कोरोना नियन्त्रणमा कर्णाली प्रदेश, सुगममा एम्बुलेन्स र दुर्गममा हेलिकप्टरको व्यवस्था

सुर्खेत :कर्णाली प्रदेश सरकारले कोरोनाका जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गमका जिल्लामा हेलिकोप्टरको व्यवस्था गर्ने भएको छ।
सामाजिक विकास मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले सुगम जिल्लाका लागि कम्तीमा १० वटा एम्बुलेन्स भाडामा लिई सञ्चालन गर्ने र विकट जिल्लाका लागि हेलिकोप्टरसहितको व्यवस्था गर्ने जानकारी दिइन्।
कर्णाली प्रदेश भित्रने विभिन्न नाकाहरूमा कडाइ गरी हेल्थ डेस्क र आइसोलेसन समेत बनाई तत्काल एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरिएको मन्त्री केसीले बताइन्। ‘भारत लगायत अन्य ठाउँबाट आएकाहरूको तथ्याङ्क संकलन गरी आइसोलेसनको संख्या वृद्धि गर्न ७९ वटै स्थानीय तहसँग समन्वय गरिएको छ,’ मन्त्री केसीले भनिन्, ‘यदि अवस्था भयावह भए एम्बुलेन्स र हेलिकप्टरद्वारा उद्धार गरी अस्पताल पुर्याइनेछ।’
विशेष गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुम पश्चिममा प्रविधिसहितको दक्ष जनशक्ति २४ सै घण्टा तयारी अवस्थामा राखिएको मन्त्री केसीको भनाई छ। यस्तै १० जिल्लाका जिल्ला अस्पतालमा आइसोलेसन र अन्य तयारीहरू समेत गरिएको छ।
कोरोनाका बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिडसम्बन्धी विशेष अस्पताललाई सामाजिक विकास मन्त्रालयले आवश्यक सहयोग र निर्देशन दिने मन्त्रालयले जनाएको छ।
अस्पतालका शैया बढाइने
दोस्रो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप पाँच सय शैयाको आइसोलेसन बेड विस्तार गर्ने मन्त्री केसीले जानकारी दिइन। यस्तै प्रदेशका सबै जिल्ला अस्पतालमा थप ५० शैयादेखि १०० शैया थप्ने प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच सय शैयासम्मका कोरोना संक्रमणका बिरामीको उपचार गर्नका लागि शैया विस्तार गर्ने निर्णय प्रदेश सरकारले गरेको सामाजिक विकास मन्त्री विमला केसीले जानकारी दिइन्।
वीरेन्द्रनगरले छुट्टै ‘कोभिड अस्पताल’
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोभिड–१९ महामारी सुरु भएसँगै अस्पताल बनाउने तयारी गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने तयारी गरेको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए। कोभिडको दोस्रो लहर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा संक्रमणको जोखिम बढेकाले पूर्व तयारी स्वरूप ‘कोभिड अस्पताल’ बनाउन लागिएको प्रमुख सुवेदीले बताए।
सुवेदीका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल एक सय शैयाको आइसोलेसन अस्पताल निर्माण गरिनेछ। कर्णालीको प्रवेशद्वारको रूपमा रहेको वीरेन्द्रनगरमा कोभिडको जोखिम बढी भएकोले नगरपालिकाले वडास्तरिय कोभिड सङ्कट समितिलाई समेत सक्रिय बनाई वडा तहमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरी तयारी थालेको उनको भनाई छ।
वैशाख १०, २०७८ शुक्रबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।