स्पष्टीकरण बुझाउँदै नेपाल पक्षका सांसद् 

स्पष्टीकरण बुझाउँदै नेपाल पक्षका सांसद् 
फाइल तस्बिर।

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद् पार्टीलाई स्पष्टीकरण बुझाउन थालेका छन्। 

नेपाल पक्षका सांसद् जीवनराम श्रेष्ठले आफूसहित केही नेताले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएको जानकारी दिए। ‘विधि र प्रक्रिया अनुसार नै पार्टीलाई स्पष्टीकरण बुझाइरहेका छौं,’ उनले भने। 

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल सहितका २७ जना संघीय सांसद्लाई गत मंगलबार दुई दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका थिए।  

सांसद् श्रेष्ठले पार्टीले मागेको स्पष्टीकरणबारे आन्तरिक छलफल भएर बुझाइएको जानकारी दिए। 

उनले स्पष्टीकरणमा अर्को राजनीतिक दल खोलेको आरोप निराधार भएको दाबी गरेका छन्। यसअघि एमालेले पठाएको स्पष्टीकरणमा उनीहरूमाथि छुट्टै राजनीतिक दलको गतिविधि गरेको आरोप लगाइएको थियो। 

नेपाल पक्षका अर्का सांसद सुरेन्द्र पाण्डेले पनि पार्टीलाई स्पष्टीकरण बुझाइएको जानकारी दिए। 

वैशाख ९, २०७८ बिहीबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।