मुसाले तार काटेको भन्दै वीर अस्पतालले सिटी मेसिन एक महिनादेखि थन्कायो
काठमाडौँ : वीर प्रशासनले मुसाले तार काटेको भन्दै सिटी मेसिन एक महिनादेखि थन्काएको छ। एक महिना अगाडि एक महिना अगाडि बिग्रेको मेसिनको फ्यान १४ दिन अगाडि बनाइएको थियो। फ्यान बनाएर मेसिन चलाउन सुरु भएको तीन दिनमै मेसिन नचलेको भन्दै मेसिन थन्काइयो।
सिटी मेसिनको फ्यान बनाउँदा वीर प्रशासनले करिब आठ लाख खर्च गरेको थियो। आठ लाख खर्चेको मेसिन मुस्किलले तीन दिन टिक्यो।
अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले मेशिन बनाएको ३ दिनमा नै पुनः बिग्रिएको बताए। ‘बनाएको ३ दिनपछि मेशिनले काम गरेन,’ उनले भने,‘पुनः कम्पनीलाई देखाउँदा मुसाले २ ठाउँ तार काटेको भनेका छन्।’
कम्पनीले मेशिनको तार मुसाले काटेको बताएपछि खरिद शाखा र निर्देशकलाई खबर गरेको डा. शर्माले बताए।
अस्पतालका अनुसार मुसाले काटेको तार नेदरल्याण्डबाट ल्याउनुपर्छ। त्यसैले मेसिन थन्किएको हो। अस्पताल स्रोतका अनुसार मर्मत गर्ने कम्पनीले तार ल्याइसकेको छ। तर जोडिएको छैन।
फिलिप्स कम्पनीको १ सय २८ स्लाइसको सो मेशिनको २ वर्षको वारेन्टी सकिएको डा. शर्माले बताए। शर्माका अनुसार थप एक वर्ष कम्पनीले मेन्टेन गरिदिने भए पनि सामानका पैसा भने लाग्छ। अढाई वर्ष अघि किनिएको सिटी पहिलो पल्ट बिग्रिएको शर्मा बताउँछन्।
मर्मत ढिलो
मेशिन चल्दा चल्दै आवाज आएर मेशिनले काम नगरेपछि दुई हप्ता भन्दा ढिला गरी पङ्खा फेरिएको थियो। कम्पनीलाई व्यवस्थापन पक्षले सिटी बनाउन ढिला अनुमति दिँदा मेशिन ढिला मर्मत भयो।
रेडियोलोजी विभागका कर्मचारीले गत फागुन २० गते नै मेशिनमा समस्या आउने थाहा पाएपछि अस्पतालको व्यवस्थापनलाई खबर गरेका थिए। तर, व्यवस्थापनले समयमै मर्मतको चासो नदिँदा मेशिन बिग्रिएको विभागका एक कर्मचारीको दाबी छ।
बिग्रिएको सो मेशिनले दैनिक औसतमा ५० जना बिरामीको सिटी स्क्यान हुन्थ्यो। भएको एउटा सिटी पनि बिग्रिएपछि एकातर्फ सिटी स्क्यानका लागि बिरामी अन्य अस्पताल जानुपर्ने बाध्यता छ।
शरीरका अङ्ग अनुसार २५ सय देखि ८ हजार हाराहारी शुल्क तिरेर बिरामीले सेवा लिने भए पनि निजी अस्पताल तथा ल्याबमा चर्को शुल्क तिर्नुपर्छ।
वैशाख १०, २०७८ शुक्रबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।