अक्सिजन अभावको हल्ला : स्वास्थ्य मन्त्रालय भन्छ- कालो बजारी नभए अभाव हुँदैन

अक्सिजन अभावको हल्ला : स्वास्थ्य मन्त्रालय भन्छ- कालो बजारी नभए अभाव हुँदैन

नेपालमा अस्पतालहरुमा समेत अक्सिजन प्लान्ट भएकाले अक्सिजन अभाव नहुने मन्त्रालयको दावी छ। नेपालमा अहिले भारतबाट अक्सिजन ल्याउनुपर्ने अवस्था छ की छैन भन्ने जिज्ञासामा प्रवक्ता डा. गौतमले भने, ‘अहिले चाहिँ छैन। अलिअलि बोर्डरतिर ल्याए होलान्।’

स्वास्थ्य मन्त्रालयकै सहप्रवक्ता डा. समीरकुमार अधिकारी नेपालमा दैनिक ७ हजार सिलिन्डर भर्न सकिने अक्सिजन रहेकाले कालोबजारी नभए तत्काल अक्सिजन अभाव नहुने बताउँछन्।

तर, अक्सिजन सिलिन्डर घरमा राख्ने, कालोबजारी हुने र भारतमा निर्यात भएको अवस्थामा भने अक्सिजनको अभाव हुने उनले बताए। डा. अधिकारीले भने, ‘घरमा सिलिन्डर नराख्ने र कालो बजारी नहुने हो भने अक्सिजनले धान्छ।’

तर, कालोबजारी गर्नेलाई नछोडिने गौतम बताउँछन्। ‘अनावश्यक गर्नेलाई पुलिस लगाएर ल्याउने हो,’ कालो बजारी हुन नदिन मन्त्रालयले के गर्नसक्छ भन्ने जिज्ञासामा प्रवक्ता गौतमले भने, ‘संक्रमक रोग ऐन अनुसार थुन्नुपर्छ।’

निजी क्षेत्रका अक्सिजन उत्पादकहरु पनि तत्काल अक्सिजनको अभाव नहुने भए पनि सिलिन्डरको भने अभाव हुने जोखिम रहेको बताउँछन्।

औषधि उत्पादकका अनुसार नेपालमा निजी क्षेत्रमा करिब २२ वटा अक्सिजन उत्पादक उद्योग छन्। जसमा काठमाडौं उपत्यकामा करिब ८ र उपत्यका बाहिर १४ वटा छन्।

नेपालमा औसत दैनिक ६/७ हजार हाराहारी सिलिन्डर औषधि उत्पादन हुने कान्तिपुर अक्सिजन प्रालिका बजार प्रबन्धक कुमार चुडाल बताउँछन्। पहिले सामान्य अवस्थामा त नेपालमा अक्सिजन नै नबिक्ने गरेको पनि चुडालले बताए।

चुडालले भने, ‘अहिले मात्रै हो अक्सिजन बिक्न थालेको। नर्मल अवस्थामा त अक्सिजन नै बिक्दैनथ्यो।’

नेपालमा करिब १ लाख अक्सिजन सिलिन्डर भएको र थप २० हजार सिलिन्डर ल्याउने पहल भइरहेको मन्त्रालयले जनाएको छ। गौतमले अक्सिजनको अभाव भएको ठाउँमा सिलिन्डरमार्फत लान सकिने बताए।

तर, अक्सिजन प्लान्ट नभएको ठाउँमा भने सिलिन्डरबाट अक्सिजन लाँदा महँगो पर्ने उनी बताउँछन्। ‘अक्सिजन हल्का हुन्छ। अक्सिजन राख्ने सिलिन्डर गह्रौं हुन्छ,’ उनले भने, ‘त्यसैले एउटा ठाउँबाट अर्को ठाउँमा अक्सिजन लाँदा ट्रान्सपोटेसन महँगो पर्छ।’

अस्पतालमा भएका प्लान्टबाट सिधै अक्सिजन सप्लाई हुन्छ। सिलिन्डर आवश्यक हुन्न। तर अक्सिजन प्लान्ट नभएका ठाउँमा भने सिलिन्टरबाट अक्सिजन लानुपर्ने हुन्छ।

त्यसैले उनले अक्सिजनको समस्या नहुने भएपनि सिलिन्डरको भने समस्या हुन सक्ने बताए। उनले भने, ‘ग्यासको समस्या हैन। सिलिन्डरको समस्या हुन्छ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भने संक्रमितले अस्पतालमा बेड भरिँदै गएकाले अक्सिजनको अभाव देखिँदै गएको बताउँछन्। ‘तत्काल अभाव भइहालेको छैन,’ उनले भने, ‘तर, यही तरिकाले संक्रमितको संख्या बढ्दै गएको खण्डमा अक्सिजनको अभाव हुन्छ।’

कोरोना संक्रमित बिरामी बचाउने नै अक्सिजन भएकाले अक्सिजनको अभाव हुने जोखिम रहेको डा. कार्की बताउँछन्। सरकारले ढिलै भए पनि अक्सिजनको जोहो गर्नुपर्ने उनी बताउँछन्। भारतमा अक्सिजनको अभाव भएकाले नेपालमा पनि अक्सिजन अभाव हुनसक्नेतर्फ उनी सजग गराएका छन्।

संघका अधिकांश ठूला सरकारी अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नै छैनन्। भएका पनि बिग्रिएर थन्किएका छन्। अस्पतालले अक्सिजन सिलिन्डर खरिद गरेर काम चालउँछन्।

तर, मन्त्रालयले भने ५/६ वटा अस्पताललाई प्लान्ट राख्नका लागि रकम दिए पनि व्यवस्थापकीय समस्याका कारण अस्पतालहरुले प्लान्ट इन्स्टल गर्न नसकेको प्रवक्ता गौतमले बताए। ‘कात्तिक महिनामा नै अक्सिजन, सिलिन्डर, प्लान्टका लागि पैसा पठाइदिएका थियौं,’ उनले भने, ‘जहाँ व्यवस्थापक राम्रा थिए, त्यहाँ स्टाब्लिस्ट गरे। जहाँ लिडरसिप कमजोर थियो, त्यहाँ भएको छैन।’

वीर र पाटनमा बिग्रिएको प्लान्ट
वीर र पाटन अस्पतालमा अक्सिजन प्लान्ट भए पनि बिग्रेकाले अक्सिजन उत्पादन भएको छैन। अस्पतालले सप्लायर्सबाट अक्सिजन सिलिन्डर किनेर नै चलाइरहेको छ।

वीर अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. अच्युत कार्की सो अक्सिजन प्लान्ट बने अक्सिजनको कमी नहुने बताउँछन्। ‘अक्सिजन प्लान्ट छ। तर, बेलाबेलामा बिग्रिरहन्छ,’ डा. कार्कीले भने, ‘हिजो पनि सप्लायर्स, टेक्निसियन लगायतले मेहनत बनाउन गर्यौं।’  

वीर अस्पतालको अक्सिजन प्लान्टले राम्रो काम गरे २ सय जनासम्म बिरामीका लागि अक्सिजन अभाव नहुने डा. कार्की बताउँछन्।

वीर अस्पतालमा दैनिक १ सयदेखि डेढ सयसम्म ठूलो सिलिन्डर अक्सिजन खपत भइरहेको अस्पतालले जनाएको छ।

यसअघि अस्पतालमा कोरोना संक्रमित बिरामी मात्रै राख्दा दैनिक ३ सय हाराहारी अक्सिजन सिलिन्डर खपत भएको कार्कीले बताए।

मन्त्रालय र विभागले पनि अस्पतालमा लिक्विड अक्सिजन राखिदिने भनेअनुरुप ठाउँ तयारी गरिरहको अस्पतालले जनाएको छ।

ललितपुरको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले अहिले नै अक्सिजनको हाहाकार नभए पनि संक्रमित थपिँदै जाँदा अक्सिजनको अभाव हुनसक्ने बताए। उनी अस्पतालमा सिलिन्डरमार्फत अक्सिजन आयात गरेर चलाइरहेको बताउँछन्। डा शाक्यले भने, ‘अहिलेसम्म हाहाकार भइसकेको अवस्था छैन। तर टाइट छ। बेलाबेलामा सप्लायर्सले टाइममा नल्याइदिँदा कहिलेकाहीँ समस्या हुन्छ।’

अक्सिजन कम हुँदै गएपछि केही अक्सिजन स्टक (रिजर्भ) मा राखेर मगाइहाल्ने गरेकाले पनि अहिलेसम्म अभाव भने नभएको उनी बताउँछन्।

अस्पतालमा अक्सिजन प्लान्ट भए पनि करिब डेढ वर्षदेखि बिग्रिएको उनले बताए। उनले भने, ‘मेसिन बनाउन खोज्दाखोज्दै बनेन।’

अस्पतालले नयाँ अक्सिजन प्लान्ट लिने प्रक्रियामा रहेको उनले बताए। नयाँ अक्सिजन प्लान्ट कहिले आउँछ त भन्ने जिज्ञासमा उनले भने, ‘नयाँ लिने प्रक्रियामा छौं। केही गडबढ भएन भने असारसम्म सकिन्छ की भन्ने आशा छ।’ प्रतिघन्टा १२ सय लिटर अक्सिजन उत्पादन गर्ने प्लान स्थापना गर्न तयारी रहेको उनी बताउँछन्।  

नयाँ अक्सिजन प्लान्ट ल्याएपछि अस्पतालमा आवश्यकमध्ये करिब ८० प्रतिशतभन्दा बढी अक्सिजन उत्पादन हुने उनी बताउँछन्। कोरोना संक्रमितको संख्या बढिरहेकाले आइसियु, भेन्टिलेटर र अक्सिजनको अभाव हुने जोखिम रहेको उनले बताए।

टेकुमा लिक्विड
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा लिक्विड भर्ने अक्सिजनको प्लान्ट रहेको छ। अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला अक्सिजन भरिरहेकाले अक्सिजनमा भने कमी नहुने बताउँछन्। उनले भने, ‘लिक्विलड अक्सिजन भएकाले खासै सर्टेज हुँदैन।’ तर टेकु अस्पतालमा अहिले सिलिन्डरबाट पनि अक्सिजन भरिरहेको बताएको छ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले तत्काल अक्सिजन अभाव नहुने बताउँछन्। उनले भने, ‘अहिलेसम्म अक्सिजनको अभाव छैन।’

सशस्त्र र नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट बन्दै
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पनि अक्सिजन प्लान्ट छैन। सशस्त्र अस्पतालमा नयाँ अक्सिजन प्लान बन्ने प्रक्रियामा रहेको अस्पतालले बताएको छ। करिब १५ दिनभित्र अक्सिजन प्लान्ट तयार हुने सशस्त्र प्रहरी अस्पतालका सशस्त्र प्रहरी उपरिक्षक डा. प्रवीण नेपालले जानकारी दिए। उनले भने, ‘अस्सिजन प्लान्ट बन्दैछ। केही दिन लाग्छ।’

नयाँ बन्ने प्लान्टबाट दैनिक एक सय सिलिन्डरजति अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ। तर उनले त्यो प्लान्टबाट उत्पादन हुने अक्सिजनले अस्पतालमा पर्याप्त नहुने बताए। उनले भने, ‘कोभिडको लागि पनि पुग्दैन। हाप जति भ्याउँछ।’ अहिले सप्लायर्सबाट अक्सिजन सिलिन्डर किनिरहेको उनले बताए। अहिलेसम्म सशस्त्र अस्पतालमा भने अक्सिजन अभाव नभएको डा. नेपाल बताउँछन्।

त्यसैगरी नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट नभए पनि करिब एक महिनामा सुचारु गर्नेगरी प्लान्ट राख्ने काम भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए। उनले भने, ‘पूर्वाधारको तयारी छ। एक महिनामा बन्छ।’ अहिले भने सिलिन्डरमा सप्लायर्सबाट लिएर अक्सिजन चलाइरहेको उनले बताए। प्रहरी अस्पतालमा संक्रमित प्रहरीलाई मात्रै उपचारका लागि राखिएको छ।

सेनाको आफ्नै प्लान्ट
छाउनिस्थित वीरेन्द्र सैनिक अस्पतालमा भने आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन्छ। सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले सैनिक अस्पताललाई पुग्ने एउटा अक्सिजन प्लान्ट रहेको बताए। प्रवक्ता पौडेलले भने, ‘एउटा प्लान हो। वीरेन्द्र सैनिक अस्पतालमा नै छ त्यो प्लान्ट।’

टिचिङमा ३ वटामध्ये एउटा प्लान्ट बिग्रियो
 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भएका ३ वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रिएको छ। त्यो बिग्रिएको प्लान्टबाट कम मात्रामा अक्सिजन उत्पादन भएको अस्पतालले जनाएको छ।

बाँकी २ वटामा ५/५ सय लिटर गरी प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन भइरहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन्।

बिग्रिएको प्लान्टबाट प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन हुने भए पनि मर्मत गर्नुपर्ने अवस्था भएकाले त्यसको उत्पादन क्षमता कम भएको अस्पतालले जनाएको छ। मर्मत गर्ने सामान मगाए पनि फ्रान्समा कोरोना कारण अड्किएको सूचना अधिकारीले बताए। यो तत्कालै मर्मत हुने अवस्थामा नरहेको अस्पतालले बताएको छ।

टिचिङ अस्पतालमा अक्सिजनको अभाव हुदै गएको अधिकारी बताउँछन्। सानो र ठूलो अक्सिजन सिलिन्डर दैनिक खरिद गरिरहेको अस्पतालका सूचना अधिकारीले जानकारी दिए। सूचना अधिकारी भन्छन्, ‘दैनिक १ सय वटाभन्दा बढी ठूलो सिलिन्डर खपत हुन्छ। सानो १ सय वटा खपत हुन्छ।’ नर्मल आइसियु, दम, शल्यक्रिया लगायतका बिरामीलाई अक्सिजन चाहिने भएकाले अस्पतालको उत्पादनले नधान्ने उनी बताउँछन्।

अस्पतालमा नै उत्पादिन अक्सिजन अस्पतालमा पाइपलाइनबाटै पुग्छ भने बिरामी एक ठाउँबाट अर्को ठाउँमा सार्दा तथा विभिन्न जाँच गर्दा अक्सिजन दिनुपर्ने बिरामी र पाइपलाइन नभएका ठाउँका बिरामीका लागि अक्सिजन सिलिन्डर आवश्यक हुन्छ। केहीगरी प्राविधिक कारणले अक्सिजन उत्पादन नभए तत्काल सिलिन्डर आवश्यक हुनसक्छ।

भक्तपुर अस्पतालमा अक्सिजन प्लान छैन। अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले नयाँ अक्सिजन प्लान जडान गर्ने तयारी रहेको बताइन्। डा. गौतमले अक्सिजन प्लान्टको सामान नआएर प्लान्ट तयार नभएको बताउँछिन्। डा. गौतमले भनिन्, ‘१/२ महिना जतिमा तयार हुन्छ।’

१ सय अक्सिजन सिलिन्डरमध्ये दैनिक ५० वटा खपत भइरहेको भक्तपुर अस्पतालले जनाएको छ। अहिलेसम्म अक्सिजनको अभाव नभएको उनले बताइन्।

प्रसूति गृहमा पनि अक्सिजन प्लान्ट छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार प्रसूति गृहमा रहेको अक्सिजन प्लान्ट २४ घन्टा चलाउन मिल्छ।

वैशाख १४, २०७८ मंगलबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।