एमालेमा संकट उस्तै, ओलीको अडानले भएन सहमति

एमालेमा संकट उस्तै, ओलीको अडानले भएन सहमति

काठमाडौं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्ना पुराना निर्णय बदल्न सहमत नभएपछि होटल मेरियटमा भएको वार्ता र बालुवाटारको डिनर छलफल निष्कर्षमा पुग्न सकेन।

ओली समूह माधव नेपाल समूह विरुद्ध एकपछि अर्को कारबाही प्रक्रिया अगाडि बढाउन सक्रिय भएपछि दुवै समूहका केही नेताको पहलमा नेपाल र अलग समूह बनाएर बसेका वामदेव गौतमसँग टुटेको ओलीको संवाद खुलेको थियो।

ओली र नेपालबीच होटल मेरियटमा दुई चरणमा छलफल भयो। पहिलो दिन ठिकठिकै भएको वार्ता दोस्रो दिन पुरानै अवस्थामा फर्किएको नेपालले संकेत गरिसकेका छन्।

ओली आफ्ना पुराना निर्णय बदल्न तयार नहुनु र नेपाल समूह एमाले ब्युँतिएपछि एकलौटी ओलीले गरेका निर्णय क्रियाशील रहेसम्म सहमतिमा आउन तयार नहुनु नै छलफल निष्कर्षमा नपुग्नुको कारण देखियो।

ओली नेपालसहितका नेतामाथिको कारबाही फिर्ता लिन सहमत भए पनि एमाले केन्द्रीय समिति विस्तार, प्रदेश नेतृत्व हेरफेर, महाधिवेशन आयोजक कमिटी गठन लगायतका निर्णय बदल्ने पक्षमा छैनन्।

आफ्ना समूहका नेतालाई किरानामा पार्न ओलीबाट भएका निर्णय नसच्चिएसम्म एमालेमा फर्कने अवस्थामा ओली समूह छैन। एमालेको संरचना जेठ २ को अवस्थामा नफर्किएसम्म सहमति हुन नसक्नेमा नेपाल अडिग छन्।

यही टकरावले मेरियटको स्विट रुममा भएको ओली-नेपाल छलफलको निचोड स्विट हुन सकेन।

वामदेवको सर्त फागुन २८ को निर्णय खारेज
नेपालसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि ओलीले अलग्गै समूह बनाएका वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन बालुवाटारमा डिनरमा बोलाए।

गौतम बिहीबार बेलुका बालुवाटार पनि पुगे। एकै डाइनिङ टेबलमा खाना खाँदै भएको छलफल सुखद हुन सकेन।

डिनर मिटिङ सुखद नहुनुको कारण ओली पुरानो निर्णय सच्याउन तयार नहुनु देखियो। गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको गौतमको धारणा यस्तो थियो-
'हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।'

फागुन २८ मा के भएको थियो?
नेकपाको नाम विवादलाई समाधान गर्ने क्रममा नेकपा एकता नै भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले फागुन २८ मा नेपाल समूहलाई पेल्दै निर्णय गरेका थिए।

बालुवाटारमा बसेको बैठकले एमालेमा अध्यक्ष र महासचिव बाहेक सब पद खारेज गर्ने निर्णय गरे।

त्यही बैठकले प्रदेश इन्चार्ज बदल्ने निर्णय गर्यो। प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जबाट युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी तोकियो।

आफू निकट नेताको जिम्मेवारी खोसिएन। जिम्मेवारी खोसिने सबै माधव समूहका थिए। उनले माओवादी केन्द्रका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरे।

त्यो बैठकपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग लगायतका २२ माओवादी नेता एमाले केन्द्रीय सदस्य भएका थिए।

त्यसयता ओली नेतृत्वमा बसेका बैठकले संसदीय दलको सचेतक बदल्ने, महाधिवेशन आयोजक कमिटी गठन गर्ने, माधव नेपाल सहितका नेतालाई ६ महिना निलम्बन जस्ता निर्णय गर्यो।

निर्णय बदल्न कठिन
बादल सहितका सांसद माओवादी केन्द्रमा नफर्किई एमालेमै बस्दा मन्त्री भएकाहरुको सांसद पद नै गुमिसकेको छ।

नेकपामा किचलो हुँदा उनलाई साथ दिएका थिए बादलले। बादल सहितको पूर्वमाओवादीको अवस्था पुरानो पार्टीमा फर्कनसक्ने छैन। त्यसैले उनी फागुन २८ को निर्णय खारेज गर्न सहमत हुने अवस्था देखिन्न।

विभाजनको जोखिम
ओली समूहले नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण बुझाइसकेका छन्। आजै महाधिवेशन आयोजक कमिटीको बैठक पनि छ।

कर्णालीमा फ्लोर क्रस भएर माओवादीका मुख्यमन्त्री जोगिए। गण्डकी, लुम्बिनीमा संकट छ। केन्द्रमै अविश्वास प्रस्तावको अभ्यास भइरहेको छ।

ओली सके तर्साएर मिलाउने, नसके कारबाही गरेर पेल्दै जाने रणनीति अपनाएको देखिन्छ। पेल्दै गए नयाँ पार्टी गठनसम्मको रणनीतिमा छ नेपाल समूह। यो अवस्थामा एमाले एक रहनसक्ने सम्भावना देखिँदैन।

अब ओलीको दोस्रो कदम के हुन्छ आजको बैठकबाट धेरै प्रष्ट हुनसक्छ।

वैशाख १०, २०७८ शुक्रबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।