भैंसीपालनले बदलेको जीवन
सुर्खेत : भैंसीपालक किसान हुन्, सुर्खेत बराहताल गाउँपालिका–५, सुनद्वारीका गोविन्द पौडेल। भैंसीपालनबाट आत्मनिर्भर बन्दै गएका पौडेलको गोठमा अहिले सात वटा भैँसी छन्।
केही वर्ष पहिले स्नातकसम्मको अध्ययन पूरा गरी रोजगारीका लागि मलेसिया गएका पौडेलले स्वदेश फर्किएर भैंसीपालन व्यवसायलाई अँगाले। डेढ वर्षअघि मलेसियाबाट गाउँ फर्किएका उनी गर्न सके स्वदेशमै थुप्रै सम्भावना भएको बताउँछन्।
अहिलेको यो अवस्थामा कृषिमा राम्रो सम्भावना भएकोले पनि यो पेसालाई अँगालेको पौडेलले बताए।
अहिले उनले व्यावसायिक रूपमा नै भैंसीपालन गरेका छन्। उनले मासिक ६० हजार रुपैयाँसम्म नाफा कमाउने गरेका छन्।
प्रदेश सरकारले दिएको केही अनुदान र व्यक्तिगत गरी १३ लाख रुपैयाँको लगानीमा पौडेलले भैँसी पालन गरेका छन्।
‘ब्याचरल सकेर रोजगारीका लागि मलेसिया गएँ, त्यहाँ अनुसार मिहिनेत गरेपछि गाउँमै पनि केही गर्न सकिन्छ भनेर डेढ वर्षअघि नेपाल फर्किएर भैंसीपालन व्यवसायमा लागेको हुँ,’ पौडेलले भने, ‘त्यहाँ रात–दिन मिहिनेत गरे पनि ३०÷४० हजार हुन्छ। यहाँ आफ्नै परिवारसँग बसेर राम्रो आम्दानी गरेको छु।’
मासिक ८४ हजार रुपैयाँसम्मको दूध बिक्री हुने र खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुने पौडेलले बताए।
अहिले गाउँमा किसानले उत्पादन गरेको दूध संकलन र बजारीकरणका लागि ‘सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह’ छ। त्यसको सचिव भएर पौडेलले काम गरिरहेका छन्।
उनले कृषकको योजना अनुसार कृषि यन्त्रको पर्याप्तताका लागि स्थानीयसँगै प्रदेश सरकारको विशेष सहयोग खाँचो रहेको बताए। ‘हामीले बनाएको योजना अनुसार नजिकमा रहने प्रदेश र स्थानीय सरकारको सहयोग अपरिहार्य छ’ पौडेलले भने।
पौडेल मात्र होइन, सुनद्वारीका ८३ घरधुरी नै भैँसी पालेर दूध बेच्छन्। यहाँको मुख्य आम्दानीको स्रोतमध्येको महत्त्वपूर्ण भनेकै भैंसीपालन हो। सुनद्वारीका प्रतिपरिवारले मासिक मासिक २२ हजार रुपैयाँसम्मको दूध बेच्छन्। त्यसैबाट उनीहरूले घर व्यवहार चलाएर बालबच्चा पढाउँछन्।
सुनद्वारीका कृषकहरूले गाउँमा गरिने कृषिमा यान्त्रीकरण गर्ने सपनाका साथ योजना बनाएका छन्। गाउँका केही नमुना कृषकले सरकारी अनुदानमा समेत भैँसी पालेका छन्। गाउँमा रहेको ‘सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह’ का अध्यक्ष रत्नलाल सुवेदीले गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयासमा आफूहरू लागेको बताए।
‘गाउँमा गरिने कृषि क्षेत्रमा यान्त्रीकरण गरी मेसिनबाट खेती लगाउनेदेखि भित्र्याउनेसम्मको काम गर्छौँ,’ अध्यक्ष सुवेदीले भने, ‘गोरुले गर्ने काम मेसिनले गर्छौँ, गोरु पाल्नुको सट्टा भैँसी पाल्छौँ, दूध बेचेर आम्दानी गर्छौ।’
अबको दुई वर्षभित्र गाउँको कृषिलाई यान्त्रीकरण गर्ने योजनामा समूह लागेको उनले बताए।
यान्त्रीकरणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म प्रस्ताव गरेको अध्यक्ष सुवेदीले बताए। प्रशस्त पशुपालनबाट मलको अभाव भोग्नु नपरेको बताउँदै उनले गोरुको ठाउँमा भैँसी पाल्न थालेमा मल उत्पादनमा थप वृद्धि हुने बताए।
‘गाउँमा सबैले भैँसी पालेका छन्, यसले गर्दा मलको अभाव खासै हुँदैन,’ सुवेदीले भने, ‘अझै पनि गोरुको सट्टा भैँसी पाल्ने हो भने मल उत्पादनमा झन् वृद्धि हुन्छ, यसका लागि गोरुको ठाउँमा मेसिनले काम गर्ने गरी गाउँलाई यान्त्रीकरण गर्न हामी प्रयास गरिरहेका छौँ।’
दूधबाटै मासिक ५ लाख
सुनद्वारी गाउँमा दूध बेचेबापत मासिक ५ लाख रुपैयाँसम्म भित्रिने गरेको छ। गाउँमा रहेको चिस्यान केन्द्रमा कृषकहरूले दूध जम्मा गर्छन्। फ्याटका आधारमा दूधको पैसा पाउने कृषकले लिटरको १०५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन्।
‘पछिल्लो समय कोरोनाले केही समस्या पारेको थियो, नत्र गाउँमा प्रतिमहिना ५ लाख रुपैयाँसम्म दूधबाट भित्रिन्छ,’ सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष पौडेलले भने, ‘कृषिबाट आत्मनिर्भर बनेको यो गाउँमा धेरै भैँसी पाल्ने कृषकहरूका लागि जनशक्ति पाउन भने समस्या छ।’
उक्त कृषक समूहमा आबद्ध ४७ जना कृषकलाई पशुपक्षी तथा कृषि निर्देशनालयको तर्फबाट अनुदानमा भैँसी वितरण गरिएको छ। अध्यक्ष सुवेदीका अनुसार आर्थिक वर्ष २०७५/०७६ र २०७६/७७ मा गरी एक सय १० वटा भैँसी वितरण गरिएको छ।
२०७६/०७७ मा प्रदेश सरकारको एक लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी एक लाख ३२ हजार बराबरको भैँसी वितरण गरिएको थियो।
समूहमा आबद्ध कृषक विमला चालिसेले दूध उत्पादनबाट हुने आम्दानीले आफूहरू सन्तुष्ट रहेको बताइन्। उनी गाउँमा कृषि यन्त्रको पहुँच पुगेमा अझ भैँसी थप्ने योजनामा आफू रहेको बताउँछिन्। ‘अहिले त बारी जोत्नका लागि गोरु चाहिन्छ र पालेका छौँ, त्यस्तो सामग्री भएको भए गोरुको ठाउँमा पनि भैँसी थपेर पाल्थ्यौँ।’
वैशाख १०, २०७८ शुक्रबार ०७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।