहिने, नत्र काम नै हुँदैन। तिनीहरूले आफूलाई अनागरिक महसुस गरिरहेका छन्।
यो सबै सिस्टम नभएर हो। जहाँ सिस्टमले काम गर्छ, त्यहाँ तर राजनीतिक पहुँच तथा भनसुनको आवश्यकता नै पर्दैन। आफैँ काम गर्छन्, सिस्टममा हिँड्छन्। राज्यबाट पाउने सुविधा सिस्टम फलो गरेर पाउँछन्।
यस्तै अनागरिक बनाइएका वर्गको चिन्ता हामीले यो गीतमा समेटेका हौँ।
वैशाख १६, २०७८ बिहीबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।