लोप हुँदै थारु संस्कृति, पाँच वर्षमा पाँच सय पोखरी मासिए

लोप हुँदै थारु संस्कृति, पाँच वर्षमा पाँच सय पोखरी मासिए

इटहरी : सुनसरीको रामधुनी– ८ मा रहेको ग्रामथानको जग्गा अतिक्रमण भई प्लटिङ सुरु भएको छ। इटहरी ४ को कचना ग्रामथानलाई कचना महादेव मन्दिरमा रूपान्तरण गरिएको छ।

बिक्षुधामी ग्रामथान भत्काएर शिव नारायण मन्दिर बनाइएको छ। इटहरी– ५ मा रहेको ग्रामथान मासेर सत्सङ्ग मन्दिर स्थापना गरिएको छ।

त्यसैगरी इटहरी– ४ मा रहेको चौधरी पोखरी मास्ने काम सुरु भएको छ। छेउछाउका घरहरूले पोखरी अतिक्रमण गर्दा स्थानीय सरकारले वास्ता गरेको छैन।

केही महिना अगाडि पोखरीमाथि नै वडा कार्यालय बनाउने अभियान नै सुरु भयो। बाटो, भवन तथा अन्य प्रयोजनमा पोखरीमाथि अतिक्रमण सुरु भएको छ। थारु कला झल्किने चित्र (कोहबर) लोप भइसकेको छ। 

थारु समुदायको बाहुल्य रहेको मोरङ र सुनसरीकामा थारुका ग्रामथान, पोखरी, इनार, पानीघट्ट, गौचर, चित्रकला तथा कलात्मक घरहरू अतिक्रमणमा परेका छन्। जथाभाबी प्लटिङ गरी बजार विस्तार गर्ने काम सुरु भएपछि संस्कृति हराउन थालेको हो। विकास निर्माणको बहानामा जथाभाबी सहरीकरण गरिँदा मधेसी आदिवासी भनेर चिनिने थारु समुदायको पहिचान हराउँदै गएको छ।   

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुरु भएको भौतिक विकासको लहरले धेरै ग्रामथान र पोखरी लोप हुने क्रम सुरु भयो। भौतिक विकासको नाममा मन्दिर तथा भवन बनाउँदा ग्रामथान हराएको थारु अगुवाहरू गुनासो गर्छन्।  

थारु संस्कृति बचाउ अभियानका संयोजक तेजनारायण चौधरी स्थानीय संस्कृति लोप हुने खतरा बढेको बताउँछन्। स्थानीयबासीलाई नै कला, संस्कृतिप्रतिको मोह घट्दै गएको कारण यस्तो अवस्था आएको उनले बताए।  

थारुहरूले सबै देवता एक ठाउँमा राखेर पूजा गर्ने स्थानलाई ग्रामथान भन्ने गरिएको चौधरीको भनाइ छ। उनका अनुसार थारु समुदायभित्र पर्ने राजधामी, खवास, चौधरी (मोरङगिया र सम्तरिया) हरू विशेष गरी ग्रामथानमा पूजा गर्ने गर्छन्। 

चौधरीको जीवनयापन तथा कलासँग जोडिएका पोखरी तथा इनारहरू त्यसै गरी समाप्त हुँदै गएका छन्। बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासको कारण पोखरीहरू मासिएको चौधरीको भनाइ छ।

पछिल्लो ५ वर्षमा सुनसरीमा मात्र ५ सय पोखरी मासिएको उनले बताए। हरेक टोलमा हुने ग्रामथान अहिले वडा स्तरमा पनि पाउन छाडेको भन्दै उनले दुःख व्यक्त गरे। 

सुनसरीमा थारु बाहुल्य रहेको इटहरी र रामधुनीका धेरै बस्तीहरू पोखरी र ग्रामथानविहीन भएका छन्। मोरङको सुन्दरहरैचा, बुढीगंगा, धनपालथान, सुनबर्सी नगरपालिकामा पनि सोही अवस्था देखिएको छ। 

थारु समुदायमा चैत महिनामा बहरजात्रा, सन्सारी पूजा, सिरुवा पर्वमा पनि ग्रामथानमा गई पूजाआजा गरेर आशीर्वाद लिने परम्परा छ। अखाडी पूजा, नेमानी पूजा लगायत शुभ कार्य गर्दा समेत ग्रामथानमा गई पूजा–अर्चना गरी आशिष् लिने गरिन्छ।

भू–माफियाको चपेटामा परेर भत्किएका ग्रामथानको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको अर्का अभियन्ता पदम अधिकारी बताउँछन्। विकासको नाममा संस्कृतिमाथि अतिक्रमण बढेको उनले बताए। विभिन्न बहानामा थारु संस्कृतिमाथि अतिक्रमण बढ्दै गएको अधिकारीले प्रस्ट पारे। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा संस्कृति स्थलहरूको संरक्षण गर्ने भनी प्रस्ट व्यवस्था भए पनि जनप्रतिनिधिहरुले ग्रामथान संरक्षणका लागि कुनै पहल नगरेको उनको गुनासो छ।

थारु समुदायकै मेयर भएका पालिकामा समेत थारु संस्कृतिको संरक्षण भएको पाइँदैन। सुनसरीको इटहरी, दुहबी, झुम्काका प्रमुखहरू सोही समुदायबाट निर्वाचित भएका छन्। तर तिनै पालिकामा सबैभन्दा धेरै ग्रामथान तथा पोखरी लोप भएका छन्।

थारु समुदायको चित्रकला समेत संरक्षणको अभावमा हराउँदै गएको छ। घरमा बनाउने आकर्षक मूर्ति तथा चित्रहरू कङ्क्रिटका घरले विस्थापित गर्दै लगेका छन्। 

वैशाख ११, २०७८ शनिबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।