डा. रुद्रले बिर्सिन नसकेको डाक्टर मृत्युको घटना
यस्तै एक घटना सम्झिन्छन्, राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक तथा स्पाइनल सर्जन एवं सहप्राध्यापक डा. रुद्रप्रसाद मरासिनी।
घटना करिव ६ महिनाअघिको हो।
मोटरसाइकल दुर्घटनामा हात भाँचिएका करिब २६ वर्षीय डाक्टर शल्यक्रियाका लागि ट्रमा सेन्टर आइपुगे। डा. रुद्र नेतृत्वको टोलीले ती डाक्टरको शल्यक्रिया सुरु गरे। तर, शल्यक्रिया गर्दागर्दै ती डाक्टरको मृत्यु भयो।
‘ती डाक्टरलाई बचाउन निकै कोसिस गरियो। तर, सफल भएनौं,’ डा. रुद्रले खिन्न हुँदै त्यो पल सम्झिए। उनको मनमा त्यो घटना बिर्सनै नसक्ने क्षणको रुपमा गढेको छ रे।
उनका अनुसार ती डाक्टरको मृत्यु शल्यक्रियाको त्रुटिका कारण भएको थिएन।
‘बेहोस बनाउने औषधि (एनेस्थेसिया) लगायतको साइड इफेक्ट अनी जटिलताका कारण ती डाक्टरको मृत्यु भयो,’ उनले सुनाए।
शल्यक्रियापछि मात्रै ती डाक्टरलाई अन्य स्वास्थ्य समस्या समेत रहेको भन्ने आफूहरूलाई थाहा भएको उनले सुनाए।
‘ती डाक्टरमा बेलाबेलामा बेहोस हुने तथा मुटुको समस्या रहेको पछि मात्रै थाहा भयो,’ उनले सुनाए, ‘शल्यक्रियाअघि ती चिकित्सकले पनि यसबारे केही भनेनन्।’
शल्यक्रियाअघि आवश्यक केही स्वास्थ्य परीक्षणपछि शल्यक्रिया गरे पनि ती डाक्टरको ज्यान नबचेकाेमा खिन्न भने छन्। डा. रुद्रले भने, ‘बेहोस पार्ने औषधिले सबैलाई असर गर्दैन। तर, जसको स्वास्थ्यमा समस्या छ। उसलाई असर गर्न सक्छ।’
चितवनमा एकै महिना ६ सुत्केरीको मृत्यु भएपछि...
चितवनको अर्को घटना पनि उन ले भुलेका छैनन्। एमडी अध्ययनपछि चितवनको भरतपुर अस्पतालमा उनी मेडिकल सुपरिटेन्डेन्ट (मेसु)का रूपमा कार्यरत रहँदा १ महिनाको अवधिमा लगातार ६ जना सुत्केरीको मृत्यु भयो। सबैको समस्या स्वास्थ्य जटिलता निम्तिएको थियो रे।
अस्पतालमा लगातार सुत्केरीको मृत्यु भएपछि बिरामीका आफन्तले लापरवाहीका कारण मृत्यु भएको भन्दै दबाब दिन थाले। त्यो घटनापछि बढेको उताव उनी अहिले पनि सम्झन्छन्।
‘त्यो बेला १ महिनासम्म मेरो लाइफ पूरै स्ट्रेसमा बितेको थियो,’ उनले सुनाए, ‘मान्छे मर्दा एकातिर गिल्टी फिल भयो। अर्काेतर्फ लगातार मृत्यु भएपछिको तनाव।’
तर, त्यो संयोग मात्रै भएको उनले सुनाए। छानबिन गर्दा डाक्टरको गल्तीका कारण नभई बिरामीमा निम्तिएको स्वास्थ्य जटिलताले सुत्केरीमो मृत्यु भएको देखिएको उनी बताउँछन्।
त्यो घटनाले बिरामीका आफन्तसँग कुराकानीलगायत व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान पनि सिकेको उनको अनुभव छ। उनले भने, ‘बिरामीका आफन्तलाई आफन्त गुमाउँदाको तनावको समयमा कसरी सम्झाउने भन्ने कलाको विकास भयो।’
संखुवासभाका दुई घटना
एमबिबिएस अध्ययनपछि सरकारी स्थायी जागिरे भएर संखुवासभाको खाँदबारी जिल्ला अस्पताल काम गर्दाका केही तीतामीठा क्षण उनी भुल्दैनन्।
भोजपुरको दिङ्लाकी करिव १५ वर्षकी युवती उच्च ज्वरो आएर संखुवासभाको खाँदबारी जिल्ला अस्पताल भर्ना भएकी थिइन्। ती युवतीलाई डा. रुद्रको टिमले मेनेन्जाइटिसको आशंका गरे। र। युवतीको उपचार थालियो।
रोगको यकिन परीक्षण गर्ने उपकरण थिएनन्। उनले भने, ‘डाइग्नोसिस खासै थिएन। अन्दाजीका भरमा डाइग्नोसिस गर्नुपर्थ्याे।’
रोगको पहिचान गर्दै जाँदा डाक्टरलाई थाहा भयो– युवतीमा मस्तिस्कको मलेरियाको समस्या भएको रहेछ। तर, रोगको यकिन पहिचान नहुँदै युवतीको मृत्यु भइसकेको थियो।
‘अस्पताल भर्ना गरेको करिव दुई दिनमा उनको मृत्यु भयो,’ डा. रुद्रले सम्झिए, ‘मेनन्जाइटिसको लाइनमा ट्रिटमेन्ट गरियो। मलेरियाको लाइनमा ट्रिटमेन्ट गरिएन।’
यातायातको असुविधाका कारण डाक्टरले तराई वा काठमाडौंमा लान आफन्तलाई सुझाए पनि सुविधासम्पन्न अस्पतालमा लैजान नसक्दा युवतीको मृत्यु भएको उनले सुनाए।
उनको मनमा अझै पनि प्रश्न उब्जिन्छ–‘समयमै सुविधासम्पन्न अस्पतालमा उपचार पाएको भए ति युवती बाँच्न सक्थिन की !’ त्यो घटनाले उनको मन खिन्न भयो। ‘टाइममा रिफर गरेर मेडिकल एक्सपर्टले उपचार गरेको भए युवती बाँच्थिन की भन्ने फिलिङ भएको थियो,’ डा. रुद्रले युवतीे मृत्युको घटना सम्झँदै भने, ‘सिनियर नै मै थिएँ। मैले जे जानें, त्यही उपचार गरें।’
युवतीको मृत्युपछि उनका आफन्तले लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पतालमा हंगामा मच्चाएको उनले सुनाए। तर, लापरवाही नभई मेडिकल जटिलता (कम्लिकेसन)का कारण युवतीको मृत्यु भएको उनले सुनाए।
०००
संखुवासभामा काम गर्दाको अर्को घटना पनि उनी भुल्दैनन्। ५ जना बच्चा जन्माइसकेकी करिव ४३ वर्षकी महिला गर्भपतन गर्न अस्पताल पुगेकी रहिछन्। डा. रुद्रले ती महिलाको गर्भपतन गर्न थाले। दुर्भाग्य ! औजारले गर्भपतन (भ्रुण झिक्ने) गर्ने क्रममा महिलाको पाठेघरमा प्वाल नै पर्याे।
‘पाठेघरमा प्वाल परेपछि शरीरमा इन्फेक्सन फैलियो,’ उनले भने, ‘इन्फेक्सन भयो भन्ने थाहा पाइयो। तर, यातायातको असुविधाले गर्दा रिफर गर्न सकिएन।’
दुई दिनपछि भने विराटनगरको अस्पतालसँग समन्वय गरेर उनले ती महिलालाई रिफर गरे। विराटनगरमा उपचार पाएपछि ती महिला बाँचिन्।
उनले त्यो बेला महिलालाई बचाएको घटना सम्झिए, ‘अस्पतालसँग समन्वय गरेर बचाइयो।’
पछि ति महिला फलोअपमा आउँदा पनि आफूले भेटेको उनले सुनाए।
जिरीमा ६५ वर्षीय पुरुष मृत्युको घटना
एमबिबिएस अध्ययनपछि दोलखाको जिरीस्थित जिरी अस्पताल सरकारी करार जागिरे भएर काम गर्दाको करिव ६५ वर्षका पुरुषको मृत्यु भएको घटना उनी अहिले पनि सम्झन्छन्। अस्पतालमा पुर्याइएका ती पुरुषलाई छातिको इन्फेक्सन (संक्रमण) भएको भन्ठानेर डाक्टरले अस्पतालमा भर्ना गरे। तर, ती पुरुषको मृगौला लगायतका शारीरिक अंगले समेत काम गर्न छाडिसकेको रहेछ। भोलिपल्ट उनको मृत्यु भयो।
‘काठमाडौं पठाउन पाएको भए बिरामी बाँच्थे की भन्ने लाग्यो,’ उनले घटना सम्झिए, ‘त्यो घटनाले गिल्टी फिल भएको थियो।’
अध्ययन र जागिर यात्रा
२०५० सालमा अर्घाखाँचीको धनचौरस्थित जनजागृति माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भए। उनले भने, ‘म सधैं फस्ट हुन्थें। नेभर सेकेन्ड।’
उनी बिहान घाँस, दाउरालगायत घरको काम गरेपछि डेढ घण्टा हिँडेर विद्यालय पुग्थे।
उनले भने, ‘बिहान–बेलुका घरको कामले पढ्न भ्याइँदैनथ्यो। त्यसैले स्कुल जाँदा बाटोमा पनि पढ्थ्यौं।’
एसएलसीपछि नै उनमा डाक्टरी अध्ययनको भोक जागेको हो। त्यो बेला गाउँमा सामान्य चोटपटक तथा रुघाखोकी लाग्यो भने पनि उपचारका लागि सदरमुकाम नै पुग्नुपथ्र्यो। जसले उनलाई डाक्टर पढ्ने इच्छा जगायो।
उनका बुवा इन्डियन आर्मी भएकाले एसएलसीपछि आइएस्सी अध्ययनका लागि उनी भारतको वाराणासीमा गए। २०५३ सालमा वाराणासीको डिएभी कलेजबाट प्लस टु उत्तीर्ण भए।
प्लस टु उत्तीर्ण भएपछि नेपाल फर्किएका उनले एमबिबिएस अध्ययनका लागि निकै प्रयास गरे। तर, छात्रवृत्तिमा नाम निस्किएन। पूरै पैसा तिरेर पढ्न सम्भव थिएन उनलाई।
उनले भने, ‘तीन वटा सरकारी मेडिकल कलेजमा इन्ट्रान्स इक्जाम दिएँ। तीन वटामा नै नाम निस्किएन। प्राइभेटमा पैसा तिरेर पढ्न सक्ने अवस्था थिएन।’
त्यसपछि उनमा भेटेरिनरी डाक्टर बन्छु भन्ने सोच आयो। र, उनी चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा भेटेरिनरी विषय (चिकित्सक) पढ्न थाले।
तर, उनलाई मान्छेको डाक्टर बन्ने भोक मरेकै थिएन। उनले भने, ‘पढिरहेको थिएँ। तर, आफूले पढिरहेको विषयमा सन्तुष्ट थिइनँ।’ त्यसैले भेटेरिनरी विषय अधययन गरिरहे पनि एमबिबिएस छात्रवृत्तिका लागि पनि पुस्तक पढ्न छोडेनन्। उनले अठोट लिए– जसरी पनि छात्रवृत्तिमा नाम निकाल्छु।
त्यसपछि फेरि एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा दिए। र, छात्रवृत्तिमा नाम निकाले। त्यति बेलासम्म उनले चितवनमा दुई वर्ष भेटेरनरी कोर्स अध्ययन गरिसकेका थिए।
त्यसपछि उनी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०५६ सालबाट एमबिबिएस अध्ययन गर्न थाले। र, २०६२ सालमा उनले एमबिबिएस उत्तीर्ण गरे।
उनी दोलखाको जिरीस्थित ‘जिरी अस्पताल’ सरकारी करार जागिरे भएर १ वर्ष काम गरे। जिरी अस्पतालमा नै काम गरिरहेको समयमा उनले लोकसेवाको परीक्षा दिई सरकारी स्थायी जागिरे भए।
सरकारी स्थायी जागिरे भएपछि संखुवासभाको खाँदबारीस्थित जिल्ला अस्पतालमा उनको पोस्टिङ भयो।
संखुवासभामा दुई वर्ष काम गरेका उनले त्यहाँ जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारीसमेत सम्हाले।
त्यो बेला संखुवासभा जिल्लामा परिवार नियोजनको क्याम्प लिएर गाउँगाउँमा पुगेको उनले बताए। क्याम्पमा गएको समयमा एक दिनमा करिव ५० जनासम्मको भासेक्टोमी गरेको उनले सुनाए।
०००
उनले फुर्सद मिलेको समयमा काठमाडौं आएर तालिम लिइहाल्थे। एमडी अध्ययन गर्नुअघि नै उनले मिनिल्याब, भासेक्टोमी, गर्भपतन लगायतको तालिम लिएका थिए। जसले गर्दा जिल्लामा गएर काम गर्न उनलाई थप सहज भयो।
संखुवासभापछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा २०६६ सालदेखि अर्थोपेडिक विषयमा एमएस (एमडी) विषयको अध्ययन गर्न थाले। उनले एमएसको अध्ययनको लागि पहिलो नम्बरमा नै नाम निस्किएको सुनाए। डा. रुद्रले २०६९ सालमा ‘अर्थोपेडिक सर्जरी’मा एमएस अध्ययन पूरा गरे।
आफ्नो क्यारेक्टरका कारणले नै आफूलाई सर्जरी विषय अध्ययन गर्ने रुचि भएको उनले सुनाए। उनले भने, ‘मान्छेको आफ्नो क्यारेक्टर हुन्छ। मेराे क्यारेक्टर पनि सर्जन बन्ने नै थियो। त्यसैले सर्जन अध्ययन गरें।’
सर्जनहरु सिम्पल, सबैसँग हाइहेल्लो गर्ने, किसिमका हुने उनको अनुभव छ। सर्जनहरु क्याजुअल हुने उनको अनुभूति छ।
अध्ययनपछि डा. रुद्र चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा पोस्टिङ भए। र, भरतपुर अस्पतालमा उनले ६ वर्ष अर्थोपेडिक सर्जनका रूपमा काम गरे। भरतपुर अस्पतालमा काम गरेको करिव तीन वर्षपछि उनी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) भए।
त्यसो त उनले भरतपुर अस्पतालमा कार्यरत हुँदै २०७० सालमा भारतको नयाँ दिल्ली पुगेर इन्डियन स्पाइनल इन्जुरी सेन्टरबाट फेलोसिप पाई स्पाइनल सर्जरी (मेरुदण्डको शल्यक्रिया)को ६ महिने तालिम (कोर्स) लिए। जसले उनको सर्जरीको सीप र ज्ञान थप निखारियो।
त्यसपछि उनले अथोपेडिक विभागको विभागीय प्रमुखको जिम्मेवारीसमेत सम्हाले। उनले भने, ‘मैले धेरै ऊर्जा प्रयोग गरेर संस्थाको विकास गरेको भरतपुर अस्पताल हो।’
चितवनपछि २०७५ सालमा काठमाडौंको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत राष्ट्रिय ट्रमा सेन्टरमा पोस्टिङ भयो। ट्रमा सेन्टरमा उनी प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक तथा स्पाइनल सर्जनका रूपमा कार्यरत छन्। ११ औं तहका डाक्टर उनी अस्पतालमा अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागको विभागीय प्रमुखमको जिम्मेवारीमा समेत छन्।
१०३ वर्षका पुरुषकाे शल्यक्रिया
एमबिबिएस अध्ययन गर्दा नै सिनियर डाक्टरको सहयोगी भएर शल्यक्रिया गरेको उनको अनुभव पहिलो पटक धनकुटामा काम लाग्यो। एमबिबिएस अध्ययन गर्दा बाहिरी जिल्लामा गएर पनि काम गर्नुपर्थ्याे।
त्यसैगरी सबैभन्दा पाको १०३ वर्षका पुरुषको शल्यक्रिया गरेका छन्। ‘उहाँको हिपको जोर्नी फेरेको छु,’ उनले भने, ‘लडेर भाँचिएको रहेछ। बोकेर ल्याइएको उनी हिँडेरै घर जान सक्ने भएपछि आशीर्वाद दिनुभो। आनन्द लाग्यो।’
लामो शल्यक्रिया, व्यस्त जीवनशैली
उनकी श्रीमती पनि नर्स (लेक्चर) भएकाले परिवारमा यो पेशा बुझ्न सहज भएको उनी बताउँछन्। उनले भने, ‘बच्चाले पनि बाबा दिउँसो आउनुहुन्न। उनका बुवाआमाले नै छोराहरूको रेखदेख गर्छन्। राति मात्रै आउनुहुन्छ भन्ने बुझिसकेका छन्। उनका ११ र ४ वर्षका दुई छोरा छन्।
अरुलाई जीवनशैली अपनाउन सिकाउने उनी आफै भने ठिक समयमा खानपान गर्न भ्याउँदैनन्। कहिलेकाहीं त एउटै व्यक्तिको १७-१८ घण्टासम्म शल्यक्रिया गर्नुपर्ने उनको अनुभव छ। करिव १ वर्षअघि करिव ४२ वर्षकी महिलाको १७-१८ घण्टा लगाएर मेरुदण्डको ट्युमरको शल्यक्रिया गरेको उनले सुनाए, जुन शल्यक्रिया सफल भयो।
असफलतामा खिन्नता
कहिलेकाहीं ७-८ घण्टा लगाएर मेहनत गरेर शल्यक्रिया गर्दा पनि सोचेजस्तो सफलता नपाउँदा ग्लानि अनुभूति हुने गरेको उनको अनुभूति छ। उनले भने, ‘म ढाडको अप्रेसन धेरै गर्छु। घण्टौं लगाएर, मेहनत गरेर ढाडको अप्रेसन गरिन्छ। चाहना खुट्टा चलोस्, हिँडोस् भन्ने हुन्छ। तर, कतिपय मानिसको खुट्टामा तागत आउँदैन। त्यति बेला अलि दिक्क लाग्छ।’
अनुशासनका लागि गाली
जुनियर तहमा बसेर काम गर्दा शारीरिक काम बढी तर मानसिक तनाव कम हुने उनी बताउँछन्। तर, सिनियर तहकालाई शारीरिक काम कम तर मानसिक तनाव बढी हुने उनको अनुभूति छ।
चिकित्सा पेशा संवेदनशील भएकाले विद्यार्थीलाई अनुशासनमा राख्नका लागि माया मिसिएको गाली आवश्यक हुने उनी बताउँछन्। उनले भने, ‘सिनियरले जुनियरलाई अनुसासनमा राखेन भने त मेडिकल फिल्डमा कामै हुँदैन। हेलचेक्रयाइँले मान्छेको ज्यान जान सक्छ।’
वैशाख ११, २०७८ शनिबार २१:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।