हिजोका कुरा : पिताजीकी 'नागमणि' नगिना
राजनीति, कला-साहित्य र संगीतको उर्वर केन्द्र काठमाडौंको ओमबहालमा ६५ वर्षअघि जन्मिएकी हुन् नगिना जोशी। नेपाल प्रज्ञा-प्रतिष्ठानमा ३५ वर्ष नृत्यांगना हुँदै नृत्य निर्देशकको भूमिकामा रहेकी नगिना अहिले अवकाश जीवन बिताइरहेकी छिन्।
सानोमा उनको नाम किपालु बज्राचार्य थियो। नेपाल भाषामा किपालु भन्नाले छाया। तर त्यो नाम हुँदा साथीहरुले जिस्क्याउने गरेको थाहा पाएपछि उनका पिता परमानन्द बज्राचार्यले छोरीको नाम फेरेर नगिना राखिदिए।
बुबाले उर्दु साहित्य पढ्न थालेपछि छोरीको नाम नगिना राखिदिएका रहेछन्। छोरी 'नागमणि' जस्तै लागेर बुबाले नाम नै नगिना राखिदिएका हुन् रे। किपालु पछि गएर नगिनाकै नामबाट परिचित भइन्।
उनका बुबा परमानन्द नेपाल भाषाका साहित्यकार, नाटक निर्देशक तथा राजनीतिज्ञ पनि हुन्।
राणा शासन विरुद्ध क्रान्ति गर्नेको लागि देशमा सबैभन्दा पहिलो पटक राजनीतिक पार्टी खोल्ने काम काठमाडौंको ओमबहाल टोलमा भएको थियो। जहाँ उनीहरु जन्मे, सहिद धर्मभक्तको घरसँगै उनीहरुको घर छ।
सहिद धर्मभक्त माथेमा, शुक्रराज जोशी, दशरथ चन्द, गणेशलाल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठको प्रयासमा नेपालमा पहिलो पटक प्रजापरिषद् नामक राजनीतिक पार्टी खोलियो।
विसं १९९६ सालमा चार जनालाई मृत्युदण्ड दिइएपछि परमानन्द बज्राचार्यले ‘युवराज कुणाल’ नाटक लेखे। विसं २००४ मा राणा शासन विरुद्ध सर्वसाधारण जनतालाई जागरुक बनाउन सोही नाटक निर्देशन गरेर टोलटोलमा प्रदर्शन गरे।
तेस्रो पटक ओमबहाल डबलीमा नाटक प्रदर्शन गर्दा राणा शासकले सिभिल ड्रेसमा प्रहरी परिचालन गरी हस्तक्षेप गरे। पछि सबै जना भाग्नु पर्यो।
राणा विरुद्घ लक्षित नाटक प्रदर्शन गरेको भनेर नगिनाका बुबा परमानन्द राणाको आँखाको तारो बने। लामो समय भूमिगत जीवन नै बिताए उनले।
युवराज कुणालमा कुणालको भूमिकामा भुवनेश्वर अमात्य (गायक योगेश्वर अमात्यका बुबा), संगीत संयोजक गुण्डाकाजी द्वारिकाभक्त माथेमा (गायक हरिश माथेमाका हजुरबुबा), गायक पन्नाकाजी नायिकाको भूमिकामा थिए। राणाले शासकले दुःख दिएपछि यी सबै जना लुक्नुपर्यो।
तर, परमानन्दलाई राणा शासकका प्रहरीले समात्यो। समातेर ‘यो नेवारलाई सबैभन्दा ठूलो नेल ठोक्’ भन्दै हनुमान ढोकाको रुखमुनि राख्यो। त्यहाँ उनलाई ठूलो घनले नेल ठोकियो। प्रहरीले बेहोस नभएसम्म पिट्थ्यो। लगाएको सुरुवाल फुकाल्दा छरछरी रगत बग्थ्यो। फेरि त्यही आलो रगत आइरहेकै ठाउँमा कोर्राले हान्थ्यो। रगताम्मे सुरुवाल बोकेर घर जाँदा बज्यै क्वाँक्वाँ रुने गरेको उनलाई आमाले सुनाइरहन्थिन्।
राजनीति गर्दा बुबाले पाएको पीडा सम्झँदा अहिलेका राजनीतिज्ञहरुले के पो गरे र जस्तो लाग्छ नगिना जोशीलाई।
नगिनाको पारिवारिक पृष्ठभूमि शिक्षित, कला, साहित्य, राजनीतिमा संघर्ष गरेको थियो। उनका जिजुबुबा गद्य गुरु पण्डित निष्ठानन्द बज्राचार्य हुन्। उनका बुबाले त छापाखाना हिमालयन प्रेस नै खोलेका थिए।
उनकी आमा कृष्णदेवी बज्राचार्यले प्रारम्भिक शिक्षा शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्तासँग शिक्षा लिएकी थिइन्। चन्द्रकान्ता त्यतिबेला महिलालाई शिक्षित बनाउनुपर्छ भनेर टोलटोलमा शिक्षा दिँदै हिँड्ने क्रान्तिकारी थिइन्। त्यसपछि कृष्णदेवीले दरबार हाइस्कुलमा कक्षा आठसम्मको अध्ययन गरिन्।
कृष्णदेवी प्रेसमा अक्षर कम्पोज गर्ने काम गर्थिन्। उनले चार वटा नेपाल भाषाका पुस्तक समेत प्रकाशित गरेकी थिइन्। नगिना र भाइ पवित्र बज्राचार्य भने किताब ब्यान्डिङ र कटिङको काम गर्थे। उनीहरुको प्रेसबाट त्यतिबेलाका चर्चित साहित्यकारहरु धुस्वाँ सायमी, गिरिजाप्रसाद जोशी, सुदर्शन भण्टे, सिद्धिचरण श्रेष्ठ आदिका पुस्तकहरु छापिन्थे।
नगिनाका बुबाका मिल्ने साथीहरु सत्यमोहन जोशी, प्रेमबहादुर कंसाकार, चित्तधर हृदय, सूर्यबहादुर पिवा, सिद्धिचरण श्रेष्ठ, दुर्गालाल श्रेष्ठ थिए। उनीहरु सधैंजसो घरमा आइरहन्थे। उनीहरुको साहित्यक कुराकानी सुन्दै हुर्केकी थिइन् नगिना। चित्तधर हृदयलाई नगिना दारीवाल बाजे भन्थिन्।
ओमबहाल टोलमा परमानन्दको बेग्लै छवि थियो। नगिना सम्झिन्छिन्, ‘टोलमा वरिपरि मान्छे बसेर बुबाको कुरा सुन्थे। घरमा साहित्य र राजनीतिक व्यक्तिहरुको आवतजावत भइरहन्थ्यो।’
उनीहरुको घर अगाडिको डबलीमा आठ दिन इन्द्रजात्राको नाटक मञ्चन हुन्थ्यो। ती आठ दिन नगिनाका लागि वर्षकै रमाइला दिनहरुमा पर्थे। आमाको दोलाईं (ब्ल्यांकेट जस्तो ठूलो ओढ्ने) ओढेर रातभरि नाटक हेर्न पुग्थिन् नगिना। उनी नाटकको कथामा यसरी भुल्थिन् कि अरु कुनै कुराको याद नै हुँदैनथ्यो।
नगिना घरकी एक्ली छोरी। उनीपछि दुई भाइ जन्मे पवित्र बज्राचार्य र ह्न्यु बज्राचार्य। पवित्र राम्रो गाउँथे तर उनी बुबाकै लाइन राजनीतिमा लागे भने ह्न्यु संगीतमा बेग्लै पहिचान बनाएर अघि बढिरहेका छन्।
उनका बुबाका ६ दाजुभाइ थिए। नगिनाका ठाइलो बुबा देव बज्राचार्य पनि साहित्यमा रुचि राख्थे। उनले थुप्रै गीत लेखेका थिए। उनले लेखेको अरुणा लामाले गाएको ‘एक्लै बस्दा’ बोलको गीत सुनेर नगिना खुब रुन्थिन्।
ह्न्यु ७-८ वर्ष जतिको हुँदा माउथ हार्मौन मज्जाले बजाउँथे। उनीसँग ठाइलो बुबा देव बज्राचार्य मादल बजाएर रमाइलो गरिरहन्थे।
नगिनालाई आमाले छोरी भएपछि घरको काम गर्न पनि जान्नुपर्छ भनेर खाना बनाउन लगाउँथिन्। ‘तर बुबालाई पटक्कै मन नपर्ने। बुबा आफैं खाना पकाएर छोरीले पकाएको भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘म बुबाकी एकदमै पुलपुलिएकी छोरी थिएँ।’
उनी सानोमा ऐना हेरेर खुब नक्कल पारिरहन्थिन्। सबैले उनलाई ‘यो त हिरोइन नै हुन्छे कि क्या हो ?’ भन्थे। बुबालाई चाहिँ हिरोइन हुने कुरा पटक्कै मनपर्दैनथ्यो। ‘मलाई चलचित्रमा नायिकाको अफर पनि आएको थियो तर गइनँ,’ उनले पुरानो कुरा सुनाइन्।
नगिनाले कक्षा आठमा पढ्दापढ्दै तत्कालीन आरएनएसीमा एयर होस्टेजको लागि आवेदन दिएकी थिइन्। अन्तर्वार्तामा बोलाइयो र नाम पनि निस्कियो। ख्यालख्यालमा एयर होस्टेजको लागि नाम निस्कँदा उनी आत्तिइन्।
त्यसबेला पढाइ नचाहिने, राम्री मात्र भए पुग्ने रहेछ। उनी अग्ली, जिउडाल मिलेकी आकर्षक थिइन्। नर्स र एयर होस्टेजमा रुचि पनि थियो। नगिनालाई उनीहरुको कामभन्दा पनि ड्रेस खुब मन पर्थ्यो। आमालाई त मनाएकी थिइन् तर आरएनएसीमा नाम निस्केको कुरा बुबालाई भन्ने आँट नै गरिनन्। र, गाडी घरमा लिन आउँदा उनी भागिन्।
विहेअघि उनी र भाइ पवित्रलाई शास्त्रीय गुरु बुद्घसँग संगीत सिक्न पठाइएको थियो। त्यसपछि झोंछेमा रंग रावो कादम्बरीसँग पनि सिकिन्। जहाँ उनीसँग जुजुकाजी रञ्जितकार, सत्यनारायण राजभण्डारी, रमेश ताम्राकार आदि पनि सँगै संगीत सिक्थे।
उनले कक्षा आठदेखि स्कुलमा संगीत प्रवीण नरराज ढकालसँग पनि सिक्ने मौका पाएकी थिइन्। उनले कथ्थकमा चौथौं वर्ष र शास्त्रीय गायनमा तृतीय वर्षसम्म उत्तीर्ण गरिन्।
कक्षा ६ सम्म शान्ति निकुञ्जमा पढेकी नगिनाले त्यसपछि एसएलसीसम्म कान्ति ईश्वरी स्कुलमा पढेकी हुन्। कान्ति ईश्वरी वार्षिकोत्सवमा पहिलो पटक नेवारी गीतमा नगिना नाचेकी थिइन्। अरु साथीहरु नाचेका सबै गीतमा उनले ब्याक ग्राउण्ड गीत गाएकी थिइन्।
त्यतिबेला स्कुलमा सिकाउनका लागि गायनमा द्वारिकालाल जोशी, नृत्यमा बसन्त श्रेष्ठ, वाद्यवादनमा न्हुच्छेबहादुर डंगोल आएका थिए। त्यहीँबाट गुरुचेलीको रुपमा द्वारिकालाल जोशीसँग उनको संगत भयो।
टोलटोलमा संगीत सम्मेलनहरु भइरहन्थे। गायक जोशीले हरेक संगीत सम्मेलनहरुमा नगिनालाई पनि साथै लान्थे र गीत गाउन लगाउँथे। उनी धेरैजसो नेपाल भाषाका गीतहरु नै गाउँथिन्।
एसएलसीपछि मनासलु होटलमा लालुपाते कल्चरल ग्रुपमा उनी पनि थिइन्। उनीहरुको मुख्य लक्ष्य भनेकै पर्यटकलाई नाचगान देखाउनु थियो। नगिना भित्र बसेर नृत्यको लागि ब्याक ग्राउण्ड गीत गाउँथिन्।
‘दिनदिनै साथीहरु नाचेको हेर्दाहेर्दै मलाई पनि नाच्न सक्छु जस्तो लाग्यो। अतिथि कम भएको बेला धिमे नाच देखाउँथे। मेरो नाच धेरैले रुचाउन थाले। त्यसपछि मेरो नृत्यको यात्रा अघि बढ्दै गयो,’ उनले भनिन्।
प्रज्ञा प्रतिष्ठानमा कलाकारहरुको माग हुँदा उनले पनि आवेदन दिइन्। बुबाको साथी सत्यमोहन जोशी एकेडेमीमै थिए। उनकै पालामा नगिनाले जागिर पाइन्।
एकेडेमीमा नगिनाले गुरु कान्छा बज्राचार्य र बसन्त श्रेष्ठसँग नृत्य सिक्ने मौका पाइन्।
उनी भर्खरकी थिइन्, धेरै कुरा थाहा पनि थिएन। एकेडेमी साथीहरु सुटिङ हेर्न भनेर जान्थे। नगिनालाई भने सुटिङको बारेमा केही थाहा थिएन।
एक पटक उनी पनि बसन्त श्रेष्ठको पछि लागेर सुटिङ हेर्न गोकर्ण पुगिन्। सेतो बेलिबटनको पाइन्ट, रातो सर्ट लगाएर गएकी थिइन् उनले।
फोटो कन्सर्नबाट आएका व्यक्तिले बसन्त श्रेष्ठलाई सोधेको उनलाई अझै याद छ, ‘ए बसन्त, तिमीले दार्जिलिङबाट सुटिङको लागि ल्याउँछु भनेकी केटी यही हो?’
सबै जना नाचिरहेका थिए। उनलाई पनि बीचमा नाच्न जाऊ भनियो। ‘एकछिन नाच्थें। तर पटकपटक ‘कट’ भनिराख्दा ‘यो के भनेको होला?’ जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘मलाई सुटिङको प्रोसेस नै थाहा थिएन।’
उनलाई ढुङ्गामा बसेर आक्वा फ्यान्टा खाऊ भने। खुरुखुरु खान थालिन्, बीचमा ‘ए रोक रोक’ भने। फेरि खाऊखाऊ भने। नगिनालाई साह्रै लाज लाग्यो। लाज मानीमानी घर फर्किइन्।
‘केही दिनपछि साथीहरुसँग रञ्जना हलमा चलचित्र हेर्न जाँदा पो ठूलो स्किनमा म फ्यान्टा खाइरहेको आउँदा आउँछ। म त आम्मा! भनेर निहुरिएँ,’ उनले भनिन्, ‘त्यसपछि बल्ल सुटिङबारे बुझें।’
हरेक हलमा आक्वा फ्यान्टाको विज्ञापन चलचित्रको बीचमा आउँथ्यो। त्यो बेला नगिनालाई बाटोमा हिँड्नै हम्मेहम्मे हुन्थ्यो। एकेडेमी पुग्न त्रिचन्द्र कलेजको बाटो हिँड्दा केटाहरुले ‘आक्वा आक्वा’ भनेर जिस्काएर हैरान पार्थे। उनी मुख छोपेर हिँड्थिन्।
आक्वा फ्यान्टाको विज्ञापनबाट उनले १ सय रुपैयाँ पारिश्रमिक पाएकी थिइन्। त्यो पैसाले २० रुपैयाँको स्टकिङ र ८० रुपैयाँको हिल जुत्ता किनेकी थिइन्।
नगिनालाई फेसनप्रति साह्रै रुचि थियो। आफैं चारपाटे कपडा काट्थिइन् र इलास्टिक हालेर स्कर्ट बनाएर लगाउँथिइन्।
उनलाई एउटा बाइकको विज्ञापनको अफर आयो तर जिन्स पाइन्ट र ज्याकेट लगाएर बाइकमा बस्नुपर्ने हुँदा बुबाले पठाएनन्। ‘जति स्वतन्त्रता दिए पनि समाजले के भन्ला भन्ने डर चाहिं थियो त्यतिबेला,’ उनी भन्छिन्।
गायक द्वारिकालाल जोशीसँग मन मिलेपछि भागेर विहे गरेकी नगिना श्रीमानसँगै गीत गाउँथिइन्। उनको घरमा मीरा राणा, सत्यनारायण राजभण्डारी लगायत सिक्न आइरहन्थे।
द्वारिकालाल जोशी रेडियोमा जागिरे थिए। उनले गायक-गायिकाको भ्वाइस टेस्ट गराउँथे। नगिनाले रेडियो नेपालको वार्षिकोत्सव कार्यक्रममा लोकगीत गाएर भ्वाइस टेस्ट पास गरेकी थिइन्।
एकेडेमीमा उनले धेरै नाटकमा अभिनय गर्ने मौका पाइन्। ब्याले कुमारी, गीति नाटक, सकुन्तला, शिव ताण्डव, निमन्त्रणा, चण्डलिका, शितला मय्जुया सिनज्या जस्ता नाटकमा उनको जीवन्त अभिनय देख्न सकिन्छ।
एकेडेमीमा नाच्दा दिनमा ७-८ वटासम्म गीतमा नाच्नुपरेको अनुभव छ नगिनासँग। ‘लुगा समेत फुकाल्ने समय हुँदैनथ्यो। एक जनाले माथिको र अर्कोले तलको लुगा तानेर फुकाल्नुपर्थ्यो,’ नगिना भन्छिन्, ‘ओहो! रिहर्लसलको बेला घुँडाभरि घाउ नै घाउ हुन्थ्यो।’
एकेडेमीमा सितारवादक गुरु तारावीरले नगिनालाई सितार सिकाउन खोजेकी थिइन्। ‘तारावीरले सधैं नाच्न सकिंदैन, पछि बुढेसकालमा सितार सिकाएर बस्न पाइन्छ भनेकी थिइन्। तर ७ सयको सितार किन्न पैसा नभएर सितारको प्रारम्भिक ज्ञान मात्रै लिएँ,’ उनले भनिन्।
एकेडेमीमा नगिनाको तलब तीन सय रुपैयाँ थियो। सुन पनि तोलाको ३ सय नै थियो। धेरै साथीहरु सुन बनाउँथे। सितार किन्न ७ सय लाग्दा दुई महिनाको तलबमा फेरि १ सय थप्नुपर्ने भएका कारण उनले सितार नकिनेकी रहिछन्।
‘सधैं नाच्न सकिंदैन’ भन्ने सितार गुरुको कुराले मलाई छोयो। त्यसपछि सिलाई सिक्न गएँ,’ उनी सम्झिन्छन्, ‘एकेडेमीमा १२ बजे हाजिर गरे पुग्थ्यो। त्यही भएर १० बजे सिलाई सिक्न पुग्थें।’ उनले एक वर्षको कोर्ष ९ महिनाभित्रै सकाइन्। पछि डिजाइनिङ कोर्ष गरेर पसल पनि खोलिन्।
विदेशमा एउटा कार्यक्रममा बख्खु लगाएर जानुपर्ने थियो। उनका बुबाले कोरियाबाट कोचिङ कपडा ल्याएका थिए। काकी र उनले रातभरि बसेर बख्खु सिलाए र त्यही लगाएर नगिना विदेश गाइन्।
सिलाई नगिनाको अतिरिक्त आय आर्जनको बाटो थियो। अहिले पनि उनी आफूलाई छोरी, नातिनीका लागि डिजाइनका कपडाहरु सिलाउँछिन्।
वैशाख ९, २०७८ बिहीबार १९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।