श्रमिकलाई लकडाउनकै डर, छैन सरकारको भर

श्रमिकलाई लकडाउनकै डर, छैन सरकारको भर

इटहरी : चर्को घाममा उखु पेल्नमै व्यस्त छिन् इन्दिरा गैरिपिप्ले। इटहरीको मुख्य चौकमा धुलो र घामको पर्वाह नगरी दिनभर काम गर्छिन् उनी। गर्मी समयमै बढी बिक्री हुने भएकाले उनी विना संकोच उखुको रस निकालेर बिक्री गर्छिन्।

घरपरिवारको आम्दानीको मुख्य श्रोत नै उनको कमाइ हो। इन्दिराका श्रीमान् पनि सोही पेसामा आवद्ध छन्। एउटै पेसा पनि फरकफरक संचालन गरिरहेका छन्। अहिलेसम्म खुसीसाथ नै परिवार चलाउँदै आएकी उनलाई कोरोनाको तनाव लाग्न थालेको छ। कोरोनाभन्दा पनि लकडाउनलाई ठूूलो समस्या मान्छिन् उनी।

लकडाउन भयो भने आम्दानीको बाटो बन्द हुने उनी बताउँछिन्। दैनीक काम नगर्दा खानेकुरा किन्न नसकिने उनको भनाइ छ।

इटहरी– १९ का कमल तामाङ ४ वर्षदेखि सफारी चलाएर परिवार पाल्दै आएका छन्। उनको पनि आम्दानीको मुख्य श्रोत सिटी सफारी हो। पुनः लकडाउन हुने हल्लाले उनको मनमा त्रास उत्पनन हुन थालेको छ। अघिल्लो वर्षभन्दा यस पटक बढी समस्या हुने उनले सुनाए।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै सफारी नचलाउन प्रहरीले निर्देशन दिएका बेला उनले सफारी चलाएका थिए। बैंकको किस्तादेखि छोराछोरीको भोकले धेरै समस्या पार्ने गरेको उनको भनाइ छ।

केही महिना सहकारीमा जम्मा गरेको पैसाले काम चलाएका तामाङ यसपटक भने बचत समेत नभएको बताउँछन्। “ऋण तिर्दै यतिका महिना बित्यो। बचत गर्ने समयनै पुगेन,” उनले भने, “अब पनि लकडाउन भयो भने निक्कै गाह्रो हुन्छ। जे गरेपनि लकडाउन चाहिँ नगर्नु नि।”

इटहरी– ९ का रमेश नेपाली पनि नियमित सफारी चलाउँछन्। परीवारको मुख्य आम्दानी नै एउटा सफारी भएको उनले बताए।  “५ जनाको परीवार पाल्न मुस्किल परेको बेला फेरि लकडाउन भयो भने म त मर्छु यार,” उनले भने, “सरकारमा हुनेलाई सजिलो छ, हामी मजदुरलाई कम्ता गाह्रो छ।”

सेनेरिटी युनिसेक्स सैलुनका संचालक उत्तम पौडेल पनि लकडाउनको त्रासमा छन्। सैलुन नखोले पनि भाडा तिर्नुपरेको सुनाउँदै उनले अब लकडाउन भए अवज्ञा गरिने बताए। स्वास्थ्य सतर्कता अपनाएर व्यापार पसल खुला गरिनुपर्ने उनको बुुझाइ छ।  

रन्जन सैलुनका संचालक रन्जन ठाकुर पनि बिना कमाइ मासिक २५ हजार भाडा तिर्ने अवस्था नआओस् भन्दै कामना गरिरहेका छन्। लकडाउनको कारण थलिएको व्यवसाय भर्खर पुरानै अवस्थामा आउन थालेको सुनाउँदै उनले अब लकडाउन भयो भने थला परीने बताउँछन्।

अघिल्लो पटक संैलुन बन्द गर्ने सरकारको निर्णय विरुद्ध इटहरीमा नाई संघले आन्दोलन नै गरेको थियो। सैलुनबाट धेरै संक्रमण फैलिने भन्दै सरकारले सैलुनलाई अनिवार्य बन्द गर्न निर्देशन दिएको थियो।

कोरोना संक्रमणको दर वृद्धी भएसँगै निषेधाज्ञाको तयारी भइरहेको छ। प्रदेश १ को सबैभन्दा धेरै संक्रमित देखिएको मोरङसँगै सिमाना जोडएिको जिल्ला भएकोले सुनसरीमा लकडाउन हुनसक्ने देखिएको छ।

वैशाख १५, २०७८ बुधबार २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।